कोभिड–१९ को महामारीका कारण विश्व अहिले ठप्प प्रायः छ । ज्यानमारा भाइरसका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको छ । यसको उत्पत्तिस्रोत र प्रकृतिलाई वैज्ञानिक जगतले अझै ठम्याउन सकेको छैन तरपनि उपचारका लागि संसारका विभिन्न प्रयोगशालाहरुमा यसका विरुद्ध खोप निर्माणका लागि अनुसन्धानहरु भइरहेका छन् । मानवजातिले कोभिड–१९ संग लामो समयको लडाईँको तयारी गर्नुपर्ने स्पष्ट भएको छ । विश्वमा आजका दिनसम्म ३ लाख ७५ हजार ५ सय ५९ जनाको मृत्यु भइसकेको छ भने ६२ लाख भन्दा बढी मानिसहरु संक्रमित छन् ।

नेपालपनि अहिले कोभिड–१९ को उच्च संक्रमणमा परेको छ, र दैनिक रुपमा २ सय बढि व्यक्तिमा यो रोग फैलिरहेको छ । तथापि अत्यन्त न्यून संख्यामा जाँच भएका कारण संक्रमितको संख्यामा कमी देखिएको चिकित्सको भनाई छ । रोगका कारण नेपालमा पनि ८ जनाले ज्यान गुमाएका छन् भने १ हजार ८ सय ११ जना संक्रमित भइसकेका छन् । यसैवीच, २२१ जना मानिसहरु निको भएर पुनःजीवन प्राप्त गरेका छन् । लकडाउनको ७१ औं दिनसम्म आइपुग्दा देशमा गम्भीर आर्थिक मन्दीको चरण शुरु भइसकेको छ । नेपाल लगायत विश्वभरिनै सामाजिक, सांस्कृति, आर्थिक क्षेत्रमा दिनानुदिन ह्रास आएको छ भने, दैनिक जीवनसंग जोडिएका स्वास्थ्य, शिक्षा, सञ्चार, उधोगधन्दा, कलकारखाना, विकास निर्माण, कृषि प्रणाली पूर्ण रुपमा प्रभावित भएको छ । नेपाल जस्तो भूपरिवेष्ठित देशमा कोभिड–१९ को संक्रमणबाट बच्नका लागि गरिएको लकडाउनले जीवन अस्तव्यस्त बनेको छ ।

क्वारेन्टाइन पीडा

मुख्यतः क्वारेन्टाइनमा आश्रित नागरिकहरुको अवस्था अहिले निकै दयनीय बनेको छ । उनीहरुमा मनोबल र आत्मबल गिरेको छ । उनीहरुप्रति गरिने व्यवहार, परीक्षण, खानपान, सुरक्षा र स्वास्थ्यको विषयमा गम्भीर लापरबाही भएको छ । विशेषतः भारतबाट स्वदेश फर्केकाहरु प्रति गरिने छिछि र दुरदुरको व्यवहारले मानवीयतामाथि प्रश्न उठाएको छ । चौध दिनसम्मको क्वारेन्टाइनको बसाई सकसपूर्ण र अत्यासलाग्दो देखिएको छ, त्यसमा पनि रिपोर्टहरु पोजेटिभ आएको खण्डमा उनीहरुमाथि हुने निक्रिष्ट शैलीको व्यवहार बर्वतापूर्ण छ । परिवारबाट छुट्टिएर बस्नुको पीडा र त्यसमा पनि आफुँहरुमा माथिको अमानवीय हर्कतले उनीहरुमा रुवाबासी छाएको छ । समाजले क्वारेन्टाइनलाई मृत्युको अखडाका रुपमा बुझेको छ र त्यहाँ आश्रितहरुहरु मृत्युका बुख्याँचा जस्तो बनाइएको छ । संक्रमितलाई सहानुभूति र सान्तवना दिनुको साटो झन हतोत्साहित गर्ने र गराउने वातावरण समाजका बुजु्रक र अगुवाहरुले गर्दै आएका छन् । आरडिटी र स्वाव टेष्ट पोजेटिभ आएका संक्रमितलाई पशुलाई जस्तै व्यवहार यही समाजले गरेको छ र भैसीं गोठहरुमा राख्दै आएको छ । समाज र हामी मानिसहरु कति निर्दयी, स्वार्थी र निक्रिष्ट भइसकेका रहेछौं भन्ने कुराको ज्वलन्त उदाहरण हो यो । आरडिटी, पिसिआर र स्वाव परीक्षण साथै क्वारेन्टाइन र आइसोलेशन कक्षको उचित व्यवस्थापन भएकोमा केही ठाउँमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र जनप्रतिनिधीहरुको कामको प्रसंशा पनि भइरहेको छ, तर अधिकांश ठाउँमा अवस्था नाजुक देखिएको छ । क्वारेन्टाइनमा कैद भएकाहरु कतिपय महिला, सुत्केरी, बालबालिका, अपांग, र बृद्ध-बृद्धाहरुको अवस्था निकै टिठलाग्दो भएको छ । उनीहरुका लागि खाना, पानी, मास्क, औषधी, सेनिटाइजर, लत्ताकपडा, ओच्छ्यान, सौचालयको उचित प्रबन्ध हुन सकेको छैन् । साथै उनीहरुको परीक्षण र उपचारका लागि चिकित्सहरुसंग किट, थर्मल गन, पिपिई, एम्बुलेन्स, औषधी लगायका स्वास्थ्य सामाग्रीको अभावले झन समस्या माथि समस्या थपिएको छ ।

२४ सै घण्टा एउटै कोठामा थुनिनुपर्दा र सानो ठाउँमा धेरै जना कोचिएर बस्नुपर्दाको मानसिक तनाव झन भयावह छ । अहिले क्वारेन्टाइनहरु कैदखाना जस्तै बनेका छन् । कैदखनामा नीति, नियम र दैनिकीको केही हदसम्म व्यवस्थापन गरिएको हुन्छ भने त्यसको विपरीत क्वारेन्टाइनहरु यातना गृह जस्तै बनाइएका छन् । जिउँदै भएर पनि आफुँहरुले मरितुल्य महशुस भएको उनीहरुको गुनासो छ । सामाजिक सञ्जालका भित्ताहरुमा छरपष्ट देखिने सान्तवना, सल्लाह, सुझाव, प्रचारप्रसार र स्वास्थ्यलाभको कामनाले उनीहरुको चहर्याइरहेको घाउ निको हुँदैन् । भनिन्छ, बोल्ने मुख भन्दा सेवा गर्ने हात कैयौं गुण पवित्र हुन्छ । हो, उनीहरुलाई जीवनको यथार्थता दर्शाउँदै रोगसंग लड्न र जुध्न सक्ने मनोबल र शारीरिक स्फूर्ति बढाउन जरुरी छ । उनीहलाई हेँला र तिरस्कार होइन, माया, सद्भाव र सेवा गर्नसक्नु पर्दछ ।

गैरजिम्मेवार जनप्रतिनिधी

सारा विश्व नै कोभिड–१९ को भयावह सन्त्रासबाट गुज्रिरहेको अवस्थामा नेपालमा भने रोकथाम, नियन्त्रण र उपचारका बारेमा सरकार र सम्बन्धित निकायहरु त्यति संबेदनशील देखिएका छैनन् । विशेषतः देश संघीयतामा गइसकेको र स्थानीय निकायहरु अधिकार सम्पन्न भइसकेको अवस्थामा नागरिकको स्वास्थ्यसंग गरिएको गम्भीर हेलचेक्रयाईंका कारण देशमा विकराल अवस्था नआउला भन्न सकिन्छ । कोभिड–१९ संगको लडाइमा केन्द्र सरकार देखि प्रदेश सरकार र हरेक नगर र गाउँपालिकाहरु योजनाबद्ध रुपमा खरो उत्रनु पर्ने हुन्छ, तर त्यस्तो हुन सकेको छैन् । लकडाउन नाम मात्रको भएको छ, उपहासको विषय बनेको छ । यसैबीच, स्थानीय निकायमा स्थापना गरिएका क्वारेन्टाइन र आइसोलन कक्षको दुर्दशा देख्दा लाग्छ कि नागरिकको पीडा र दुखमा जनप्रतिनिधीहरु कति गैरजिम्मेबार छन् ? स्थानीय तहको निर्वाचनमा तिनै जनताको भोटले सत्तासिन र पदासिन भएका जनप्रतिनिधीहरुले विगतका कुरालाई चटक्कै भूलेका छन् । देश, समाज, टोल र नागरिकको सेवामा समर्पित हुने आश्वासन दिएर नागरिकका मत आर्जन गरेका तिनै नेताहरुले आज नागरिकलाई नै दुःख पर्दा ढाड फर्काएका छन्, भागेका छन् । नागरिकका आशा विश्वास र भरोसाहरुमा तुसारापात भएको छ । उनीहरुका सपना ढलेका छन् तथापी उनीहरुका माग र सपना ठूला छैनन् । दुःख र रोगव्याधी लागेको बेला स्थानीय सरकारले र त्यहाँका प्रतिनिधीहरुले उनीहरुको गास, बास, कपडा, र औषधी उपचारको व्यवस्था गरिदेओस्, अकालमा मर्न नपरोस्, बस् यति हुन् नागरिकका अपेक्षा अहिलेको सन्दर्भमा । स्वस्थ्य हुँदा जेनतेन मजदुरी वा बैदेशिक रोजगारीमा गएरै भएपनि नागरिकले आफ्नो र परिवारको ज्यान पाल्दै आएका छन् । तर अहिले महामारीका बेला अशक्त र रोगको चपेटामा परेर थला परेपछि हारगुहार गर्दा पनि स्थानीय सरकार र जनप्रतिनिधीहरुले कुनै सुनुवाई गरेनन् । नागरिकका अपेक्षा र विश्वासमाथि अहिले तुषारापात भएको छ । क्वारेन्टाइनमा आश्रितहरुको खाना र बसाईको व्यवस्थापनका लागि संघीय सरकारले दैनिक रुपमा १७५ रुपैयाँ र प्रदेश सरकारबाट ५१० रुपैयाँ उपलब्ध हुने भनिएतापनि त्यसको निकासा र सदुपयोग वा दुरुपयोग के भएको छ, स्थानीय सरकार मौन प्रायः छ । स्थानीय तहलाई क्वारेन्टाइन व्यवस्थापनमा गाह्रो परेमा प्रदेश सरकारसंग सहयोग माग्न सकिने प्रावधान भएतापनि जनप्रतिनिधीहरुको अकर्मण्यताका कारण त्यसको मारमा आश्रितहरु परेका छन् । दुखका बेलामा मानिसको मूल्याँकन झन बढी हुने गर्दछ, र यस अर्थमा पनि जनताका प्रतिनिधीहरु कोरोना भाइरसको संक्रमणको व्यवस्थापन गर्न असफल भएका छन् ।

जनप्रतिनिधि हुनु भनेको जनताको सेवक हुनु हो । उनीहरु पनि जनता नै हुन् तर ५ वर्षका लागि प्रतिनिधिस्वरुप जनताले उनीहरुलाई छनोट गरेको हो । तर कैयौं जनप्रतिनिधिमा ठालु प्रवृत्ति देखिन्छ । मानौं उनीहरु शासक हुन् । कानुन होइन, उनीहरुको आदेश अनुसार गाउँ/नगर चल्नुपर्छ । नागरिकहरुप्रति उनीहरु गैरजिम्मेबार देखिएका छन् । खोलो तर्यो लौरो बिर्स्यो भने जस्तै तिनै नागरिकको अमूल्य मतबाट पद र सत्ता हासिल गरेका जनप्रतिनिधीहरुले नागरिक र मतदाताका गुन चटक्कै बिर्सेका छन् । गणतान्त्रिक लोकतन्त्रमा त्यस्तो चरित्र र प्रवृत्ति सुहाउँदैन । समयले ३ बर्षको नेटो पनि काटिसकेको छ, बाँकी २ बर्षमा पनि गल्ती सच्याउने मौका छँदैछ । गाउँ/नगरका लागि केही गर्छु भन्नेहरुलाई कुनै कानुनको अभाव छैन । स्रोत साधनको अभाव पनि छैन । संकटका बेलामा बजेट निकासा गरेर दुखीहरुको सेवामा समर्पित हुन कुनै कानूनले रोकेको छैन् । मात्रै दृढ इच्छाशक्ति, इमान्दार प्रयास, र व्यवस्थापकीय क्षमताको खाँचो छ । जनप्रतिनिधीहरु उत्तरदायी भइदेऊन्, जनमतको कदर गर्दै समर्पित भइदेऊन् । नत्र जनताले जनप्रतिनिधीहरुनै किन छान्नु पर्यो ? वातानुकुलित कक्षमा शयन र सरकारी सवारीमा शयर गर्नका लागि नागरिकले जनप्रतिनिधी चुनेका होइनन् । रिवन काटेर बेढंगका कार्यक्रममा बेतुकका भाषणहरु सुन्न र सुनाउन पनि नागरिकले आफ्ना प्रतिनिधी छानेका पक्कै होइनन् । नागरिकको प्रतिनिधीले त सुखका बेलामा भन्दा दुःखका बेलामा साथ दिन सक्नु पर्दछ । अभिभावकीय भूमिका प्रस्तुत गर्नु पर्दछ । युद्धका बेला बन्दुक छाडेर भाग्ने सिपाही जस्तै भएका छन् अहिलेका जनप्रतिनिधीहरु । गैरजिम्मेबार बनेका छन् । नागरिकलाई साँच्चिकै दुःख र पीडा पर्दा मलमपट्टी लगाउनुको साटो घाउमा नुनचुक छर्कने काम गरेका छन् अधिकाँश जनप्रतिनिधीहरुले । जनताले शासन र व्यक्तिसँग होइन, विकास र सुविधाको अनुभूतिसँग परिवर्तनको आभास चाहेका हुछन् ।

चुनावका बेलामा विभिन्न घोषणापत्र सहित चिल्ला मिठा नारा र योजना सहित नागरिकका घरदैलोमा पुग्ने नेताहरु बास्तविक चरित्र अहिले देखिएको छ । गास, बास, कपास, स्वास्थ्य, शिक्षा र विकासको झुठा आश्वासन र सपना बाँडेर उनीहरुको मत प्राप्त गरेका आएका जनप्रतिनिधीहरुले कोरोना संक्रमणको दु:खका बेला साथ छोडेका छन् । आँफुलाई सवल, सक्षम, योग्य, इमान्दार व्यक्ति र नेताको रुपमा प्रस्तुत गरेर जनमत बटुलेका जनप्रतिनिधीहरुको बास्तविक रुप अहिले उदाँग भएको छ । सत्ता लिप्साका कारण राजनीति गर्नेहरुले जनताको दुख र पीडालाई आत्मसाथ गर्न सकेका छैनन् ।

अन्त्यमा,

भनिन्छ, सुख र दुख जीवनका दुई पाटा हुन् । सुख पछि दु:ख र दुःख पछि सुख अवश्यम्भावी छ । त्यसैगरि हरेक विपदले केही न केही सन्देश हामीलार्ई छोडेको हुन्छ तर हामी त्यो सन्देशलार्ई कसरी लिन्छौँ, आफ्नो जीवनमा लागु गर्छौं या गर्दैनौँ, त्यो हाम्रो कुरा हुन्छ । विपदले नोक्सान मात्रै होइन, मानव जगतलाई पाठ सिकाउन धेरै कुरा ल्याएको हुन्छ तर त्यो कुरालाई हामीले कतिको लिन सक्छौँ त भन्ने कुराले प्रमुखता पाउँछ । तसर्थ, हामीभित्र भएको अहमतालाई त्याग्न जरुरी हुन्छ । त्यसैले कोरोना भाइरसको संक्रमण र निम्तिएको यो विपदलाई विपदको रुपमा मात्रै नहेरी यसले दिने सन्देशका बारेमा पनि सोच्नुपर्ने हुन्छ । सबैले विपतबाट पाठ सिकौं, र संक्रमणको यो घडीमा पीडितलाई सहयोग गरौं । असल गुण र व्यवहार सिकौं । सामाजिक र मानवीय बन्न सिकौं । मानव कल्याण र समग्र धर्तीको जीवन्तताका लागि काम गरौं । इमान्दारिपूर्वक दह्रो इच्छाशक्तिका संकटका बेला चालिने कदमले सफलता तर्फ डोर्याउँछ भने, अकर्मण्यताले पतनको मार्गतर्फ पुर्याउँछ ।

अन्त्यमा, जनप्रतिनिधीहरुको व्यवहार र गतिविधीको मूल्याँकन हरेक नागरिकले गरिरहेका छन् । जब कोरोनाको संक्रमण पश्चात जनजीवन सामान्य बन्नेछ, र त्यतिबेला जनप्रतिनिधीहरुको व्यवहारको नतिजा सार्वजनिक हुनेछ । फेरि २ बर्षमा चुनाव आउनेछ र त्यतिबेला एकएक हिसाव किताव सहित नागरिकले मतदान गर्नेछन् । यो कुरालाई जनप्रतिनिधीहरुले बेलैमा बुझ्नु जरुरी छ । न्यूटनको चाल सम्बन्धि तेस्रो नियम छ कि “प्रत्येक क्रियाको बराबर र विपरीत प्रतिक्रिया हुन्छ”, नागरिकमा पनि त्यो नियम पक्कै लागु हुनेछ । सबैलाई चेतना भया ।

(कंडेल नेपाल पत्रकार महासंघका केन्द्रिय पार्षद हुन् ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार