सुर्खेत – कर्णाली प्रदेशको प्रमुख प्रवेशद्वार भेरीगङ्गा नगरपालिका-५ बबईमा एक हजार २०७ नागरिक आइपुगेका छन् ।भारतका विभिन्न ठाउँबाट नेपालगञ्ज जमुनाह तथा पश्चिम गड्डाचौकी नाका हुँदै बिहीबार मात्र उनीहरु सो स्थानमा आइपुगेका हुन् ।

प्रवेशद्वारमा आइपुग्ने सबै कर्णालीवासी नागरिक रहेको कर्णाली प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले जानकारी दिए । उनका अनुसार दैलेखका ५००, सुर्खेतका ३२०, सल्यानका २६६, जाजरकोटका ७७ र कालीकोटका ४४ नागरिक रहेको छन् ।

उनले भारतबाट सयौँको सङ्ख्यामा कर्णालीवासी नागरिक भित्रिदै गरेकोले प्रदेश सरकारले सबैको आरडीटी गर्ने भन्दै स्थानीय सरकारसहित नागरिक सबैलाई उच्च सतर्कताका अपनाएर आफ्नो दायित्व पूरा गर्न अनुरोध गरे ।

उनले भने, ‘यतिमात्र होइन भारतबाट आउने सङ्ख्या दिनप्रतिदिन बढिरहेको छ । नागरिकको स्वास्थ्य र सुरक्षामा सरकार संवेदनशील भएर लागेको छ । सीमामा आरडीटी भएकाले पनि जिल्लामा अनिवार्य क्वारेन्टिनमा बस्ने गरिएको छ ।’

प्रदेश सरकारले तत्काल आरडीटीका लागि आवश्यक किटसहित स्वास्थ्य जनशक्ति त्यहाँ पुगेको सामजिक विकासमन्त्री दल रावलले जानकारी दिए । ‘त्यहाँ पुगेका सबैको आरडिटी परीक्षण गर्छौँ र पोजेटिभ देखिएमा प्रदेशको क्वारेन्टिनमा राख्छौँ । उनीहरुको पिसीआर गरेर सङ्क्रमण देखिएमा आइसोलेसनको पनि तयारी भइरहेको छ’, उनले भने ।

स्वास्थ्य सेवा कार्यालयका प्रमुख चेतननिधि वाग्लेले अहिले तत्काल ७०० किटसहित १६ जना आरडीटीका लागि कर्मचारी त्यहाँ परिचालन भएको बताए । आवश्यकतामा अन्य थप किट पठाउने र परीक्षणकार्यलाई तीव्र बनाउने उहाँले जनाए ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक वसन्तकुमार पन्तले भारतबाट आउने नागरिकको शान्ति सुरक्षार्थ प्रहरी तयारी अवस्थामा राखिएको जानकारी दिए । केही जनशक्ति सीमा निर्वाध रहेको र केही जनशक्ति यहाँबाट पठाइएको उनले बताए । यो डेढ साताभित्र प्रदेशमा १५-२० हजार नागरिक भित्रिसकेको अनुमान छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार