काठमाण्डौ – कोरोना भाइरसले विश्व आतंकित बनाउदै गएपछि नेपाल सरकारले पनि सर्तकता अपनाउन अन्तराष्ट्रिय उडान बन्द गर्ने निर्णय गर्यो । तर नेपाल सरकारले गरेको निर्णयको अवज्ञा भएको छ । विदेशबाट एयरलाइन्सहरुले नेपाली नागरिकलाई सरकारको अनुमतिबिना नै नेपाल प्रवेश गराएपछि सरकारको निर्णय कार्यान्वयन क्षमतामाथि नै प्रश्न उठेको छ ।

कोरोना रोकथामका लागि प्रतिबन्ध लगाइएका मुलुकका केही नागरिक लिएर आएपछि विमानस्थलमा रोकिएको सिल्क एयरको विमानलाई तत्काल फिर्ता पठाउने सरकारको प्रयास सफल भएन । करिब साढे ३ घन्टासम्म यात्रुको नारावाजीपछि विमानस्थल प्रशासनले यात्रुलाई ओराल्न बाध्य भएको हो । सिंगापुरबाट आएको उक्त विमानमा प्रतिबन्धित मुलुकका विदेशी पनि थिए । शनिवार रातिको यो घटनाले नेपाल सरकारको निर्णय कार्यान्वयन क्षमताथि नै प्रश्न उठ्यो ।

यद्यपी त्यसरी अटेर गरेर नेपाल आएको विमान वा सम्बन्धित पक्षलाई नागरिक उड्डयन प्राधिकरणले कारबाही गर्ने बताएको छ । प्राधिकरणका उपमहानिर्देशक राजकुमार क्षेत्रीले कानुनबमोजिम कारबाही गर्ने बताएका हुन् । शनिवार राति सिंगापुरबाट आएको सिल्क एयरले नेपाल सरकारको निर्णय अटेर गर्नुलाई प्राधिकरणले अनैतिक र गैरजिम्मेवारी भनेको छ ।

कोरोना भाइरसका त्रास फैलिरहेको बेला सतर्कता अपनाउन सरकारले चैत ९ गतेबाट नेपाल आउने सबै अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गर्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत चैत ७ गते राष्ट्रको नाममा सम्बोधन गर्दै चैत ९ गतेदेखि चैत १८ गतेसम्म अन्तर्राष्ट्रिय उडान स्थगित गर्ने निर्णय गरेका थिए । तर, प्रधानमन्त्री ओलीको सम्बोधनको स्पष्ट व्याख्या नहुँदा चैत ९ गते आइतबार सातवटा अन्तर्राष्ट्रिय उडान भएको छ ।

सरकारले घोषणा गरेको प्रतिबन्ध उल्लंघन गर्दै यसअघि विदेशी विमान कम्पनीहरुले ६१ जना नेपालीलाई काठमाडौं ल्याएका थिए । उनीहरुलाई खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रस्थित क्वारेन्टाइनमा राखिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार