काठमाडौँ – नक्कली प्रेस कार्ड बोकेर चोरी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

मंगलबार महानगरीय अपराध महाशाखा र प्रहरी वृत्त गौशालाबाट खटेको टोलीले दुई जनालाई प्रेस कार्ड तथा चोरीका सामान सहित पक्राउ गरेको हो।

प्रहरीले सुनसरी ईटहरी उपमहानगरपालिका १४ घर भई काठमाडौंको धुम्बाराही बस्ने २१ वर्षीय आश्रय रिजाल हिमाल र बारा बड्की फुलबारी गाउँपालिका ३ घर भइ काठमाडौं ओमबहाल बस्ने २८ वर्षीय अलि आलम मियालाई पक्राउ गरेको हो।

गत चैत तीन गते काठमाडौं महानगरपालिका-९ सिनामंगलस्थित एरिर ५१ बोइज होस्टलबाट विभिन्न समयमा चार थान ल्यापटप चोरी भएको थियो। साथै चैत्र २४ गते ७ चाबहिल भत्केको पुल स्थित डा. सुबिन मानन्धरको ल्यापटप र आइप्याड चोरी भएको थियो।

अनुसन्धानको क्रममा प्रहरीले सिसिटीभी फुटेजको अध्ययन गरी चोरी गर्न प्रयोग भएको एभेन्जर मोटरसाइकललाई रोकी सोधपुछ गरेको थियो।

सोधपुछ गर्ने क्रममा चोरीमा संलग्न व्यक्तिहरुबाट प्रहरीबाट उम्कन प्रेसकार्ड देखाएको खुलेको हो। उनीहरूको झोला चेक गर्दा चोरी गरेका विभिन्न ब्राण्डका ल्यापटप, क्यामेरा, ५३ हजार नगद, तीन सय अमेरिकन डलर, दुई सय चाईनिज युयान र हतियार समेत फेला पारेको थियो।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार