प्रधानमन्त्री केपी शर्मा ओलीले अन्यत्र विरोध होला भनेर कोरोना प्रभावित क्षेत्रबाट ल्याइने नेपाली विद्यार्थीलाई आफ्नै जिल्लामा राख्न चाहेको बताएका छन् ।

शनिवार प्रतिनिधिसभा बैठकमा नेमकिपा सांसद प्रेम सुवालको प्रश्नको जवाफमा प्रधामनन्त्री ओलीले अन्यत्र विरोध होला भनेर आफ्नै जिल्ला भक्तपुरमा राख्न लागिएको बताए ।

‘चीनबाट ल्याउन लागिएका नेपाली विद्यार्थी कोरोनाका रोगी होइनन्, रोग लागेको व्यक्तिलाई निको नभइ ल्याउन पनि पाइँदैन । डाक्टरहरूको पनि निगरानी चाहिने भएकाले शहरको नजिकै राखिएको हो,’ ओलीले भने, ‘भक्तपुर मेरो पनि जिल्ला । म पनि त्यहीँ बस्छु । अरु जिल्लामा पठाउनुभन्दा आफ्नै जिल्लामा राख्न चाहे, अन्त विवाद होला भनेर !’

सांसद सुवालले कोरोना प्रभावित क्षेत्रबाट ल्याइने विद्यार्थीलाई भक्तपुरमा राख्न लागिएकोमा स्थानीयले विरोध जनाएको बताए । सरकारले भक्तपुरको खरिपाटीमा कोरोना प्रभावित क्षेत्रबाट आउने विद्यार्थीको लागि राख्ने क्वारेन्टाइन तयार गरेको छ । चीनबाट १८० विद्यार्थीलाई शनिवार मध्यरातमा काठमाडौं ल्याउँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार