काठमाडौं – नेपालमा हरेक महिना १ अर्व ६० करोड रुपैयाँ बराबरको तरकारी आयात हुन्छ जस मध्ये ६५% तरकारी काठमाडौंमा खपत हुने गरेको छ । काठमाडौंवासीले घरमै कौसी खेती गर्ने हो भने यसले हरेक घरमा ७५% तरकारीको माग पुरा गर्न सक्ने र यसले घरघरमा स्वच्छ विषादी रहित तरकारी उत्पादन, पैसा वचत र वातावरणमा पनि राम्रो असर पुर्याउने सरोकारवालाको ठहर छ ।

काठमाडौं उपत्यकामा उपत्यकावासीहरुले फोहर व्यवस्थापनको समस्या सदैव भोगिरहेका हुन्छन । कोभिड १९ लकडाउनको समयमा फोहर व्यवस्थापनका केही बाधा अवरोध आउनु स्वभाविक छ । यसै समस्यालाई सम्बोधन गर्न गैर सरकारी संस्था गुथिले घरायसी जैविक फोहरबाट कम्पोष्ट मल बनाउने तालिम आज बैशाख २८ गते सम्पन्न गरेको छ ।

यस कार्यक्रमका प्रशिक्षक र काठमाडौं महानगरपालिका वातावरण विभागकी अधिकृत सानु मैया महर्जनले घरमै कम्पोष्ट बनाउन थालेको वर्षौ भइसक्यो । हाल उनले वार्षिकरुपमा १० टन फोहरलाई उनको घरको कम्पाउण्डमा ६० स्क्वाएर फिटका जग्गामा कम्पोष्ट गर्छिन र हरेक वर्ष १ टन वरावरको कम्पोष्ट मल बिक्री गर्छिन् । उनले घरको फोहर मात्र नभई तरकारी बजारबाट पनि फोहर संकलन गरी गड्यौलाको मद्दतले फोहरलाई कम्पोष्ट मलमा परिणत गर्छिन ।

उनको घरमा कम्पोष्ट मलको रेखदेख उनका ७५ वर्षिय ससुराले गर्छन् । अवकास जिवनमा पनि सक्रिय रहने मनसायले उनका ससुराले कम प्रयास र मेहनत मात्र प्रयोग गरी यस कम्पोष्ट बनाउने कार्यको रेखदेख गर्ने गरेका छन् । सानु मैयाँ महर्जनका अनुसार घरमै भएको फोहरलाई केही मात्र प्रयास र मेहनतले पनि कम्पोष्ट बनाउन सकिन्छ र राम्ररी लगनशील भएर काम गरे यसबाट मासिक रु. १७ हजार देखि रु. ३५ हजारसम्म आम्दानी गर्न सकिने जानकारी दिए ।

सानु मैयाँको घरको उदाहरणबाट गृहिणी र अवकास प्राप्त तर स्वास्थ्य र सक्रिय जेष्ठ नागरिकले आफ्नो समयको सदुपयोग गर्दै केही आर्जन गर्न सक्ने र घरको फोहर व्यवस्थापन मात्र नभई आर्थिक लाभ तथा मानसिक स्वास्थ्यमा पनि यसले सकारात्मक प्रभाव पार्ने गुथिका प्राविधिक सल्लाहकार प्रकाश अमात्यको भनाइ रहेको छ ।

तालिम कार्यक्रममा बोल्दै काठमाडौं महागरपालिका वडा नं. १९ की महिला वडा सदस्य रेनु शाहीले लकडाउनको अवस्थामा पनि समयको सदुपयोग गर्दै यो कार्यक्रम आयोजना गर्नु निक्कैै उपलव्धि पूर्ण भएको बताइन् । ‘‘हामीले प्रत्यक्ष तालिम दिँदा एक पटकमा ५० जना प्रशिक्षार्थीहरुलाई मात्र दिन सक्छौ र घर गएपछि उहाँले कति कुरा विर्सनुहुन्छ । अनलाईन तालिम दिँदा यो भिडियो फेरी हेर्न सकिन्छ ।’’ काठमाडौंको फोहर व्यवस्थापनमा आफ्नो वडाको अनुभव सुनाउँदै उनले भनिन् , ‘‘फोहर हामी आफैले सिर्जना गर्छौ । केही कुरा काम नलाग्ने वित्तिकै त्यसलाई हामी फोहरको संज्ञा दिन्छौ । यदी हामीले फोहर नभनिकन यसलाई सही सदुपयोग गर्यौ भने पक्कै पनि हाम्रो काठमाडौं सफा र सुन्दर हुन्छ ।’’

सानु मैयाँ महर्जन लगायत कौशी खेती विशेषज्ञ शेष नारायण महर्जन, रेखा महर्जन, नरेन्द्रमान् डंगोलले जुम तथा फेसबुक लाईभ मार्फत प्रत्यक्षरुपमा सहभागि हुने एक सयभन्दा बढी प्रशिक्षार्थिहरुका कम्पोष्ट मल सम्बन्धि विभिन्न जिज्ञासा र जवाफ दिएका थिए । गुथिको फेसबुक पेजमा ८ हजारभन्दा बढीले उक्त अनलाईन तालिममा सहभागिता जनाएको प्राविधिक सल्लाहकार अमात्यले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार