खोटाङ – ‘होम क्वारेन्टाइन’ मा बस्ने सर्तमा काठमाडौंबाट उद्धार गरेर घर ल्याइएका हलेसी तुवाचुङ नगरपालिकाका तीन जना सर्त पालना नगरेको आरोपमा पक्राउ परेका छन्।

कोरोना भाइरसको संक्रमण फैलिन नदिन १४ दिनसम्म होम क्वारेन्टाइनमा बस्ने सर्तमा कबुलियतनामा गरेर घर ल्याइएकामा कबुलियतनामा उल्लंघन गर्ने तीन जनालाई इलाका प्रहरी कार्यालय हलेसीले पक्राउ गरेको हो।

घरबाट निस्केर डुलिरहने, मादक पदार्थ सेवन गर्ने र होहल्ला गर्दै हिँडेको अवस्थामा वडा–४ बडहरेका २० वर्षीय एक युवकलाई गएराति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय हलेसीका प्रमुख प्रहरी निरीक्षक दिनेशप्रसाद खरेलले बताए।

‘पक्राउ परेका युवकलाई छुटाउन राजनीतिक दलकै कार्यकर्ताबाट दबाब आइरहेको छ’, उनले भने, ‘आफूले गरेको कबुलियतनामा उल्लंघन गर्नेलाई सम्बन्धित वडाध्यक्षको रोहबरमा वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा राखिनेछ।’

गत शनिबार वडा नम्बर–८ धितुङका दुई युवतीले पनि होम क्वारेन्टाइन उल्लंघन गरेकामा पक्राउ परेका थिए।

पक्राउ परेका १७ वर्षीया र २१ वर्षीया दुई युवतीलाई वडाध्यक्षको रोहबरमा वडा कार्यालयले निर्माण गरेको क्वारेन्टाइनमा १६ दिनका लागि राखिएको छ।

बन्दाबन्दीका कारण काठमाडौंबाट घर फर्कन नपाएकालाई नगरपालिकाले गत बिहीबार र शुक्रबार २५ वटा बस रिजर्भ गरेर एक हजार २६७ जनालाई घर फर्काएको थियो।

ती नगरवासीलाई १४ दिनसम्म होम क्वारेन्टाइन बस्ने, सामाजिक दूरी कायम गरेर परिवारका सदस्यसँग सम्पर्क स्थापित गर्ने, मादक पदार्थ सेवन नगर्ने, स्वास्थ्यमा समस्या भएमा तत्काल स्वास्थ्यकर्मीलाई सम्पर्क गर्ने लगायतका दश बुँदे कबुलियतनामा गराएर ल्याइएको नगरप्रमुख इवन राईले बताए।

‘संक्रमण फैलिन नदिनका लागि नगरपालिका सचेत छ’, उनले भने, ‘कबुलियतनामा उल्लंघन गर्ने जोकोहीलाई कारबाही हुन्छ।’

सहरबाट घर प्रवेश गर्ने व्यक्तिसँगै संक्रमण पनि भित्रिने खतरा छ। सहरबाट गाउँ फर्किएकाहरू भेला भएर खोलामा माछा मार्ने, वनभोज खाने तथा डाँडा घुम्न जान थालेपछि त्रास फैलिएको हो।

हाल जिल्लाको रावाबेँसी गाउँपालिका, ऐसेलुखर्क गाउँपालिका र साकेला गाउँपालिकाले पनि आफ्नो नागरिकलाई काठमाडौंबाट घर ल्याउने तयारी गरिरहेको छ।

हलेसी तुवाचुङ नगरपालिकाले सहरमा बसिरहेका स्थानीयलाई आफैंले गाउँमा ल्याए पनि जिल्लाकै अन्य स्थानीय तहका सर्वसाधारण समेत आफैं घर भित्रिरहेको जयरामघाट नाकामा स्थापना गरिएको हेल्थडेस्कको तथ्यांकमा उल्लेख छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार