काठमाडौं – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका-११ कलुवापुरका ५२ वर्षीय जयलाल भण्डारी र उनकी श्रीमती २२ वर्षीया धनादेवी भण्डारीको हत्या उनीहरूकै छोराबाट भएको खुलेको छ। कञ्चनपुर प्रहरीले आइतबार भण्डारी दम्पतीको हत्यामा संलग्न भएको आरोपमा उनीहरूकै छोरा भरत भण्डारीलाई पक्राउ गरेपछि यो विषय बाहिर आएको हो।

भरतलाई पक्राउ गरिएको पुष्टि गर्दै कञ्चनपुरका एसपी मुकुन्द मरासिनीले भने, ‘हामीले भरतलाई हिजो डडेल्धुराबाट पक्राउ गरेका छौं। उनले हत्या स्वीकार गरिसकेको अवस्था छ।’

भण्डारी दम्पत्ति गत फागुन १५ गते घरमै मृत भेटिएका थिए।

नजिकै रहेको माइतबाट दूध धनाले ल्याउने गरेकी थिइन्। तर फागुन १५ गते उनी दूध लिन नआएपछि फुपूकी छोरी पार्वती रावल धनाको घर पुगेकी थिइन्। त्यतिबेला भान्सा कोठामा धना रक्ताम्य अवस्थामा मृत भेटिएका थिइन्। अर्को कोठाको खाटमा जयलाल पनि रक्ताम्य ढलेका थिए। मृतक जयालालसँगै उनकी ६ महिने छोरी चिच्याउँदै रोइरहेकी थिइन्। दुवै जनालाई घाँटी र टाउकामा प्रहार गरेर हत्या गरिएको थियो।

त्यसपछि करिब १२ बजे दिउँसो यस घटनाबारे जानकारी गराइएको थियो। तर उनीहरूको हत्या भने फागुन १४ गते राति नै भएको भरतलाई पक्राउ गरिसकेपछि पुष्टि भएको छ।

प्रहरीले प्रारम्भिक अनुसन्धानमा उनीहरूको हत्या भएको भन्दै अनुसन्धान गरेको थियो। दुई हप्ता लामो अनुसन्धानपछि उनकै छोराबाट हत्या भएको खुलेपछि पक्राउ गरिएको जानकारी प्रहरीले दिएको छ।

हेडफोनले खोल्यो हत्याको रहस्य
घटनास्थलबाट प्रहरीले मोबाइलको हेडफोन बरामद गरेको थियो। उक्त हेडफोनलाई महत्वपूर्ण ‘क्लु’ मानेर अनुसन्धान गरेको प्रहरीले त्यही हेडफोनमार्फत् हत्यामा संलग्न भरत पक्राउ परेका हुन्।

अनुसन्धानका क्रममा उक्त हेडफोन र भरतले बोक्ने मोबाइल एउटै कम्पनीको रहेको पाइएपछि प्रहरीले उनीमाथि अनुसन्धान अघि बढाएको थियो। नभन्दै प्रहरीको अनुसन्धान सही दिशामा गयो र भरत पक्राउ परे।

एसपी मरासिनीका अनुसार भरत डडेल्धुरामा बस्दै आएका थिए। उनी फागनु १३ गते डडेल्धुराबाट मोटरसाइकल चालक अनुमतिपत्र (लाइसेन्स)को ट्रायल दिन भन्दै महेन्द्रनगर आएका थिए।

फागुन १४ गते दिउँसो २ बजेतिर भरत महेन्द्रनगरबाट डडेल्धुरा जाने भन्दै फर्किएका थिए। तर उनी अत्तरिया गएर बसे। राति ८ बजेतिर अत्तरियाबाट बाबुको घर झलारी आएर भरतले बाबुआमाको हत्या गरेको अनुसन्धानमा खटिएका मरासिनीले बताए।

‘पहिला भान्सामा रहेकी आमाको हत्या गरेको देखिन्छ। त्यसपछि बाबुको हत्या गरेर उनी फरार भएको पाइयो,’ एसपी मरासिनीले भने।

हत्या गरेर उनी आफू बस्दै आएको डडेल्धुरा नै फर्किएका थिए। त्यसपछि प्रहरीले थाहा पाउने डरले उनले आफूले लगाएको कपडासमेत जलाएको अनुसन्धानबाट खुलेको छ।

हत्याको कारण पारिवारिक
जयलालकी पहिलो श्रीमतीको क्यान्सर रोगका कारण तीन वर्षअघि मृत्यु भएको थियो। हत्या गरिएकी धना जयलालकी कान्छी श्रीमती हुन्। पहिलो श्रीमतीतर्फका दुई छोरा छन्। जयलालले अर्को श्रीमती ल्याएपछि छोरा भरतसँग उनको राम्रो सम्बन्ध थिएन।

घरायसी कुरामा विवाद हुँदा जयलालले जेठा छोरो भरतलाई खुकुरीले समेत हानेका थिए। त्यसपछि भरतले बाबुविरुद्ध ज्यान मार्ने उद्योगमा समेत प्रहरीमा उजुरी दिएका थिए। सो घटनामा उनी २८ दिन प्रहरी हिरासत बसेर छुटेका थिए।

त्यसपछि छोरा भरत बाबु जयलालसँग नबसेर भिन्दै बस्दै आएका थिए। राम्रो सम्बन्ध नहुनु र जयलालले खुकुरीले समेत हान्नु र आशंका बारेमा पटकपटक विवाद हुँदा भरतले बाबुआमाको हत्या गरेको पाइएको एसपी मरासिनीले जानकारी दिए।

६ महिने शिशु समेत घाइते 
बाबुआमाको हत्या गरेका भरले आफ्नै बहिनी तथा जयलालकी ६ महिने छोरी ममतासमेत घाइते बनाएका थिए। गम्भीर घाइते उनलाई मावली पक्षले कैलालीस्थित माया मेट्रो अस्पताल उपचार गराएका थिए।

शिशुको उपचारमा संलग्न बाल रोग विशेषज्ञ डाक्टर मोहन साउदका अनुसार उनलाई निमोनिया र टाउकोमा चोट लागेको थियो। सिटीस्क्यान रिपोर्टले शिशुको टाउकोमा गम्भीर चोट लागेका देखाएको थियो।

चोटले मस्तिकमा पनि असर परेको छ। छातीमा निमोनियाको संक्रमण भएको थियो। अहिले शिशुको अवस्था सामान्य बन्दै गएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार