कोरोनाको महामारीका कारण देश पछिल्लो दुई महिनादेखि बन्दाबन्दीको अवस्थामा छ । यस परिस्थितीमा स्थानीय निकायको भुमिका निकै महत्वपुर्ण रहन्छ । त्यसमा पनि सबैभन्दा बढी जनघनत्व र राजनीतिक दृष्टिकोणले महत्वपुर्ण मानिने स्थानीय निकाय हो काठमाडौँ महानगरपालिका । विदेशमा रहेका नेपालीलाई भित्राउने तयारी, कोरोना रोकथामको तयारी, क्वारेन्टिन निर्माणको तयारी, राहत वितरण र बजेटको तयारीका बारेमा काठमाडौँ महानगरका प्रवक्ता ईश्वर मान डंगोलसँग सहकर्मी बिगेन तुलाधरले गर्नुभएको कुराकानी :

महानगरको प्रवक्ताको नाताले, पछिल्लो समय व्यस्तता के मा छ ?

पछिल्लो समय अरु कार्य भन्दा पनि कोभिड १९ कै विषयमा बढि व्यस्तता छ । राहात वितरण गर्ने, बाहिरी जिल्लाबाट काठमाडौँ भित्रिएका मानिसहरुको व्यवस्थापन, कोरोना टेष्ट गराउने, जनमानसमा रहेको कोरोनाको त्रास हटाउने प्रयास मै बढी व्यवस्त भइरहेका छौँ ।

राहत वितरण गर्न महानगर हतारिएको जस्तो देखिन्छ नि । राहत वितरण चाडो भएन र ?

गृह मन्त्रालयले मापदण्ड बनाइ राहत वितरण गर्ने निर्णय गरेर स्थानीय निकायलाई पत्राचार गर्यो । त्यसपश्चात महानगरको बैठक बसेर एउटा मापदण्ड बनायो । विपन्न, असाहाय, दैनिक ज्याला मजदुरी गर्नेहरुलाई राहत वितरण गर्ने निर्णय गर्यो । दैनिक ज्याला मजदुरी गर्नेहरु लकडाउनका कारण भोकभोकै रहने भयो भन्ने कुरा जनस्तरबाट नै आयो । त्यो समयमा राहत आवश्यक नै थियो ।

वडाध्यक्षहरु नै असन्तुष्ट रहे पर्याप्त राहत महानगरले नदिएको भनेर । भाडामा बस्नेहरुको लागि मात्र राहत वितरण गर्यो भनेर स्थानीय नै असन्तुष्ट रहे । तपाईलाई के लाग्छ राहत वितरण कतिको सहि तरिकाबाट भयो ?

असाहाय, अति विपन्न, दैनिक ज्याला मजदुरी गर्नेहरुको लागि मानवीय उत्थान गर्न राहत वितरण ल्याएको हो । सबैको लागि राहत ल्याएको हुदै होइन । घर भाडामा बस्नेहरुको लागि मात्र हो घरधनीको लागि होइन भन्ने पनि कुरा आयो । वास्तम्व त्यस्तो होइन । घर नहुने हुने भन्दा पनि अप्ठ्यारोमा परेका लागि हो राहत । स्थानीयलाई पनि चाहिन्छ भने लिनुहोस भनेर राहत वितरण गरिएको हो ।

राहत वितरण गर्दा कति बजेट सकियो, वडाहरुलाई कुन आधारमा बजेट बिनियोजन गरियो ?

३२ वटा वडामा राहत वितरणको लागि ५ करोड ६४ लाख जति खर्च भएको देखिन्छ । त्यसबाट २ लाख ५० हजार परिवारलाई राहत वितरण गरेको देखिन्छ । भौगोलिक, सामाजिक, आर्थिक र विभिन्न पाटो हेरेर वडालाई सानो, मझौला र ठूलोमा वर्गिकरण गरी त्यसै अनुरुप बजेट बिनियोजन गरिएको छ ।

राहत वितरणको लागि महानगरले बिनियोजन गरेको बजेट पुगेन भन्ने वडाध्यक्षहरुलाई कसरी सम्बोधन गर्नुहुन्छ ?

होइन, यसमा सम्बोधन भएको छ । यदि महानगरले बिनियोजित गरेको रकममा अपुग भयो भने खर्चको हर-हिसाब ल्याउनुहोस, तिर्नु पर्ने बक्यौदा रकम छ भने हामी तिर्छौ भनेकै छ । एउटा मापदण्ड अनुसार बजेट पठायो, त्यो मापदण्डले वितरणमा अपुग भयो भने हिसाब पठाउनुस, महानगरले हिसाब दिन्छु भनेकै छ । त्यसमा अन्यथा मान्नु पर्ने जरुरत छैन ।

संक्रमण र लकडाउन संगसँगै बढिरहेको छ, अब आगामी राहत वितरणले कस्तो स्वरुप लिन्छ ?

हामीले एक चरण सामाग्री बितरण पनि गर्यौ, दोस्रो चरणमा वडा वडामा खाना खुवाएर राहत दियौँ । सामाग्री बितरणमा जरुरत नभएकाले पनि राहत लिए भन्ने गुनासो आयो तर खाना खुवाउदा त्यो कम भयो । अप्ठ्यारो परेकाहरु मात्र खाना खान आए । अबको चरणमा राहत बितरणलाई श्रममा परिणत गरेको छौँ ।

सरकारले होटल पार्टी प्यालेसहरुलाई क्वारेन्टिन बनाउने भनिरहेको छ । महानगरको पनि यहि योजना हो ?

होइन, हाल धेरै अस्पतालहरु बन्द जस्तै रहेको अवस्था छ । अस्पताहरुलाई नै क्वारेन्टिन बनाउनु पर्छ भन्ने हाम्रो धारणा हो । अस्पतालमै क्वारेन्टिनमा बस्छ, आइसोलेसन वार्ड पनि त्यहि हुन्छ र चाहिएको खण्डमा आइसीयू वार्ड पनि त्यहि हुन्छ । स्थान परिवर्तन गरिराख्नु पर्ने अवस्था रहदैन । अस्पतालपछि चाहिएको खण्डमा होटललाई प्रयोग गर्न सकिन्छ ।

केन्द्र सरकार पनि बजेटको चटारोमा छ । महानगर पनि तयारी गर्दै होला । आगामी आर्थिक वर्षको बजेट कस्तो बनाउने तयारी छ ?

बोरोजगारी समस्या कसरी घटाउने । अब त झन् बरोजगारको संख्या बढ्छ । बजेट बनाउदा श्रममा आधारित कार्यक्रमलाई महत्व दिनुपर्छ अब । पहिले हामीले २५ प्रतिशत श्रम ७५ प्रतिशत मेशिनरी औजारमा खर्च गथ्र्यो भने अब ४० प्रतिशत मेशिनरी औजारमा खर्च गरेर ६० प्रतिशत श्रममा खर्च गर्नु पर्छ ।

लकडाउनपछिको समाजिक जनजीवन, आर्थिक गतिसिलताहरु व्यवस्थित गर्न महानगर कति सक्षम छ ?

युवा, वालवालिका, वृद्ध सबै कोरोनाको कारण त्रासमा छन् । खुसीयाली छैन कतै । उहाँहरुलाई खुसी तुल्याउने आधार र जीवन बाच्ने आधार महानगरले व्यवस्थापन गर्नुपर्छ । बालक देखि वृद्धसम्मको कार्यक्रमहरु ल्याउनु पर्छ । मनोसामाजिक कार्यक्रमहरु ल्याउनु पर्यो, व्यवसायका तालिमहरुका कुराहरु ल्याउनु पर्यो, खुसी बनाउने कुराहरु ल्याउनु पर्यो, खेल्ने ठाउको विकाश गर्नु पर्यो । यस्ता कार्यक्रमहरु महानगरले फोकस गरेर ल्याउछ । नकारात्मक सोच हटाएर सकारात्मक सोच ल्याउने खालको कार्यक्रमहरु महानगरले ल्याउछ ।

काठमाडौँ महानगर जात्रा-पर्वको धनी शहर पनि हो । हाल जात्रा-पर्वहरु रोकिइरहेको अवस्थामा लकडाउनपछि जात्रा पर्वहरु सुचारु हुन्छ कि हुदैन ?

जात्रा-पर्व त अहिले पनि भइरहेको छ । ‘काठमाडौँ महानगर, सास्कृतिक शहर’ त हाम्रो नारा नै छ । हाल सिमित व्यक्तिले मात्र गरिरहेका छन् भने विस्तारै त्यो व्यापक पनि हुदै जान्छ । कोरोना आयो भन्दैमा हाम्रो संस्कृती सम्पदा रोक्ने कुरा नै आउदैन । अझ व्यवस्थित कसरी गराउने भन्ने अवस्था चाहि छ । जात्रा पर्व चलाउनु पर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार