यूएई – संयुक्त अरब एमिरेट्स यूएईको दुबईमा कामदारहरुबीच झडप भएको छ ।

नेपाल फर्कन विमानस्थल पुगेका र फर्कन नपाएर दुबईमै अड्किएका नेपाली कामदार आक्रोशमा आएर झडपमा उत्रिएका हुन् ।

दुबईको जबिलआलीमा रहेको फ्लेक्स म्यानेजमेन्ट कम्पनीमा रहेका नेपाली तथा बंगलादेशी कामदारबीच झडप भएको हो । झडपमा केही नेपाली घाइते भएका छन । घाइतेमध्येका एक नेपालीको टाउको तथा शरीरमा चोट लागेको छ भने अन्य केही नेपालीको शरीरमा नीलडाम बसेको छ ।

नेपाल फर्किन नपाएको आक्रोशमा त्यस कम्पनीमा कामदारले पहिलेदेखिनै समस्या सिर्जना गर्दै आएको कम्पनीले जनाएको छ । कम्पनीले काम नहुँदा समस्यामा पर्ने भन्दै केही कामदारको भिसा रद्द गरेर नेपाल पठाउन विमानस्थल सम्म पठाएको थियो । तीनै कामदार नेपाल जान नपाउँदा थप आक्रोशिट हुने, डिप्रेसनमा जाने तथा जाँड रक्सी खाएर समस्या सिर्जना गर्दै आएको कम्पनीको भनाइ छ ।

दुई दिन पहिले जाँड रक्सी खाएर नेपाली कामदरको समूहले बंगलादेशी कामदारलाई हातपात गर्दै गेटपालेलाई कुटेका थिए । मंगलबार राति केही नेपाली युवाहरु कोठामै बसेर लुडो खेलिरहँदा होहल्ला गरेको भन्दै बंगलादेशी कामदारले नेपाली कामदारलाई कुटपिट गरेपछि झडप भएको हो ।

कुटपिटमा संलग्नलाई प्रहरीले नियन्त्रणमा लिएको छ भने पिटिएका नेपालीले उपचार गरिदिए बंगलादेशी कामदारलाई माफ दिन प्रहरीलाई अनुरोध गरेका छन् । क्याम्पमा रहेका अन्य केही नेपालीलाई बंगलादेशी कामदारले पाइपले कुटेकोले शरीरमा सुम्ला उठेको, नीलडाम बसेको पीडितहरुले बताएका छन् ।

दुबई प्रहरीले वर्तमान समयमा संयमित हुन भन्दै घटना दोहोरिए कडा कारबाही गर्ने चेतावनी दिएको छ ।

झडप भएको मजदुर शिविरमा झन्डै ३ सय धेरै नेपाली कामदर बस्दै आएका छन् । त्यस कम्पनीमा समस्यामा परेका नेपालीलाई एनआरएन यूएई नेपाली समाज अन्तरगतका संघसस्थाहरुले राहत दिँदै आएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार