‘मुलाक्रम’ अर्थात् महिलाले आफ्नो स्तन छोपे वापत तिर्नु पर्ने कर । भारतको केरेला राज्यमा कुनै समय दलित समुदायका महिलाका लागि यस्तो कानुन बनाइएको थियो । कथित तल्लो जातका महिलाले आफ्नो स्तन छोप्न पाउँदैनथे । कसैले छोप्यो भने त्यसलाई गैरकानुनी मानिन्थ्यो र सजाय स्वरुप स्तनको आकार र तौल अनुसार कर तिर्नु पर्थ्यो । यो नियम धर्म र जातका आधारमा कथित मल्लो जातका मान्छेहरुले बनाएका थिए । कथित तल्लो जातका मान्छेसँग कर तिर्नका लागि पैसा नभएकै कारण उनीहरु आफ्नो स्तन देखाएर हिड्न अभिशप्त थिए ।

तर त्यही गाउँमा बस्ने नांगेलीलाई स्तन खोलेरै हिड्नु परेकोमा धेरै संकोच लाग्थ्यो । आफ्ना स्तनलाई हेरेर कसैले र्‍याल काढिरहेको देख्दा उसलाई असह्य हुन्थ्यो । कसैले क्वारक्वारर्ती आफ्नो नग्न देहमा हेर्दा उसलाई मरेतुल्य लाग्थ्यो । त्यसो त त्यस ठाउँका अरु महिलालाई पनि कसैले घुरेर हेर्दा निको लाग्ने भने होइन । उनीहरुमा पनि विद्रोहको ज्वाला सल्किन्थ्यो । तर, आफुहरु अल्पमतमा भएकाले उनीहरु केही गर्न सक्दैन्थे ।

त्यस्तैमा नांगेली भने राज्यमा प्रचलित कानुन विपरित जाने बारे सोंच्छे। आफ्नो स्तन नदेखाउने र कसैले किन देखाइनस् भनेर सोध्यो भने विद्रोह गर्ने गर्ने दृढ मनसाय बनाउँछे । उसले आफ्नो अठोट सुरुमा आफ्नी सहेलीलाई सुनाउँछे । तर उसकी सहेली उसका कुरामा सहमत हुँदिन ।भन्छे, ‘नांगेली तिमीलाई राम्रोसँग थाहा छ, हामीले आवाज उठाए पनि केही हुने वाला छैन । यिनीहरुले हाम्रो आवाज वर्षौदेखि दबाउँदै आइरहेका छन् । हाम्रो कुरा कसैले सुन्दैन । हामीसँग चुप लाग्नु र सहनुको विकल्प छैन ।’

‘यदि माल्ला जातका महिलाहरुलाई आफ्नो छाति छोप्न पाउने अधिकार छ भने हामीलाई किन छैन? उनीहरुले आफ्नो छाति छोपे वापत मुलाक्रम तिर्नु पर्दैन भने हामीले मात्रै किन तिर्नु पर्ने ? के हामी मान्छे होइनौँ? के हामी नारी होइनौं? हामी पनि मान्छे हौँ। हामीलाई पनि अरु सरह जिउने अधिकार छ ।’ पत्युत्तरमा नांगेली भन्छे। थप्छे, ‘जीवन जिउने दुई तरिका हुन्छन् । एक, जे भइरहेको छ त्यहि रहन देऊ, चुपचाप त्यसलाई सहन गर । दोस्रो, जे भइरहेको छ त्यसलाई बदल्ने जिम्मेवारी उठाऊ । म दोस्रो तरिकाले जीवन जिउन चाहन्छु ।’

नांगेलीले यो कुरा राति आफ्नो श्रीमानलाई पनि सुनाउँछे ।

‘उनीहरु मलाई जस्तो नजरले हेर्छन्, त्यो देख्दा मलाई आफैँसँग घृणा लाग्छ । यस्तो लाग्छ मानौं, मलाई उनीहरु हरेक दिन आफ्ना आँखाले बलात्कार गरिरहेका छन् ।’

उसको श्रीमान सुरुमा त केही हच्किन्छ, तर नांगेलीको आँखामा विद्रोहको यति भयंकर ज्वालो देख्छ कि उसले आफ्नी श्रीमतीको अठोटमा साथ दिन्छ ।

उसले नांगेलीलाई भन्छ, ‘तिमीले लड्न गइरहेको लडाई कठिन छ, तर असम्भव छैन । नांगेली तिमी आवाज उठाऊ । तिमीले आवाज उठाएपछि त्यो आवाज बिस्तारै ठूलो हुँदै जानेछ ।’

श्रीमानको पनि साथ पाएपछि उसको मनोबल झनै बढ्छ । त्यसको अर्को दिन बिहान ऊ आफ्नी सहेलीसँग दाउरा खोज्न जान्छे, आफ्ना स्तन छोपेरै । दाउरा खोजेर फर्किदै गर्दा सेतो बस्त्र धारण गरेका दुई जना कथित मल्लो जातका ब्राह्मणले उनीहरुको बाटो छेक्छन् र नांगेलीलाई एउटाले सोध्दछ, ‘तँलाई थाहा छैन निच जातको महिला भएर स्तन छोप्नु गैरकानुनी हो भनेर?’ उसले हप्काएर स्तन देखाउन निर्देशन दिन्छ ।

नांगेली आफ्नो अठोटबाट किञ्चित पछि हट्दिन । उसले कपडा लगाउन पाउनु आफ्नो अधिकार हो भनेर त्यो मान्छेसँग प्रतिवाद गर्छे । तर, त्यो मान्छेले उसको कुरा सुन्दैन, उसलाई हातपात गर्न खोज्छ । नांगेलीले त्यसको प्रतिकार गर्छे र उसको अनुहारमा थुकेर जान्छे ।

आफ्नो अनुहारमा एउटी निच जातकी महिलाले थुक्दा ब्राह्मणको अहंमा चोट पुग्छ । उसलाई सहिनसक्नु हुन्छ र गाउँको मुखियालाई लिएर त्यही रात नांगेलीको घरमा पुग्छ ।

मुखियाले स्तन छोप्नु गैरकानुनी भएको भन्दै आइन्दा यस्तो नगर्न र गरेको भेटिए मुलाक्रम तिर्नु पर्ने भनेर आफ्नो निर्णय सुनाउँछु । नांगेलीलाई मुखियाको निर्णय स्वीकार्य हुँदैन । उसले विद्रोह गर्ने अठोट गर्दा नै स्तन पनि छोप्ने र कर पनि नतिर्ने भन्ने सोच बनाएकी हुन्छे । तर उनीहरुसँग कर तिर्नुको विकल्प हुँदैन। उनीहरु निमुखा र कमजोर जो हुन्छन् ।

मन नहुँदा नहुँदै पनि मुखियासँग एक महिनापछि मुलाक्रम तिर्न सहमत हुन्छे । उसले एक महिनासम्म स्तन छोप्छे, महिनै पिच्छे कर तिर्ने सहमतिमा ।

एक महिनापछि एका बिहानै कर उठाउन मुखिया नांगेलीको घरमा आइपुग्छ । त्यसबखत उसको श्रीमान घरमा हुँदैन । मुखियाले करको रकम तय गर्न मुखबाट र्याल काढ्दै उसको स्तन छुन्छ र करको निर्धारण गर्छ ।

मुखियालाई एकैछिन कुर्न भन्दै नांगेली घरभित्र पस्छे । उसले हातमा हसिया लिन्छे र आफ्ना दुवै स्तन काटेर एउटा पातमा राख्छे। बाहिर निस्किएर मुखियातर्फ पात अगाडि बढाउँदै पीडा मिश्रित स्वरमा बोल्छे, ‘लिनुस् मेरा दुवै स्तनहरु । स्तनै नरहेपछि कर तिर्नु पर्दैन होला नि अब ।’

छातीबाट रगतको धारो बगाउँदै आलो घाउ लिएर निस्किएकी नांगेलीलाई देखेर मुखिया र ब्राह्मणहरु डराउँदै भाग्छन् । यता नांगेली भने स्तन काटिएको पिडा सहन नसकेर मर्छे । नांगेलीले यसो गर्ली भनेर उसको श्रीमानले कल्पनासमेत गरेको हुँदैन । ऊ त जसरी हुन्छ करका लागि पैसा कमाउनु पर्छ भन्नेतिर लागिरहेको हुन्छ ।

घरमा आउँदा प्राणभन्दा प्यारी श्रीमतीको लास आफ्नै आँखा अगाडि देखेर ऊ विक्षिप्त हुन्छ । नांगेलीसँग गरेको बाचा उसलाई आँखै अगाडि झल्झलि याद आउँछ । श्रीमतीका अठोटहरु र साथ दिने उसको बाचा सबै उसले स्मरण गर्छ र झनझन दुखी हुँदै जान्छ ।

छिमेकीले नांगेलीको शवलाई दहासंस्कारका लागि घाटमा लैजान्छन् । श्रीमानले शवमा आगो लगाउँछ । आफ्नी श्रीममीलाई आफ्नै आँखा अघि जलेको देख्दा उसलाई सहनै नसक्ने पीडा हुन्छ । सँगै बिताएका समयहरु याद आउँछन्। उसलाई साथ दिन्छु भनी गरेको बाचा याद आउँछ । उसलाई अब बाँच्नुको कुनै अर्थ छैन भन्ने वैराग पलाउँछ र त्यही आगोमा आफुलाई दहन गर्छ । भनौं, नांगेलीले सुरु गरेको आन्दोलनलाई निरन्तरता दिन उसले आफ्नो पनि अग्निदाह गर्छ ।

भनिन्छ, आफ्नी श्रीमतीको मृत्युमा सति जाने उ पहिलो पुरुष हो रे ।

त्यसपछि बिस्तारै त्यो आन्दोलन र विद्रोहको आगो फैलिदैँ जान्छ र केही समयपछि त्यो डढेलो नै बन्छ । कथित तल्लो जातका सबै मान्छेले खुलेर मुलाक्रमको विरोध गर्न थालेपछि त्यो प्रदेशका राजालाई ठुलै दवाव पर्छ र अन्ततः त्यो नियम खारेज गरिन्छ ।

यसरी अन्याय र असमानताका विरुद्ध ज्यानको बाजि लगाएकी नांगेलीको कारुणिक यथार्थ आधुनिक इतिहासमा भने गुमनाम छ। चाहे अस्तित्व नै दाउमा राखेर किन नहोस्, नांगेलीले परिवर्तनका लागि जुटाएको सहास आफैमा उदाहरणीय छ। नांगेलीले सहेलीका कुरा सुनेर दमन सहनु नै आफ्नो नियती भएको स्विकार गर्दी हो त उक्त स्थानमा आज पर्यन्त स्त्रीहरु निर्वस्त्र हिँड्न बाध्य पारिन्थे कि?

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार