प्रतिनिधि सभाको चुनाव २०७४ मा काठमाडौँ क्षेत्र नं ८ मा विशेष पकड रहेको मानिएका नेपाली कांग्रेसका चर्चित नेता नविन्द्रराज जोशीलाई पराजित गरेर सांसद बनेका जिवनराम श्रेष्ठसँग समसामयिक विषयमा रहेर हाम्रा सहकर्मी बिगेन तुलाधरले गर्नुभएको कुराकानी :

कोरोना भाइरसको कारण भएको बन्दाबन्दीमा तपाईको समय कसरी बितिरहेको छ ?

अहिले यो कोरोना भाइरसको कारणले संसारभरि नै संकट उत्पन्न भइरहेको छ । नेपालमा पनि अहिले यसले गर्दा त्रासदीपूर्ण वातावरण सृजना भएको छ । यो महामारीबाट बचाउनको लागि र नियन्त्रणको लागि सरकारले लकडाउन गरेको छ । यस बीचमा सचेतनाका कार्यक्रमहरु, राहत र संक्रमणबाट कसरी जोगिन सकिन्छ भनेर विभिन्न निकायहरुसँग समन्वय गर्ने कार्यहरुमै पछिल्लो समय व्यस्त भइरहेको छु ।

पछिल्लो समय सरकारको गतिबिधि हेर्दा लकडाउन बढाउने बाहेक अन्य महत्वपुर्ण कार्य गरेको देखिदैन नि ?

हाल नेपालमा जुन संक्रमणको अवस्था देखापरेको छ, सरकारले अघि बढाएको कदम सहि नै छ भन्ने देखिएको छ । जसरी हाम्रो छिमेकी राष्ट्रहरुमा संक्रमणको संख्या बढिरहेको छ, विकशित राष्ट्र युरोप अमेरिकामा पनि जुन तरिकाले संक्रमण बढिरहेको छ । सहि समयमा सहि निर्णय गरेर सरकारले बचाउने जुन तत्पर्ता देखाएको छ, त्यो एकदम सकारात्मक पक्ष हो । लकडाउन पछिको अवस्थालाई कसरी व्यवस्थित गर्ने, जनजीवनलाई कसरी संचालन गर्ने र आर्थिक गतिबिधिलाई कसरी अगाडी बढाउने भन्ने विषयमा सरकारले तयारी गरिरहेको हुनुपर्छ । हामी यसरी जादैछौँ भन्ने विषयमा योजनाहरु आउनुपर्ने हो, त्यसमा चाहिँ केहि कमी भएको महसुस भएको छ । संक्रमणको जुन अवधि रहेको छ र यो अवधि भित्रमा संक्रमणको अवस्था के रहेको छ, भन्ने थाह पाउनको लागि जुन टेष्ट गरिनुपर्ने हो, त्यसमा केहि कमि कमजोरी महसुस भएको छ । सरकार यसमा लागिरहेको कुरो हामीले जानकारी पाइरहेका छौँ । तर पनि यसमा केहि कमि कमजोरी महसुस भएको भने छ ।

संक्रमणको पाटो यकातिर राखेर सरकार भने अनेक खेलमा लागिरहेको छ । नेकपा भित्रकै आन्तरिक किचलोको विषयमा रहेर यहाँको बिचार के रहेको छ ?

हाल पार्टिभित्र जुन द्वन्दको अवस्था छ, यो चाहिँ वास्तम्म अशोभनीय भएको छ । देश नै एकढिक्का भएर कोराना विरुद्धको युद्धमा होमिनु पर्ने समयमा पार्टिमा द्वन्द देखिनु एकदम गलत हो । कोरोना विरुद्धको युद्धमा होमिनु पर्ने समयमा संविधान संशोधन तर्फ लाग्नु गम्भिर त्रृटी हो । त्यसले समस्या पनि उत्पन्न गर्यो ।

सुकुम्वासी आयोगको विषयले पनि विभिन्न विवाद उत्पन्न भएको छ, यस विषयलाई लिएर तपाई के भन्नु हुन्छ ?

सरकारले काम नगर्ने भन्ने कुरा त भएन । कामहरु गर्दै जानुपर्छ । यी विषयपनि सरकारको कार्यभित्र पर्ने कुराहरु हुन । समय अलिकति बेठिक पर्यो कि भन्ने कुरा मात्र हो । तर पनि यि कार्यहरु सरकारका जिम्मेवारी भित्र परेका कार्यहरु हुन । काठमाडौँमा जग्गा दिने भन्ने विषय त एकदम गलत हो । भुमीहिनहरुलाई भुमीदिने, उनीहरुलाई पनि वसोवासको हक दिनुपर्छ भन्ने मान्यता हो, यसका लागि सहि व्यक्तिलाई उपलब्ध गराउनु पर्छ । जग्गा दिने, लालपुर्जा दिने आफैमा गलत हो भन्ने देखिएको छ । दश वर्षपछि उसले बेचबिखन गर्न पाउने भनेपछि, फेरीपनि सुकुम्वासीको स्थितिमा आउन सक्ने भयो । लालपुर्जाभन्दा पनि भुमीहिन अवस्थाको अन्त्य गर्नेतर्फ लाग्नुपर्छ । मन्त्री ज्यूसँग कुरा राख्दा पनि, काठमाडौँमा जग्गा दिने कुरा आफूले नगरेको भन्नु भयो । नगरिक्ता अनुसार भुमी उपलब्ध गराउदा व्यवहारिक हुन्छ ।

कोराना भाइरसका निम्ती खरिद गरिएका सामाग्रीमा पनि व्यापक भ्रष्टाचारको कुरा आयो । यसमा तपाईको भनाइ के छ ?

यस विषयमा विभिन्न संचारमाध्यमा समाचारहरु आएका छन् । यस विषयमा गम्भिर छानविन हुनुपर्छ, सत्यतथ्य बाहिर ल्याउनु पर्छ । यसखालका कार्यहरु ढाकछोप गर्ने, वेवास्था गर्नाले राम्रो गर्दैन । प्रश्न उठिसकेपछि छानविन गरेर कानुनी प्रकृयाबाट टुङ्गोमा पुर्याउनु पर्छ ।

अब खरिद प्रक्रिया सेनामा लग्ने भन्ने कुरापनि आएको छ नि ?

पहिला त्यस्तो समाचारहरु त आएको थियो । तर पछि फेरी सामाग्रीहरु ल्याउन जी टू जी सरकारकै तर्फबाट सम्झौताहरु गरेको छ । छिटोछरितो बनाउन ल्याउने कार्यमा सेनाले सहयोग गर्ने भन्ने कुरा मात्र हो ।

तपाईको क्षेत्रमा कोरोनाको अवस्था कस्तो पाउनु भएको छ ?

डब्लू .एच.ओ ले निर्धारण गरेको पहिलो चरणमै छौँ हामी । उपत्यका बाहिरको अवस्थाले मात्र तेस्रो चरणमा पुगेको हो । यसो भनेर हामी ढुक्क बस्ने स्थिति छैन । माहामारीको कुनै निश्चित सिमाना छैन । ६-७-८ भन्दा भन्दै १ सय ९ पुगेको छ । उपत्यकालाई लिएर सरकारले विशेष योजना बनाउन जरुरी छ । घनावस्ती रहेको उपत्यकामा कोरोना प्रवेश गर्यो भने यसले ठूलो समस्या उत्पन्न गर्छ । उपत्यका भित्रिने नाकाहरु केहि समयलाई निषेध नै गरिनु पर्छ ।

सरकारले वर्गिकरण गरेको रेड, ग्रिन र एल्लो जोनमा काठमाडौँमा लकडाउन खोल्ने अवस्था के छ ?

खोल्ने अवस्था छ । टेष्ट त अझै गरिनुनै पर्छ तर हालसम्मको अवस्था हेर्दा यहाँको स्थिति ठिक छ । सधै लकडाउन गरेर त सम्भव हुदैन । सरकारले सधै राहत दिन पनि सम्भव हुदैन । अर्थ त चलायमान हुनुपर्यो नि । सबै ठाउमा एकै उपाय अपनाएर हुदैन । विविध उपायहरु अपनाउन जरुरी छ ।

भारतले नेपाली भुभाग हुदै मानसरोवर जाने बाटोको उद्घाटन नेपाल सरकारको स्विकृति बिना नै गरिसकेको छ । परराष्ट्र मन्त्रालयले विज्ञप्ति पनि जारी गरेको अवस्था छ । अब सरकारले कस्तो कदम अगाडि बढाउदा उचित हुन्छ जस्तो लाग्छ ?

नेपालीको लागि एकदम दुखद घटना हो । हाम्रो राष्ट्रको भुमी मिच्ने, खोस्ने काम भएको छ । कुनै पनि नेपालीले यो सहन सक्ने कुरा होइन । निकै दुखद घटना भएको छ । सरकारले विज्ञप्ति पनि जारी गरिसकेको छ । यस कार्यलाई कुनै पनि नेपालीले स्विकार्न सक्दैन । कालापानी र लिम्पियाधुरा भारतको नक्शामा राखेर प्रकाशित गरेको कुरालाई पनि हामीले बिरोध गरेका छौँ । कुट्नीतिक ढङ्गबाट समस्या गरिनुपर्छ भन्दै प्रयासहरु भइरहेको थियो । त्यहि बीचमा मानसरोवर जाने बाटोमा हाम्रो जमिन प्रयोग गरिएको छ, त्यो नितान्त दुखद घटना हो । सुगौली सन्धीमा प्रष्टरुपमा कालापानी र लिम्पियाधुरा नेपालको भुभाग हो भन्ने खुलेको छ । यति हुदाहुदै थिचोमिचो गरिनु गलत कार्य हो । सरकारले हाम्रो जमिन फिर्ता गर्ने कुरामा शसक्त ढङ्गले अगाडि बढ्नु पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार