कपिलवस्तु – भारतसँग सीमा जोडिएको कपिलवस्तुमा सोमबार बिहानसम्म १५ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भएको छ । जिल्लामा भारतबाट आएका दुई सय जनाको थ्रोट स्वाब संकलन गरिएको छ तर रिपोर्ट आउन बाँकी छ ।

कोभिड–१९ को संक्रमण पुष्टि भएका सबै लकडाउनको समयमा लुकिछिपी नेपाल प्रवेश गरेका थिए ।

भारतले लकडाउन खुकुलो बनाएसँगै रोजगारीका लागि भारतमा रहेका नेपालीहरू स्वदेश आउने क्रम जारी छ । एक साताअघि भारतबाट आएका नौ सय ४३ जनालाई जिल्लाका १० वटा स्थानीय तहले बनाएको क्वारेन्टाइनमा राखिएको छ । क्वारेन्टाइनमा राखिएकामध्ये चार सय ४३ जनाको स्वाब संकलन गरिएको थियो । उनीहरूमध्ये दुई सय ४४ जनाको रिर्पोट आउँदा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अब एक सय ९९ जनाको रिर्पोट आउन बाँकी छ ।

यस्तै, अहिले पनि कपिलवस्तु र भारतको सीमा क्षेत्रमा २१ सय बढी नेपाली रोकिएका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका अनुसार शनिबार १३५५ जना जम्मा भएका थिए । सोमबार बिहानसम्म यो संख्या बढेर दुई हजार एक सय ३७ पुगेका छन् । अहिले कृष्णनगरमा चार सय ३०, भील्मी–कुशहवामा चार सय ८९, हरदौना तीन सय ८, मर्यादपुर चार सय ९३, चाकरचौडमा दुई सय १९, हथिहवामा एक सय ६, विजयनगर ९२ जना दशगजामा छन् ।

उनीहरूलाई स्थानीय तहले सीमा नाकामै खानपिनको व्यवस्था गरेको छ तर नेपाल आउन दिइएको छैन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार