बारा – बाराको सुवर्ण गाउँपालिकाको पचगछिया सिमानामा आज दिउँसो भारतीयहरुले सशस्त्र प्रहरीको पोष्टमा तोडफोड गरेका छन् ।

सुवर्ण गाउँपालिका-३, पचगछियामा रहेको प्रहरीको चेक पोष्टमाथि भारतीयहरुले दिउँसो साढे १२ बजे आक्रमण गरेको सशस्त्र प्रहरीले जनाएको छ । भारतको हनुमान नगरबाट झन्डै एक सयको संख्यामा आएका भारतीयले सशस्त्र प्रहरीको पोष्टमथि आक्रमण गरेको सशस्त्र प्रहरी उपरीक्षक दिगविजय सुवेदीले बताए ।

स्थिति नियन्त्रणमा लिन सशस्त्र प्रहरीले एक राउन्ड हवाई फायर गरेको प्रहरीले जनाएको छ । दुईजना भारतीय नेपाल प्रवेश गर्न खोज्दा सशस्त्र प्रहरीले प्रवेश गर्न रोकेपछि ठूलो संख्यामा भारतीयहरु आएर आक्रमण गरेको सशस्त्र प्रहरी उपरीक्षक सुवेदीले जानकारी दिए ।

अहिले दुवै देशका सुरक्षाकर्मीहरु घटनास्थल पुगेको र स्थिति सामान्य रहेको प्रहरीले जनाएको छ । घटनास्थलमा कलैयाबाट सुरक्षा निकायका प्रमुखहरु पुगेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार