पछिल्लो समय कोरोना भाइरस महामारीका कारण पर्यटन व्यवसाय मारमा परेको छ । पर्यटन व्यवसायअन्तर्गतकै होटल व्यवसाय झन् गहिरो चपेटामा परेको छ । होटल एसोसिएसन नेपाल (हान)ले कम्तिमा ६ महिना होटल व्यवसाय बन्द गर्न उपर्युक्त भन्ने निर्णय गरिसकेको छ । यसै सेरोफोरोमा रहेर होटल हिमालय, कुपण्डोलका प्रबन्ध निर्देशक दिनेश तुलाधरसँग हाम्रा सहकर्मी बिगेन तुलाधरले गर्नुभएको कुराकानी :

पछिल्लो समय होटल व्यवसायको अवस्था कस्तो छ ?

पछिल्लो समय त बन्द कै अवस्था छ । होटलमात्र नभएर सारा टुरिजम उद्योग नै बन्द जस्तै छ । कुनै बेला फेरी पुरानै गतिमा फर्किन्छ भन्ने निश्चित छैन अहिले । हाम्रो एसोसियसनले त ६ महिना शुन्य कारोबार हुने भन्दै कम्तिमा ६ महिनाको अवधि होटल बन्द गर्ने निर्णय गरिसकेको छ । यो अवधिमा के गर्ने त, कामदारको बारेमा के सोच्ने त, भन्ने ठूलो प्रश्न चिन्ह खडा भएको छ । हानको मार्फत हामीले एउटा प्रपोजल पनि दिएको छौँ । त्यो प्रपोजलमा तलबको १२.५ प्रतिशत होटल संचालकहरुले श्रमिकहरुलाई उपलब्ध गराउने र सरकारको तर्फबाट पनि कोष खडा गरेर श्रमिकहरुलाई केहि योगदान गरौँ । त्यसपछि फेरी पुर्नविचार गरेर अवस्था के हुन्छ त्यसअनुसार अघि बढ्दा राम्रो हुन्छ ।

होटल व्यवसायीहरुको प्रपोजल के छ ?

अहिलेको हाम्रो निश्कर्ष भनेको ६ महिनासम्म व्यवापार हुदैन भन्ने हो । बन्दै गर्नु पर्छ भन्ने प्रपोजल छ । ६ महिनापछि कसरी चलाउने, कसरी अगाडि बढ्ने भन्ने फेरी निर्णय गर्नु पर्छ ।

सरकारबाट तपाइहरुको माग सम्बोधन हुने सम्भावना कति छ ?

सरकारसँग कुरा बाझिएको छ अहिले । सरकारको कुरा दुईवटा छ । कर्मचारीलाई हाल ननिकाल्ने र होटल पनि बन्द नगर्ने । हामीलाई पनि राम्रै चलिरहेको होटल बन्द गर्न इच्छा छैन र कर्मचारी निकाल्न पनि इच्छा छैन । त्यसको लागि बसेर सल्लाह गरौँ । यो अवस्थामा होटलबाट हाल नाफा चाहिन्छ भन्ने पनि हाम्रो चाहना होइन । तर घरसम्पति बेचेर कर्मचारीलाई तलब दिने पनि हाम्रो अवस्था रहदैन । बीचको बाटो के छ त भन्ने कुरामा बाझिएको छ । केहि दिनमा हामी कुनै निश्कर्षमा पुग्छौँ भन्ने आशा गरौँ ।

माग सम्बोधन हुने सम्भावना कम हो ?

कुरा भइरहेको छ । कुन बिन्दुमा आइपुगेर माग सम्बोधन होला भन्ने चाहिँ दुई चार दिनमा थाह होला । हालको अवस्थामा उहाँहरुले हामीले मान्दैनौँ भनिरहेको अवस्था छ, हामीले पनि यो भन्दा गर्न सकिदैन भनिरहेका छौँ । यो अवस्थामा कुनै बिन्दुमा गएर समाधान होला नि ।

कोरोना पछिको अवस्थामा होटल व्यवसाय कसरी अघि बढ्ला ?

अहिलेको अवस्थामा मसँग यसको कुनै उत्तर नै छैन । केहि सोच्न सकिरहेको छैन मैले यस विषयमा । होटल चल्ने नै मुख्य पर्यटकबाट हो । हवाइ उडानको पुनरागमनसँगै हाम्रो पनि संचालनको अवस्था निर्धारण हुन्छ । लकडाउन कुन तरिकाले खुल्छ त्यसमा पनि भरपर्छ । लकडाउन खुल्ना साथ सभा सेमिनार, पर्यटक भित्रिहाल्ने अवस्था पनि रहदैन । त्यसपछि कसरी अगाडि बढ्ने भन्ने आर्को योजना बनाउनु पर्छ ।

होटल व्यवसाय पहिलेकै अवस्थामा फर्किन केहि समय लाग्ने भएपछि, होटलका श्रमिकहरुको रोजगारीको संख्या कटौती हुने सम्भावना बढेको हो ?

कर्मचारी कटौती नगरी हालसम्म कुनै उपाय छैन । तर हालसम्म कर्मचारी कटौती नगरौ भन्ने मै छौँ हामी । तत्कालै अरु काम पाउने पनि अवस्था नरहेकाले, कम पैसामा हामी चलौँ भन्ने हाम्रो प्रस्ताव हो । होटल व्यवसाय अब तुरुन्तै चल्छ भन्ने आशाको किरण देखिएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार