काठमाडौँ महानगरपालिका वडा २४ मा रहि २०६० सालदेखि आशा बचत तथा ऋण सहकारी संस्था लिमिटेड संचालन हुदै आइरहेको छ । स्थानीयको विश्वास जित्दै निरन्तर संचालनमा रहेको यस सहकारीका अध्यक्ष बालकृष्ण महर्जनसँग संस्थाकै विषयमा रहेर हाम्रा सहकर्मी बिगेन तुलाधरले गर्नुभएको कुराकानी :

छोटो मिठो संस्थाको परिचय दिनुहोस न ।

सबैभन्दा पहिले त हामीले २५ जना सदस्य बनाएर २०६० साल कार्तिक महिनाको २७ गते यस संस्था दर्ता गरेर सुभारम्भ गरेको हो । हालसम्म संस्थाको प्रगती राम्रो रहेको छ ।

त्यसबेला सहकारी प्रति जनविश्वास केही घट्दै गएको अवस्था थियो । पैसा खाएर भाग्ने प्रवृत्तिले सहकारीमा पैसा सुरक्षित नहुने धारणा स्थापित भइरहेको समयमा यस संस्था स्थापित गर्न कति सहज/असहज भयो ?

गाह्रो त पक्कैपनि हुन्छ नै । बाहिरका जिल्लाले हाम्रा स्थानीय ठाउमा सहकारी खोलिएका कारण च्याउ उम्रिएसरी सहकारी संस्थाहरु थिए । पैसा खाएर भाग्ने क्रम पनि बढ्दो थियो । त्यहि नहोस भनेर नै स्थानीयहरुमार्फत स्थानीयहरुकै रकम सुरक्षित होस भन्ने हेतुले नै यस संस्था खोलिएको हो ।

स्थानीय जनताको विश्वास जित्न कति गाह्रो भयो ?

गाह्रो त हुन्छ नै । त्यसमाथी पैसा जस्तो कुरामा झन् गाह्रो हुन्छ । तर संस्थाको आफ्नै भवन भएकाले र स्थानीयकै सक्रियतामा संचालन गरिएकाले केहि सहज पनि भयो । हाम्रो संस्थामा काठमाडौँ बाहिरका संचालक पनि छैनन्, पैसा जम्मा गर्ने पनि छैनन् र हामीले बाहिरकाको पैसा जम्मा गर्ने गरेका पनि छैनौँ ।

यस संस्थालाई उत्कृष्ट करदाताको रुपमा पनि सरकारले सम्मान गरेको हो ?

२०७१ सालमा काठमाडौँ उपत्यका भरिका उत्कृष्टमध्य नेपाल सरकार, कर कार्यालयले सम्मान गरेको छ ।

२०७२ सालको भुकम्प, नाकाबन्दीले बैकिङ्ग क्षेत्र, सहकारीको क्षेत्र र सम्पुर्ण आर्थिक क्षेत्रमा असर पारेको थियो । तपाईको संस्थालाई कति असर पर्यो ?

अर्थतन्त्रमा अलिकति तलमाथि त हुन्छ नै । यसै क्षेत्रका अरु संस्थाको कदमको हावा त हामीलाई पनि लागिहल्छ नै । हामीले त्यस्तै समस्याका लागि जोखिम कोष अलगै राखेका छौँ । संस्थाको जोखिम कर्जा भने छैन । यस्तै अनेक भवितब्यका निम्ती हामीले छुट्टै रकम बिनियोजन गरेर राखेका छौँ । त्यसैले पनि त्यति गाह्रो भने भएन । भुकम्पले हाम्रोमा खासै क्षति गरेको छैन । हाम्रा सदस्यहरु पनि पिडित हुनुभएको पाइएन । २/४ जना हाम्रा सदस्य पिडित हुनुभएको त थियो, उहाँहरुलाई हामीले उचित सहयोग पनि गर्यौ ।

कोरोना भाइरसले गर्दा विश्व अर्थतन्त्रमै असर परिरहेको अवस्थामा, आशालाई पनि केहि अप्ठ्यारो त पक्कै पर्यो होला ?

पर्न त परिहल्छ । नेपाल सरकारको लकडाउनको निर्णय अनुसार हामीले पनि सहकारी बन्द गर्यौ । एक साता अघि सहकारी विभागबाटै कम्सेकम निक्षेपका कर्मचारीहरुलाई सहकारीमा उपस्थित गराई निक्षेपकर्ताले रकम निकाल्न चाहे उपलब्ध गराउनु भन्ने निर्णय अनुसार हामीले पनि सहकारी दैनिक तीन घण्टा संचालन सुरु गरेका छौँ ।

सेवा पुन सुचारु भइसकेपछि ग्राहक कतिको लाभांवित भएका छन् ?

त्यस्तो धेरै निक्षेपकर्ता आउनु भएको त छैन । सायद लकडाउनको कारणले पनि हुन सक्छ । दैनिक ४/५ जना आउनुहुन्छ, ५/१०/१५/२० हजारभन्दा बढि रकम पनि लैजाने गर्नुभएको छैन । उहाँहरुलाई पनि लाग्दो हो धेरै रकम घरमा राखेर काम पनि छैन । कसैले थाहा पाउनु भएन कि भनेर हामीले फोन गरेर पनि हाम्रा सबै सदस्यहरुलाई सहकारी तीन घण्टा खुल्ला रहने जानकारी दिएका छौँ ।

लकडाउन लम्बिने लगभग पक्का पक्की छ । तपाईको व्यक्तिगत बिचारमा आफ्नो क्षेत्रलाई मध्य नजर राख्दै लकडाउन थपिनु उचित छ या छैन ?

लकडाउन त पक्कै पनि लम्बिन्छ नै । निक्षेप हुनेहरुले त पैसा पाइहल्छ समस्या केहि पनि भएन । हामीलाई समस्या के छ भने, ऋणीहरुले ब्याज तिर्ने अवस्था पटक्कै छैन । अब उनीहरुले कसरी दिने त । कसरी हामीले पनि लिने त ? यो त सोच नै छैन ।

छुटको कुरा पनि त आउछ होला नि यसमा ?

छुटको कुरा पनि आउछ । अझ कुरा त के छ भने, हाम्रा सदस्य र स्थानीयहरुलाई संस्थाबाट कुन हिसाबले सहयोग गर्ने हो । यसै विषयमा छलफल राख्न पनि गाह्रो भइरहेको छ । स्थानीय जनप्रतिनीधिहरुसँग सहकार्य गरेर सहयोग गर्ने योजना पनि लकडाउका कारण केहि असहज भएर पुरा गर्न पाइरहेका छैनौँ ।

अन्त्यमा केहि ?

हामीलाई पनि केहि सहयोग गर्ने इच्छा हुदा हुदै पनि सहयोग गर्न पाइरहेका छैनौँ । तपाईहरुको मिडियामार्फत, यस सहकारीको कारोबार दैनिक बिहान ११ बजेदेखि १ बजेसम्म संचालन भइरहेको जानकारी गराउन चाहान्छु । यदि हाम्रा कुनै सदस्यलाई जानकारी नभएमा जानकारी होस भन्न पनि चाहन्छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार