काठमाडौं – सरकारले बिहीबार सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयनपछि हवाई भाडा सस्तिने भएको छ ।

सरकारले आन्तरिक हवाई इन्धनमा लाग्दै आएको पूर्वाधार करमा छुट घोषणा गरेको छ । हवाई इन्धनमा पूर्वाधार करवापत नेपाल आयल निगमले प्रतिलिटर १० रुपैयाँ कर लिँदै आएको थियो ।

उक्त करमा छुट भएसँगै अब हवाई इन्धनको मूल्य उल्लेख्य घट्नेछ ।

अर्थमन्त्री डा. युवराज खतिवडाले बिहीबार सार्वजनिक गरेको बजेटमा नेपाली वायुसेवा कम्पनीका लागि हवाई इन्धनमा लाग्ने पूर्वाधार करमा छुट दिने उल्लेख छ ।

यसबाहेक लकडाउन र उडान प्रतिबन्धका कारण विमानस्थलमा ग्राउण्डेड भएका हवाई कम्पनीले अब पार्किङ शुल्क, वायुसेवा सन्चालन अनुमति नवीकरण दस्तुर, उडान योग्यता प्रमाणपत्र दस्तुरमा समेत छुट दिने घोषणा भएको छ ।

वायुसेवा सन्चालक संघका अनुसार हवाई कम्पनीको सन्चालन खर्चमा ३५–४० प्रतिशत हिस्सा इन्धनको मूल्यमा हुन्छ । नेपालमा हवाई इन्धनको मूल्यमा न्यूनतम ४ रुपैयाँ थपघट हुनासाथ हवाई भाडामा परिवर्तन हुने गर्छ ।

सरकारले ११ चैतमा लकडाउन शुरु गरेसँगै अहिले अधिकांश वायुसेवा कम्पनीका जहाज ग्राउन्डेड छन् । त्यसयता हवाई कम्पनीले मात्र २० अर्बभन्दा माथिको नोक्सानी व्यहोर्ने अनुमान कम्पनीहरुले गरेका छन् । किनकी कोरोना प्रभाव तत्काल सकिने सम्भावना देखिएको छैन ।

त्यसमाथि लकडाउन खुल्दा पनि तत्काल अन्तर्राष्ट्रिय पर्यटक आउने सम्भावना छैन । विदेशी पर्यटक नआउँदा वायुसेवा कम्पनीको आम्दानी आधा कम हुन्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार