काठमाडौं – अन्तर्राष्ट्रिय उडान गर्दै आएको निजी क्षेत्रको नेपालको एकमात्र हवाई कम्पनी हिमालय एयरलाइन्सले लकडाउन सुरु हुनु अघिदेखि नै आफ्ना सबै अन्तर्राष्ट्रिय उडान बन्द गरेको थियो। चीनसँगको साझेदारीमा सञ्चालनमा आएको हिमालय एयरलाइन्सले चीनको बेइजिङ, चोङची, चाङशा, गुइयाङ र चोंगकिङ, साउदी अरेबियाको दमाम, बंगलादेशको ढाका, कतारको दोहा, यूएईको अबुधाबी र दुबई र मलेसियाको क्वालाम्पुरमा उडान भर्दै आएको छ।

८ बिजनेस क्लास र १ सय ५० इकोनोमी क्लास सिट भएका ए ३२०–२१४ सिरिजका ३ वटा न्यारोबडी एयरक्राफ्टले सेवा उपलब्ध गराउँदै आएका छन्। गत डिसेम्बरबाट नै चीनमा कोभिड–१९ को संक्रमण महामारीको रूपमा फैलिन थालेपछि एयरलाइन्सले गत फेब्रुअरीबाट चीनका विभिन्न सहरमा गर्दै आएको सबै उडान बन्द गरेको थियो। त्यसपछि एयरलाइन्सले दोहा उडान मार्च ९, दमाम मार्च १५, क्वालालाम्पुर मार्च १७, ढाका मार्च १९ र अबुधाबीको उडान मार्च २१ गतेबाट अर्को सूचना नआएसम्मका लागि स्थगित गरेको छ।

सरकारले मार्च २४ बाट लकडाउन सुरु गरेको र लकडाउन आगामी वैशाख २५ गतेसम्म लागु भइरहेको छ भने आन्तरिक तथा बाह्य उडान पनि जेठ २ गतेसम्मका लागि स्थिगत गरेको छ।

अहिले एयरलाइन्सका सबै विमान ग्राउन्डेड अवस्थामा छन्। विमान ग्राउन्डेड भएको करिब ३ महिनापछि यही आइतबार चीनको ग्वान्जाओमा कार्गो उडान भने भरेको छ। ३ वटा विमान नै ग्राउन्डेड भएपछि अहिले शून्य आम्दानीमा सञ्चालन खर्चको भार थेगिरहेको कम्पनीका उपाध्यक्ष विजय श्रेष्ठले जानकारी दिए। आम्दानी ठप्प भए पनि अहिलेसम्म सञ्चालन खर्च धानिरहेको श्रेष्ठले जानकारी दिए। करिब ४ सय कर्मचारीलाई नियमित रूपमा तलब उपलब्ध गराइरहेको र बेतलबी बिदा वा तलब कटौती जस्ता निर्णय अहिलेसम्म नभएको उनको भनाइ छ।

करिब ३ महिनादेखि उडान ठप्प हुँदा एयरलाइन्सले मासिक ३० करोड रुपैयाँभन्दा बढी घाटा व्यहोरिरहेको आजको अन्नपूर्ण पोष्ट दैनिकमा खवर छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार