अहिले जारी लकडाउनको खास उद्देश्य के हो ? जवाफ सहज छ- मानिसलाई कोरोना भाइरसबाट सङ्क्रमित हुनबाट रोक्ने । तर, पछिल्लो एक अध्ययन रिपोर्टले दाबी गरेको छ- जबसम्म ७० प्रतिशत जनसङ्ख्या कोरोना भाइरसबाट सङ्क्रमित हुँदैनन् तबसम्म यो महामारी रोकिने छैन । अनि त्यो अवस्था आउन दुई वर्ष लाग्न सक्छ ।

त्यसो भए यो लकडाउन कहिलेसम्म ? यो प्रश्नको जवाफ सजिलो छैन किनकि कोरोनाबाट बच्न भन्दै लागु गरिएको यो लकडाउन नै आफैँमा गलत छ । अर्थात्, हामी कोरोना सङ्क्रमणको त्रासमा घरमा लुक्दैमा यो सङ्कटबाट मुक्ति पाइने छैन । बरु, अन्य सङ्कट अझ गहिरिने पक्का छ । जीवन झन् कष्टकर बन्नेछ । रोगले होइन भोकले मर्ने अवस्था आउने निश्चित छ ।

त्यसैले यहाँ लकडाउनको अन्त्य गर्ने एक अनौठो तर व्यवहारवादी प्रस्ताव पेस गरिएको छ । यदि हाम्रो जस्तो आर्थिक अवस्था भएको सरकारले यो सत्य र तथ्यलाई स्वीकार नगर्ने हो भने निश्चित छ बहुसङ्ख्यक नेपालीको कोरोना सङ्क्रमणले थलिएर भन्दा भयावह र पिडादायी मृत्यु हुनेछ ।

यस्तो तर्क गर्नुको आधार के हो भने कोरोना भाइरसको यो महामारी कम्तीमा पनि अबको दुई वर्ष रहने अनुसन्धानकर्ताहरुले अनुमान गरेका छन् । के यो पुरै अवधि अर्थात् कोरोनाको खोपको अनुसन्धानमा लागेका वैज्ञानिकले भने झैँ अझै डेढ वर्ष यस्तै लकडाउनमा बस्न सम्भव छ ? घरमा लुकेर कोरोनालाई आफ्नो छेउ नै पर्न दिन्न भन्ने कुरा अझै कति दिनसम्म व्यवहारिक देखिएला ? बढीमा अब केही हप्ता ।

अनि त्यसपछि के गर्ने ? हो, यो आलेखमा यही अत्यधिक जटिल प्रश्नको जवाफ खोज्ने प्रयास पनि गरिएको छ । त्यो जवाफ खोज्न पहिले यो प्रश्नमाथि मन्थन गरौँ :

के हो हाम्रो प्राथमिकता ?

के मानिसहरूलाई कोरोना भाइरसको सङ्क्रमणबाट जोगाउनु मात्रै हाम्रो प्राथमिकता हो ? वा, हामीले यसअघि उपभोग गर्दै आएको आर्थिक गतिविधिको स्वतन्त्रता, मेहनत र परिश्रमको बलमा जीवन बाच्ने अवसरको रक्षा खासमा आजका हाम्रा प्राथमिकता हुन् ? पक्कै पनि गरिखाने वातावरण निर्माणको खाँचो अहिले छ । जसले हामीलाई दुई छाक गाँस अनि जस्तोसुकै भए पनि बास र कपासको प्रत्याभूत गर्ने आशा गर्न सकिन्छ ।

हाम्रो उद्देश्य नै जीवन सामान्य तर्फ फर्काउने हुनुपर्छ । मास्कले मुख ढाक्नु, हातमा पन्जा लगाउनु, दैनिक मान्छे मरेको र सङ्क्रमित भएको अपडेट सुन्नु, सेल्फ आइसोलेशन र सामाजिक दुरी कायम गरेर बस्नु जस्ता बाध्यताबाट बाहिर निस्कनु पर्छ । यो किन जरुरी छ भने हामी अर्थतन्त्रलाई यसरी बन्द गर्न सक्दैनौ । दैनिकरुपमा बेरोजगारी बढाउन सक्दैनौ । साना र मध्यम स्तरका व्यवसायलाई संधैको लागि बन्द गर्ने अवस्था आउन दिन सक्दैनौ । यस कारण मानिसलाई सङ्क्रमित हुन नदिने प्राथमिकता अब बदल्नु पर्छ । अनि जनसङ्ख्याको एउटा हिस्सालाई सङ्क्रमणको आगोमा धकेल्ने आँट गर्नु पर्छ ।

लकडाउन यसरी हटाउने  

यहाँ भन्न खोजेको यो हो कि हामी जतिसक्दो चाँडो सामान्य अवस्थामा फर्कनु पर्छ । हाल कोरोना सङ्क्रमणको केन्द्रबिन्दु बनेका स्थान बाहेक अन्य ठाउँको लकडाउन तुरुन्तै हटाउनु पर्छ । हाम्रा दिनचर्याहरू पूर्ववत् सुचारु गर्नु पर्छ । हो, हामीलाई कोरोना सङ्क्रमणको सम्भावना हुन्छ तर त्यसलाई स्विकार्नुपर्छ । तर, हाम्रो सम्पूर्ण जनसङ्ख्यालाई हामी यो जोखिममा पार्न सक्दैनौ । त्यसैले ४० वर्ष उमेर समूह भन्दा तलका नागरिकहरूलाई मात्र स्वतन्त्र ढङ्गले काममा फर्कन दिनुपर्छ ।

४० वर्ष भन्दा तलकालाई हालसम्म कोरोनाले थला पार्न वा उनीहरूको ज्यान सजिलै लिन सकेको छैन । उनीहरू सङ्क्रमित भए पनि केहिसमय पछि भाइरस पराजित हुन्छ । ती व्यक्तिहरूको शरीरमा कोरोना भाइरस प्रतिरोधी क्षमता विकास हुन्छ । यदि यो क्षमताको विकास जनसङ्ख्याको ठुलो हिस्सामा गर्न सकियो भने त्यो वास्तवमा नै ठुलो उपलब्धि ठहर्छ । यसमा कुनै दुइमत छैन कि काम गर्न सक्ने ४० वर्ष भन्दा तलको यो जनसङ्ख्यामा बन्द कोठाको सोफामा बसेर टिभी हेर्दा कोरोना प्रतिरोधी क्षमता बढ्दैन ।

अहिले नै हेर्ने हो भने ३५ लाख सङ्क्रमित हुँदा १२ लाख जना निको भइसकेका छन् । अनि उमेर समूहको आधारमा हेर्दा ४० वर्ष भन्दा कम उमेरका व्यक्तिहरूको मृत्युदर शून्य दशमलवमा नै छ । यसरी मृत्युदर कम भएको जनसङ्ख्यालाई सजिलै कोरोना प्रतिरोधी बनाउन सक्ने अवसर हामीसँग छ ।

यो सुविधा जुन हामीलाई कोरोना भाइरसले दिएको छ त्यो सुविधाको उपभोग किन नगर्ने ? मुटु रोगी, मधुमेहका बिरामी, उच्च रक्तचापबाट पिंडीत, क्यान्सर लगायतका दीर्घ रोगका बिरामीहरू जुनसुकै उमेरका भए पनि उनीहरूलाई सामान्य अवस्थाको झैँ खुल्ला हिड्डुल गर्न दिनु हुँदैन । ४० देखि ६० वर्षकालाई विशेष सावधानी सहित सक्रिय पार्न सकिन्छ तर ६० वर्ष उमेर भन्दा माथिकालाई पुरै सुरक्षित राख्नु अहिलेको लगातारको लकडाउन भन्दा धेरै सजिलो हुन्छ । हरेक परिवारले त्यो गर्न सक्छ र परिवारमा नै बाहिर काममा जाने व्यक्ति एक प्रकारको आइसोलेशनमा बस्ने वा रोगी तथा बृद्दलाई अलग राख्ने गर्न अहिलेको भन्दा कयौंगुना सहज हुन्छ ।

यस कारण लकडाउन झनै प्राणघातक

श्रम गरेर बाँच्ने वर्गको लागी अहिले जारी गरिएको लकडाउन नै सर्वाधिक घातक बनेको छ । मानौँ लकडाउन अवधिभर त सरकारले राहत दिएर बचाउला तर त्यसपछि के उनीहरूले जीवनयापन गर्न सक्ने अवस्था तुरुन्तै बन्छ ? लकडाउन अझै कायम रहे त्यो देखिँदैन । साना र मझौला उद्योग/व्यवसाय पूर्ण रूपमा बन्द हुँदा स्थिति भयावह हुनेछ ।

यदि कोरोनाको सङ्कट टरेपछि हामी सहजतामा जाने र त्यो बेलासम्म पर्खने भन्ने हो भने स्पष्ट छ त्यो अर्को मुर्ख्याइँ ठहर्ने छ । कोरोनाको सङ्क्रमणको स्थिति त्यो बेलासम्म रहन्छ जबसम्म यस बिरुद्द खोपको विकास हुँदैन । विज्ञहरूले नै बताइरहेका छन् कि खोप बन्न अझै कम्तीमा १८ महिना देखि दुई वर्षसम्म लाग्नेछ ।

अझ त्यो भन्दा गम्भीर कुरा त यो छ कि अनुसन्धानकर्ताहरू भनिरहेका छन्, ‘जबसम्म बहुसङ्ख्यक जनसङ्ख्यामा कोरोना प्रतिरोधी क्षमता विकास हुँदैन तबसम्म यसको सङ्क्रमण नियन्त्रणमा आउँदैन ।’ अमेरिकाको मिनिसोटा विश्वविद्यालयका अनुसन्धानकर्ताहरुले गएको बिहीबार यस्तो रिपोर्ट सार्वजनिक गरेका हुन् ।

सो रिपोर्टमा उनीहरूले स्पष्ट रूपमा लेखेका छन्- जबसम्म ६० देखि ७० प्रतिशत जनसङ्ख्यामा कोरोना सङ्क्रमण हुँदैन त्यो बेलासम्म यसको महामारी रोकिँदैन । यदि त्यसो हो भने हामीले किन चाँडो त्यो क्षमता हाम्रो जनसङ्ख्यामा विकास गर्ने तर्फ नसोच्ने ?

स्विडेन एक उदाहरण 

इटाली, स्पेन जस्ता अन्य युरोपेली मुलुक कोरोनाको ठुलो चपेटामा परिरहँदा समेत स्विडेनले त्यहाँ पूर्ण लकडाउन गरेन । बरु, माथि प्रस्ताव गरिए झैँ नियन्त्रित ढङ्गले त्यहाँ सङ्क्रमण फैलन दिइयो । त्यसैले आज स्विडेन आफ्नो जनसङ्ख्याको ठुलो हिस्सामा कोरोना प्रतिरोधी क्षमता विकास गर्न सफल भएको छ ।

स्विडेनमा देखिएको रोचक कुरा त यो हो कि बन्दा बन्दीको कठोर निर्णय नगरेको यो मुलुकमा अहिले सङ्क्रमण घट्दोक्रममा छ । त्यहाँ २३ हजारको हाराहारीमा जम्मा सङ्क्रमित भेटिएका छन् जसमध्ये २ हजार ७ सयको ज्यान गएको छ भने ४ हजार जना निको भइसकेका छन् ।

स्विडेनमा मार्च १ तारिकमा १ जनामा देखिएको सङ्क्रमण अप्रिल २३ तारिखसम्म आउँदा दैनिक ७ सय जनासम्म सङ्क्रमित हुने गरी फैलियो तर त्यसपछि त्यसमा तीव्र गतिमा कमी आयो । अप्रिल महिनामा अहिले दैनिक ३ सय जनामा देखिंदैछ । र, अब केही हप्तामा नै नयाँ सङ्क्रमित भेटिन छोड्ने अपेक्षामा त्यहाँका स्वास्थ्य अधिकारीहरू छन् ।

स्विडेनले यसबिच आफ्नो अर्थतन्त्रलाई बन्द गरेन । कामदारलाई घरमा थुनेर राखेन ।त्यसैले अहिले त्यो देश नेपाल जस्तो वैदेशिक ऋण खोज्दै हिँडिरहेको छैन । कोरोना भाइरससँग लड्न त्यहाँका नागरिकमा प्रतिरोधी क्षमता विकास हुँदै छ । भविष्यमा पनि यसको त्रासबाट उनीहरू मुक्त बन्दै छन् । खोपको विकास होस् वा नहोस् त्यो बारे कुनै मतलब छैन स्विडेनलाई ।

यो उदाहरण कै आधारमा हामीले किन त्यस्तो निर्णय नगर्ने ? यो वास्तव मै गाह्रो छ, तर असम्भव होइन । पहिले हामी यो स्वीकार गरौँ कि लकडाउन गर्ने हाम्रो निर्णय गलत छ । यसको विकल्प खोजिनु पर्छ । यहाँ के कुरालाई भने ध्यानमा राख्नै पर्छ भने सङ्क्रमणको फैलावट नियन्त्रित हुनुपर्छ नत्र हाम्रो जस्तो स्वास्थ्य पूर्वाधारले त्यो धान्न सक्दैन । बरु, एक चरणमा थामी नसक्नु गरी बढ्ने सङ्क्रमणलाई थेग्ने स्वास्थ्य पूर्वाधारको विकासमा ध्यान दिऊँ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार