काठमाडौँ – दुई विवादास्पद अध्यादेशको पृष्ठभूमिमा विस्फोटक भएको सत्तारुढ नेकपाभित्रको विवादमा पूर्वगुटहरुको समीकरण फेरिन संकेत देखिएका बेला गृहमन्त्रीसमेत रहेका सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ ले अन्ततः कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई साथ दिने भएका छन् ।

प्रचण्डकै प्रस्तावमा गृहमन्त्री भएका बादल सरकारमा गएको केही समयपछि ओलीनिकट भएको ठानिएको थियो । तर, बादलले सार्वजनिक रुपमा वा पार्टी बैठकमा कहिल्यै प्रचण्डप्रति तुच्छता प्रकट गरेनन् ।

उनले दुवै अध्यक्षसँग समदुरीको सम्बन्ध राख्ने कोसिस गरेका थिए । पछिल्लोपटक सरकारले ल्याएको राजनीतिक दल विभाजन र संवैधानिक परिषदमा प्रमुख प्रतिपक्षी दलको भूमिका सीमित गर्ने विवादास्पद अध्यादेश ल्याउँदा उनले ओलीलाई साथ दिएका थिए ।

तर, सत्ता समीकरण फेर्ने पछिल्लो खेलमा बादल स्पष्ट रुपमा प्रचण्डतिर उभिएका छन् । प्रचण्ड–बादल बालसखा हुन् । मोहन वैद्यसँगै पार्टी विभाजन गरेका उनी पछि फेरि आफ्नो समूह लिएर माउ पार्टी माओवादी केन्द्रमै फर्किएका थिए ।

प्रचण्डले बादललाई आफूतिर तान्न स्थायी समिति सदस्यद्वय देव गुरुङ र पम्फा भुसाल परिचलान गरेका थिए । ‘बीचमा के हो के हो जस्तो भएको थियो’, प्रचण्डनिकट एक नेताले भने, ‘अन्ततः उहाँ यतै खुलेर आउनुभएको छ, कुरा क्लियर छ ।’

प्रधानमन्त्री ओली खेमाले थालेको हस्ताक्षर अभियानमा बादल पक्षधर कोही पनि सांसदले बुधबार हस्ताक्षर गरेका छैनन् ।
खुमलटारस्थित प्रचण्ड निवासमै पुगेर बादलले आफ्नो साथ रहेको स्पष्ट गरेका हुन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार