रत्नराज्य लक्ष्मी क्याम्पसको परिसरमा अवस्थित ‘पत्रकारिता तथा आमसञ्चारको केन्द्रिय विभाग’ गइरहेको थिएँ, माइक्रोमा । माइक्रो यात्रु झार्न र चढाउन जमलमा रोकियो ।

गाडीमा यात्रा गर्दा झ्यालबाट बाहिर हेर्नु धेरैको झैं मेरो पनि बानि हो । आज पनि झ्यालबाट चिहाइरहेको थिएँ । मेरा आँखा एउटा दृश्यमा गएर अडिए, जसले मेरो ध्यान खिच्यो । गाडी हिड्नै लागेका बेला अचानक “झर्ने छ है” भनेर पैसा तेर्स्याउँदै निस्किएँ। “यत्रोबेर रोक्दा झर्नुपर्छ नि !” सहचालक कड्कियो।

घडिले साढे सात बजाईसकेको थियो । “ढिलो भए पनि होस्” सोंच्दै रोकिएँ । फोटो खिचेर हिडिहाल्छु भनेर झेरेको थिएँ, तर फोटो मात्रै खिचेर हिड्न मन लागेन । उनीहरुसँग कुराकानि पनि गरेँ ।

०००

जमलको विश्वज्योति मल । ठिहिर्याउने नै नभए पनि बिहानीको चिसो निकै छ । सडकपेटीसँगै जोडिएको मलको थोरै खालि ठाउँ छ, त्रिकोण आकारको । मल खुलेपछि त्यो ठाउँमा फास्ट फुडका स्टल लाग्छन् । बिहान दस बजेसम्म भने खालि नै हुन्छ । भुइँमा पुरै मार्बल बिछ्याइएको त्यो ठाउँ त्यति ठुलो छैन । मुस्किलले चारवटा स्टलहरु अट्ने त्यही साँघुरो र चिसो ठाउँमा केटाकेटीहरु निकै उत्साह र जोसका साथ अभ्यास गरिरहेका छन् । तीस जनाको समुह छ । उनीहरु मध्ये केही भुँइमा लम्पसार भएर ‘सिट अप’ गरिहेका छन् ।

कल्पाना गर्नुस् त त्यो दृश्य कस्तो देखिईरहेको थियो होला ?

ठाउँ पर्याप्त नभएकाले उनीहरु अटेसमटेस भएर अभ्यास गरिरहेका छन् । उनीहरु आफ्ना हात र खुट्टाहरुलाई निर्बाध रुपमा छोडी अभ्यास गर्न सक्ने अवस्थामा पनि छैनन् । हात खोल्दा आफुसँगै अभ्यास गरिरहेको साथीलाई लाग्ने हो कि भन्ने डर छ । खुट्टालाई खुला बनाएर किक हान्दा भित्तामा बजारिने डर छ । सबैले एकै पटक खुलेर अभ्यास गर्न नसक्ने भएकाले उनीहरु पालैपालो अभ्यास गरिरहेका छन् ।

मैले आफ्नो परिचय दिएर प्रशिक्षक र केटाकेटीहरुसँग पाँच मिनेट समय मागेँ । उनीहरु अभ्यास गरिरहेको भुँइमा केही किलाहरु देखेँ । थोरै गल्ती मात्रै भए पनि त्यो किलाले उनीहरुलाई घोच्न सक्छ ।

“भुँइमा किलाहरु रहेछन् नि। यसले अप्ठ्यारो पार्दैन ?” भन्ने प्रश्नमा पन्ध्र वर्षिया आरिष्मा कार्कीले दुखेसो गर्दै भनिन् ,”एकदमै गाह्रो छ नि । हरेक दिन हामीमध्ये कोही न कोहीको घाउ भइरहेको हुन्छ । हामीहरु घर जाँदा घाउ लिएर फर्किनु पर्छ, किलामा अल्झिएर कति पटक त हाम्रो कपडा पनि च्यातिन्छ ।”

अरिष्मा दरवार हाइस्कुलमा कक्षा दशमा अध्ययन गर्छिन् । उनले कराते सिक्न थालेको चार वर्ष भयो । भुकम्प जानु भन्दा अगाडी र पुननिर्माण सुरु हुनु पुर्व उनी स्कुलमा अभ्यास गर्थिन् ।

‘त्यहाँ अभ्यास गर्दा हामीलाई प्रयाप्त ठाउँ हुन्थ्यो । अहिले हामी यहाँ खुलेर अभ्यास पनि गर्न पाउँदैनौं ।’ अरिष्मा भन्छिन् ।
१२ वर्षिया प्रेरणा शेर्पा करातेमा जोडिएको दुई वर्ष भयो । उनी पनि दरबार हाइ स्कुलमै पढछिन् कक्षा ७ मा । उनको समस्या पनि अरिष्माको भन्दा फरक छैन । तर सुरुमा उनले गाह्रो छ भनेर बताउदा गुरुको गाली खानु पर्छ भनेर केही भन्न मानिनन् । कराते अभ्यास गर्दा गाह्रो मान्न पाइदैन । यो करातेको नियम नै हो । तर हामी अभ्यासमा हुने गाह्रो कुरा गरिरहेका थिएनौं हामी त जुन ठाँउमा उनीहरु संकुचित भएर अभ्यास गरिरहेका छन् त्यो ठाउँको बारेमा कुरा गर्न खोजिरहेका थियौं ।

‘केही गाह्रो छैन ।’ प्रेरणाले आफ्ना गुरुतिर हेर्दै भनिन् । उनलाई गुरुले नै आफुलाई लागेको कुरा बताउ भनेपछि उनले भनिन्, ‘धेरै गाह्रो छ । साढे पाँच बजे यहाँ पुग्नु पर्छ । चिसो मार्बलमा खाली खुट्टा उभिनु पर्दा अभ्यासमा ध्यान जान गाह्रो हुन्छ,’ निधारको पसिना पुग्दै प्रेरणाले भनिन् ।

अभ्यास गर्ने ठाँउ प्रयाप्त नभएकाले बच्चाहरुको क्षमता खुल्न नसकेको प्रशिक्षक सुजन कार्की बताउँछन् । ‘खुलेर अभ्यास गर्नका लागि उनीहरुले जति ठाउँ पाउनु पर्ने हो त्यो पाएकै छैनन् । यसो हुँदा उनीहरुले सबै काताहरु गर्न सक्दैनन् ।’ पाँच वर्षदेखि प्रशिक्षण गराइरहेका सुजन कार्कीले बताए, ‘ठाउँ अभाव भएकै कारणले सबै विद्यार्थीहरुलाई सहभागि गराउन सकिएको छैन ।’

त्यसैले मिलाएर अभ्यास गराउछन् उनी । उनीसँग कराते सिक्ने ६० जना छन्, तर ठाउँ अभावले गर्दा मुस्किलले ३० जनाको समुहलाई मात्रै अभ्यास गराउन सकिने उनी बताउँछन् । त्यति मात्रै होइन यो ठाउँ पाउनका लागि पनि उनले विश्व ज्योति मलसँग अनुरोध बिसाउनु परेको थियो ।

‘यहाँ मैले चिनेको दाइहरु हुनुहुन्छ। उहाँहरुलाई मैले बिहान ८ बजेसम्म हामीलाई अभ्यासका लागि ठाउँ दिन अनुरोध गरेको थिएँ ।’ प्रशिक्षक सुजनले बताए ।

काठमाडौंमा खुला ठाउँहरु भएको भए बच्चाहरुले धेरै कुरा गर्न सक्ने थिए भन्ने उनको बुझाई छ । एउटा खेलाडीका लागि राम्रो ‘ग्राउण्ड’ सबैभन्दा पहिलो आवश्यकता भएको उनी बताउछन् ।

केही महिना अगाडि उनी ठ्याक्कै पारिपट्टी नेपाल ल क्याम्पसको पुस्तकालयको ‘ग्राउण्ड’मा प्रशिक्षण दिन्थे । अहिले त्यहाँ पनि पुननिर्माण सुरु भएकाले उनीहरु यहाँ अभ्यास गर्न बाध्य छन् ।

“टुडिखेल जस्तो खुला ठाउँमा किन जानुहुन्न?” भन्ने प्रश्नमा आफू समयमै पुगे पनि पछि अन्य खेल खेल्न आउनेलाई ठाउँ नपुग्ने भएपछि त्यहाँ ठेलमठेल हुने उनले बताए। क्रीकेट जस्तो धेरै क्षेत्र ओगट्ने खेलका अगाडि आफ्नो लागि अभ्यास गर्ने ठाउँ अपर्याप्त हुने उनको गुनासो छ।

नेपाली खेलाडीमा धेरै सम्भावना र उत्साह भएको उनी बताउछन् । अवसर पाएको खण्डमा हाम्रा खेलाडीले धेरै गर्न सक्थे भन्ने उनलाई लाग्छ । ‘मैले उनीहरुको आँखामा यति जोस र भोक देखेको छु नि उनीहरुलाई थोरै मात्र मौका दिइयो भने धेरै कुरा गर्न सक्छन् ।’ उनी निकै उत्साहित हुँदै भन्छन् ।

अरिष्मा आफ्ना गुरुको कुरामा सहमत छिन्। सँगसँगै उनी त विकास र समृद्धिप्रतिको हाम्रो बुझाइ र मानसिकतामा नै व्यांग्य हान्छिन् । ‘राजधानी जस्तो ठाउँमा पनि प्रयाप्त खुला ठाउँहरु छैनन्’ उनी आक्रोेश पोख्छिन्। ‘शहरमा ठुल्ठुला भवनहरु बन्दैमा शहर विकसित हुन्छ? खुला ठाउँ चाहिदैन ?’

अरिष्मा कार्कीले आफुले हिड्ने बाटो तय गरिसकेकी छन् । उनी पछि गएर राम्रो कराते खेलाडी बन्न अनि नेपाली सेनामा भर्ति हुन चाहान्छिन् । तर उनको सपनालाई मुर्त रुप दिन उनलाई सरकारले पनि सघाउनु पर्ने उनको तर्क छ ।

‘म करातेबाट केही गरेर नेपाललाई विश्वभर चिनाउन चाहान्छु, नेपाली सेनामा भर्ति हुन चाहान्छु, त्यसको लागि सरकारले हामीहरुका लागि थोरै सहयोग गरिदेओस्,’ अठोटका साथ उनी भन्छिन् ।

उनीहरुसँग कुराकानि गरेर कलेजतर्फ जादै गर्दा बाटोभरी धेरै प्रश्नहरु मनमा खेले । यो देशभर अरिष्मा जस्ता महत्वाकांक्षा भएका बालिकाहरु कति होलान् ? उनी जस्तै सपना देख्ने कति अरिष्माहरु अवसरको अभावले गर्दा आफ्ना मुर्झाएका सपनाको प्रत्यक्षदर्शी बन्दै होलान् ?

उनको प्रश्न मेरा सामु टड्कारो भएर उभिईरहेको छ ।

शहरमा ठुल्ठुला भवनहरु बन्दैमा शहर विकासित हुन्छ ? खुला ठाउँ चाहिदैन ?

यसको उत्तर मैले कोसँग मागेर अरिष्मालाई दिने ? यति बेला यो प्रश्नले मलाई चिमोटिरहेको छ । राजधानी जस्तो ठाउँमा खुला चौर नहुनुमा, अरिष्मा कार्की जस्ता बालबालिकाले चिसो मार्बलमा अभ्यास गर्न बाध्य हुनुमा, उनीहरुको सपानाको हत्या हुनुमा, स्वस्थ जीवनका लागि शारीरिक ब्यायम जस्तो आवश्यक क्रियाकलाप गर्नबाट बञ्चित हुनुमा, खुला ठाउ नभएकाले व्यस्त सडकमा मर्निङ् वाक गर्न जाँदा पछिडीबाट गाडीले हानेर ज्यान गुमाउनुमा को दोषी छ ?

पछिल्ला केही समयदेखि हरेक शनिबार सरकारलाई विभिन्न संस्था / व्यक्तिहरुले अतिक्रमण गरेको ठाँउ फिर्ता गराउन ‘अकुपाइ टुडिखेल’ अभियान भइरहेको छ । अभियानले पनि यिनै प्रश्नहरु सरकारसमक्ष राखिरहेको छ । आशा छ कुनै दिन सरकारले यी सम्पुर्ण प्रश्नहरुको उत्तर दिने छ । र अरिष्मा जस्ता लाखौंले आफ्नो सपना पुरा गर्न र हरेकले खुसदुख बिसाउनका लागि खुला ठाउँहरु पाउने छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार