काठमाडौँ – कोरोना भाइरस महामारीका लागि धेरै मानिसले विश्वव्यापीकरणलाई दोष दिएका छन्। उनीहरू यसको समाधानका लागि विश्वव्यापीकरणलाई रोक्नुपर्ने तर्क गर्छन्।

जसका लागि ठूला पर्खाल निर्माण, आवागमनमा रोक र व्यापार नियन्त्रण आवश्यक हुन्छ। महामारी रोक्न अल्पकालीन क्वारेन्टाइन आवश्यक त छ तर दीर्घकालीन आपसी छोइछिटोले समग्र अर्थतन्त्र ध्वस्त हुन सक्छ, त्यतिबेला यो सरुवा रोग नियन्त्रण झनै असम्भव हुनेछ। यो महामारीको उपचार (एन्टिडोेट) भनेको एकआपसमा अलग रहनु होइन, बरु आपसमा सहयोग गर्नु हो।

विश्वव्यापीकरणअघि पनि विश्वमा महामारीले करोडौं मानिसको ज्यान लिएको थियो। चौधौं शताब्दीमा अहिलेका जस्ता जहाज थिएनन्, त्यतिबेला पनि पूर्वी एसिया तथा पश्चिमी युरोपमा ‘ब्ल्याक डेथ’ ले एक दशकभन्दा बढी समय मानव समुदायलाई आक्रान्त पारेको थियो। यो रोगका कारण झन्डै २० करोड मानिसले ज्यान गुमाएका थिए। यसले युरोएसियाका एक चौथाई जनसंख्या सखाप पारेको थियो भने इंग्ल्यान्डका हरेक १० जनामध्ये चारजनाले मृत्युवरण गरेका थिए। फ्लोरेन्स सहरमा एक लाख जनसंख्या रहेकोमा ५० हजारको मृत्यु भएको थियो।

भाइरसविरुद्ध लडाइँमा मानिसले आफ्ना सिमानालाई सजग भएर नियन्त्रण गर्न आवश्यक छ तर यो राष्ट्र–राष्ट्रबीचको नभई भाइरस र मानवबीचको सीमारेखाका लागि हुनुपर्छ। सन् १५२० मार्चमा बिफरबाट संक्रमित एक व्यक्ति मेक्सिकोको फ्रान्सिस डी युगियामा पुग्छन्। त्यही वर्षको डिसेम्बरसम्म मध्य अमेरिकाको कुल जनसंख्याको एकतिहाइ जनसंख्या बिफरको महामारीले सखाप भयो। (नागरिक दैनिकबाट)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार