दृष्टान्त एक : ‘ऊ पोहोर मात्रै त हो नि सुब्बा भएको । दुई वर्षमै शहरमा घर किनिसक्यो। छोराछोरीलाई शहरको सबैभन्दा महङ्गो स्कुलमा पढाएको छ । आफ्नी श्रीमतीलाई त गहनै गहनाले पुरिदिएको छ । कस्तो प्रगती गर्यो गाँठे त्यसले त ।’

दृष्टान्त दुई

-बाबुको तलब कति छ? कति कमाउनु हुन्छ महिनामा?

-तलब त पच्चिस हजार मात्रै छ । यताउति गरेर त्यस्तै ७०–८० जति हुन्छ ।

दृष्टान्त तीन

सरकारी भनेको सरकारी जागिर हो बाबु । तलबै धेरै नभए पनि अरु सेवा सुविधा धेरै हुन्छ । सबै कुरा सरकारले नै दिन्छ ।

यी तीन दृष्टान्त त प्रतिनिधि दृष्टान्त मात्रै हुन् । हामीले हाम्रो जीवनकालमा यस्ता धेरै संवादहरु सुनेका छौं । यस्ता खाले संवादहरु हामी दैनिक रुपमै सुन्छौं । सधैं नसुन्नेले पनि कम्तिमा एक पटक भए पनि सुनेकै हुन्छ । यसो भन्दा फरक नपर्ला– यस्ता संवाद नसुन्ने मान्छे नै छैन हामी जन्मेहुर्केको देशमा ।

यस्ता कुराहरु हामी कहिले आफ्नै घरमा सुन्छौं त कहिले नातेदारका घरमा जाँदा सुन्छौं । कहिले छरछिमेकमा सुन्छौं त कहिले आफ्नै साथीभाइहरुबीच भइरहेको गफमा । कहिले आफ्नै सन्दर्भमा यस्ता कुराकानि हुन्छन्/ सोधिन्छन् त कहिले अरुको सन्दर्भमा सुन्छौं– सोध्छौं । तर जरुर सुन्छौं– सोध्छौं । फरक यति मात्रै हो, कसैलाई यस्ता कुराहरु सुन्न/सोधिन मन पर्दैन होला ।

र, हामी यी कुराकानीको भाव पनि राम्रै सँग बुझ्छौं । चाहे त्यो जतिसुकै घुमाउरो पारामा भनिएको वा सोधिएको नै किन नहोस्। कसै कसैले घुमाउरो पारामा सोध्न र भन्न पनि आवश्यक ठान्दैनन्, सिधा–सिधा सोध्दछन्।

हामीलाई राम्रोसँग थाहा छ “सरकारी सेवासुविधा” भनेको के हो, “यताउतिबाट कमाउनु” भनेको के हो, सरकारी कर्मचारीले “प्रगति गर्नु” भनेको के हो । नेपालमा भ्रष्ट्राचारलाई नैतिक समर्थन जो छ । नेपालमा अनैतिक काम गरेर कमाएको पैसालाई कति सामान्य रुपमा लिइन्छ भने यस विषयमा हाम्रै घरमा, हाम्रै अभिभावकले निर्वाध रुपमा चर्चा गर्छन् । अनैतिक रुपबाट कमाएको पैसालाई नेपाली समाजले “तलब”, “सेवासुविधा” र “प्रगति”का रुपमा स्वीकार गरिसक्यो । अभिभावक भ्रष्ट्राचारबारे कुरा मात्रै गर्दैनन्, परोक्ष रुपमा हामीलाई भ्रष्ट्राचार गर्न/गराउन सल्लाह दिन्छन् । अझ भनौं, अनियमितता मार्फत अर्थोपार्जन गर्न प्रेरणा दिन्छन् ।

नत्र ‘उसले सरकारी जागिर खाएर कति प्रगति गरिसक्यो । तँ पनि सरकारी जागिरका लागि प्रयास गर्, जागिर पर्मानेन्ट मात्रै हुँदैन सेवा सुविधा पनि राम्रो हुन्छ, तँ भनेको कुरै सुन्दैनस् ’ जस्ता वाणीहरु कोहि आफ्ना सन्तानलाई किन भन्थे ? त्यसो भन्नु पछाडि के अर्थ हुन्छ?

भ्रष्टाचार गर्नुलाई सामान्य रुपमा लिइएको मात्रै छैन, यो समाजले भ्रष्टाचार नगर्नेलाई मान्छे नै गन्न छोडेको छ । सरकारी जागिर गरेर पनि पैसा कमाउन नसक्नेलाई यो समाजले “हरुवा” र “असफल”को ट्याग लगाईदिन्छ ।

भ्रष्टाचारलाई यति सजिलोसँग लिने, स्वीकार्ने यो समाजमा भ्रष्टाचार नभएर के हुन्छ? कसैले भ्रष्टाचार गरेको प्रमाणै भेटिए पनि के हुन्छ? भ्रष्टाचारीलाई उनीहरुको परिवार, पार्टी, कार्यकर्ताबाट समर्थन नभएर के हुन्छ?

असलमा, मैले यो लेख लेख्न सुरु गर्दा अन्त्यमा भ्रष्टाचारीलाई बहिष्कारको अनुरोध गर्छु भन्ने सोचेको थिएँ । तर, लेख्दै जाँदा त्यसो गर्ने धृष्टता गर्न सकिनँ ।

सोचें, मैले यस्तो अनुरोध गर्दा कतै मलाई उनीहरुले नै बहिष्कार गर्ने त होइनन्?

उनीहरुले मलाई बहिष्कार गरे भने त म एक्लै हुनेछु जीवनभर । लोकसेवाको तयारी गरिरहेका, कुनै पार्टीको नेतालाई समर्थन गरिरहेका, सरकारी जागिर गरिरहेका अधिकांश मेरा साथीहरुबाट म बहिष्कृत हुने त निश्चित छ। आफ्नै परिवार र आफन्तबाट पनि बहिष्कृत हुनु पर्ने छ ।
त्यसैले मैले अन्त्यमा कसैलाई केही अनुरोध नगर्ने सोच बनाएँ।

हामीलाई यसो गर्न गाह्रो पनि हुँदैनथ्यो। किन भने हामीलाई राम्रोसँग थाहा छ हाम्रा वरिपरी भएका मान्छेमध्ये को को भ्रष्टचारि छन् भनेर । तर मैले यो अनुरोध गरिनँ है, मलाई यही समाजमा बाँच्नु जो छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार