कोरोना भाइरसका कारण शैक्षिक क्षेत्र चपेटामा परेको मध्य एक क्षेत्र हो । कोरोना नियन्त्रण गाह्रो हुदै गएको र लकडाउन पनि थपिरहनु पर्ने अवस्थामा अब शैक्षिक पात्रोलाई कसरी व्यवस्थित गरेर अगाडि बढ्ने भन्ने विषय पनि सम्पूर्णसम्बन्धित सरोकारवाला निकायलाई टाउको दुखाइको विषय बनिरहेको छ । शिक्षण संस्थाको पछिल्लो अवस्था, अभिभावकीय भुमिका, शैक्षिक पात्रो तथा भावी रणनीतिलाई लिएर काठमाडौँ बर्नहार्ट स्कुल तथा कलेजका प्रध्यानाध्यापक नवराज अधिकारीसँग बिगेन तुलाधरले गर्नुभएको कुराकानी :

कोरोनाको कारण शैक्षिक माहोल पनि निकै बिथोलिएको देखिन्छ । पछिल्लो अवस्था के छ, कस्तो छ ?

संसार नै कोरोना महामारीको अवस्थामा गुज्रिरहेको बेला हाम्रो देश पनि अछुतो रहने कुरै भएन । शैक्षिक संस्था, कलकारखाना सबै नै प्रभावित रहेको अवस्था छ । शैक्षिक संस्थाको क्यालेण्डरलाई केहि अपडेट गर्न सकियो भने बिद्यार्थीहरुको सिकाइलाई प्रत्यक्ष प्रभाव पार्दैन । लकडाउन धेरै नै समय लम्बिने अवस्था रहयो भने केहि विकल्प खोजिनु पर्छ ।

लकडाउन खुलेपछि पनि सार्वजनीक सवारी साधन र शिक्षण संस्था सबैभन्दा पछि खोलिने कुरा छ । यसले त झन् शैक्षिक क्यालेण्डरलाई प्रभावित गर्छ होला नि ?

हालको समस्या हाम्रो देशले आफै उत्पन्न गरेको समस्या त होइन । यो त एउटा प्राकृतिक घटना हो । सरकारले शिक्षण संस्था खोल भने पनि बिद्यार्थी स्कुल आउने अवस्था त छैन । महामारीको अवस्थामा शिक्षा प्राथमिक वस्तुमा पर्दैन पनि । बाहिरका मुलुकहरुमा जुन अवस्था छ, त्यसको अगाडि नेपालमा त केहि भएकै छैन । हाम्रा चाडपर्वका विदा, अरु अन्य विदाहरु काटेर पनि क्यालेण्डर सन्तुलन गर्न सकिन्छ । पहिले बाच्नु पर्यो, सुरक्षित हुनु पर्यो । महामारीको अवस्थामा पहिलो प्राथमिक्ता स्वास्थ, सुरक्षालाई दिनु पर्यो । पढाइ त त्यो पछि छदै छ नि ।

अनलाइन कक्षा संचालनको लहर चलिरहेको छ । यसको विश्वस्नियता, प्रभावकारिता कस्तो छ ?

कक्षा कोठामा प्रत्यक्ष बिद्यार्थीलाई कक्षा कोठामा अध्यापन गराएको जस्तो त हुदैन यो । तर ‘आउट अफ बक्स’ जाउ न त भनेर गरिएको प्रयास हो । कक्षा कोठाभित्रको पढाइ मात्र पढाइ हो त । प्रत्यक्ष त भएन तर अन्तर्कृया त हुन्छ नि । अप्रत्यक्ष भए पनि बिद्यार्थीको सिकाइमा कमी भने आउदैन ।

इन्टरनेट, कम्प्युटर घरमा नहुने अभिभावकको बच्चा त पढाइबाट बन्चित हुने अवस्था रहयो नि अनलाइन कक्षाले ?

केही अभिभावकसँग यो कुरा छैन होला भनेर प्रविधिको प्रयोग गरेर कक्षा संचालन नगर्ने कुरा पनि भएन । जस्तै : महामारीमा सरकारले सबैलाई घरमै बस भनिरहेको छ, हामी बसिरहेका पनि छौँ नि त । कोहि यस्ता छन् जसको घरमा बस्ने अवस्था पनि अवस्था पनि छैन । उसलाई पनि घर बस्ने मन त थियो होला तर बाध्य भएर कामको लागि घर बाहिर निस्किनु पर्छ । त्यस्तै नै हो, हामीले पनि बिद्यार्थीलाई केहि नदिएर त्यसै बस्दिने त । यसै बस्यो भने पनि अरुले गर्यो यसले गरेन भन्ने कुराहरु आउछ ।

बर्नहार्टले के गरीरहेको छ ?

हामीले पनि अनलाइन क्लास सुरु गरिसक्यौँ । छुट्टै इ-लर्निङ्ग पोर्टल बनाएर अनलाइन क्लास चलिरहेको छ । गृहकार्य र पढाइका सामग्री हाम्रो पोर्टलमै उपलब्ध हुन्छ । जुनसुकै बेला पोर्टलमा गएर आफ्नो सामग्री लिन सकिने व्यवस्था गरेका छौँ । जसले गर्दा ठ्याक्कै भनेकै समयमा उपलब्ध हुनु परेन, आफ्नो अनुकुल समयमा सामग्री लिन र बुझाउन सकियो । बिद्यार्थी र अभिभावकको सहकार्यमा अनलाइन क्लास सुरु गर्यौ, प्रतिकृया पनि एकदम राम्रो आइरहेको छ ।

यो अनलाइन क्लासको शुल्क कुन आधारमा लिनुहुन्छ ?

विभिन्न संचारमाध्यममा स्कुलले पैसा लिने बाहानामा अनलाइन क्लास संचालन गरेको समाचारहरु आइरहेको छन् । मैले त्यो बारेमा सोचेकै थिएन । अनलाइन क्लासले एउटा बिद्यार्थी कम्तिमा ४ घण्टा व्यस्त हुदो रहेछ । यो नितान्त शिक्षकहरुको आफ्नो कर्तब्य हो । शिक्षक साधरण हुदैनन् भनेजस्तै यो पनि शिक्षकहरुकै अग्रसर्तामा सुरुभएको हो ।  मलाई कुनै पनि बिद्यालयले अनलाइन क्लास संचालन गरेर पैसा लिन्छ होला जस्तो लाग्दैन ।

लकडाउनका घरमै समय बिताइरहेका बिद्यार्थीका अभिभावकहरुको कस्तो भुमिका हुन्छ ?

हालको अवस्थामा मात्र नभएर सधैको अवस्थामा अभिभावकको भुमिका ठूलो हुन्छ । अहिले त हाम्रो बिद्यार्थी उहाँहरुको काखमा छन् । हाम्रो बिद्यार्थीको एकदम राम्रो ख्याल गर्नुस है भनेर अनुरोध गछौँ । स्वास्थ, सुरक्षा, खानपान र अनुशासनका कुराहरुमा ध्यान दिनु पर्छ । स्कुलले पठाएका पढाइका सामग्रीका निम्ति सहजिकरण गरिदिनु पर्छ । यो बिद्यार्थीले आफ्नो अभिभावकको बारेमा बुझ्ने र अभिभावकले आफ्नो बच्चाको बारेमा बुझ्ने समय पनि हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार