समाजवादी दर्शन र राजनीति

नेपालको संविधान, २०७३ को प्रस्तावनामा समाजवादप्रति प्रतिबद्ध रही समृद्ध राष्ट्र निर्माण गर्ने कुरा प्रष्ट उल्लेख गरिएको छ । भारतको संविधानले पनि समाजवादप्रति प्रतिवद्धता जनाएको पाईन्छ । मानव विकासको चरम शिखरमा रहेका नर्दिक मुलुकहरु (Nordic Countries) आइसल्याण्ड, फिनल्याण्ड, स्वीडेन र नर्वे आदि समाजवादी मुलुकको रुपमा चर्चित छन् । विश्वका बहुसंख्यक मानिसहरु समाजवादलाई आर्थिक, सामाजिक र राजनीतिक विचारधाराको महत्वपुर्ण दर्शनको रुपमा लिने गर्दछन । पुँजीवादमा विश्वास गर्ने अमेरिका, व्रिटिस र अन्य युरोपियन मुलुकका सरकारहरुले जनकल्याणकारी अभियान सञ्चालन गरेर समाजवादको महत्वलाई अझै उजागर गरेको पाइन्छ । विश्वका धेरै राजनीतिक दलहरुले आफ्नो राजनीतिक दलको दर्शन समाजवाद भएको जिकिर गर्दछन र समाजवादी दर्शनलाई आत्मसाथ गर्ने राजनीतिक दलहरु जनअनुमोदित भएका थुप्रै उदाहरण हाम्रो सामुन्ने छन । विश्वमा समाजवादको यति धेरै चर्चा भएर पनि वास्तवमा समाजवादको सर्वमान्य परिभाषा पाइदैन । विश्वमा सामाजिक न्यायको वकालत गरिन्छ, आयको समानुपातिक वितरणको कुरा उठिरहेको छ । विश्वका अधिकांश मुलुकका सरकारहरु प्रगतिशिल आयकर दर मार्फत नागरिकहरुलाई सामाजिक न्याय दिएको भन्न रुचाउँछन । पुँजीवादी सरकार, साम्यवादी सरकार र सैनिक तथा अन्य निरङकुश सरकारहरु सबै आफुलाई समाजवादी भन्छन, जसले गर्दा समाजवादको परिभाषा निर्धारण गर्न कठिन प्रतित हुन्छ । यतिमात्र होइन रुसमा भएको बोल्सेभिक क्रान्ति पनि समाजवादको नाममा भएको थियो । चीनमा डा. सनयात् सेनले स्थापना गरेको कोमिन्ताङ पार्टीको दर्शन समाजवाद नै थियो भने साम्यवाद स्थापना गर्न कोमिन्ताङ पार्टी विरुद्ध भएको कम्युनिष्ट विद्रोह पनि समाजवादको नाममा नै भएको थियो । कहिलेकाँही त समाजवाद राजनीतिक दलले सञ्चालन गर्ने आन्दोलनलाई फलाउने फुलाउने कम्पोष्ट मल र यिनलाई सत्तामा पुर्याउने भर्यांग प्रतित हुन्छ । कम्वोडियामा पोलपोटले समाजवादको हवाला दिदै करिव पच्चिस लाख मानिसको हत्या गरेको तथ्य हाम्रो सामु छ । रोमानियामा चाउचेस्कोले पनि आफुलाई समाजवादी नै भन्दथे । साम्यवादीहरुले पनि साम्यवादको पहिलो खुट्किलो समाजवाद हो भन्ने हुनाले हाल कम्युनिष्ट शासन भएका भनेर चिनिने देशका नागरिकहरुले गरेका सवै विद्रोहहरु समाजवादका लागि भएका हुन भन्दा अनुपयुक्त नहोला । विश्व इतिहास र समसामयिक राजनीतिवारे जानकारी प्राप्त गर्न विश्वमा प्रचलित सामाजिक, आर्थिक तथा राजनीतिक विचारधारावारे थोरवहुत ज्ञान जरुरी छ । समाजवादको चर्चा गर्दा सामन्तवाद, पुँजीवाद तथा साम्यवादलाई नजरअन्दाज गर्न सकिदैन । विश्वमा आर्थिक, सामाजिक र राजनीतिक विचारधाराहरुको कुरा गर्दा सामन्तवाद, पुँजीवाद, समाजवाद र साम्यवाद जस्ता दर्शनहरुको चर्चा पाईन्छ । फ्रान्सको सन्दर्भमा फाँसीवाद र जर्मनीको सन्दर्भमा नाजीवाद पनि त्यत्तिकै प्रचलित छन् । सामन्तवाद पुरातन विचारधारा हो । समाजवादको सर्वमान्य परिभाषाको अभाव भए पनि यसको आधारभुत मान्यतावारे संक्षपेमा जानकारी दिनु र नेपालमा समाजवादी विचारधाराको प्रयोगको स्तर मापन गर्नु यो आलेखको उद्देश्य रहेको छ ।

नेपालमा समाजवाद

नेपालको सन्दर्भमा सबै राजनीतिक दलहरु आफ्नो राजनीतिक, सामाजिक तथा आर्थिक दर्शन समाजवाद नै भएको बताउछन् । नेपाल लगायत विश्वमा केहि अवशेष रहे पनि यो विचारधारा लोप हुने क्रममा छ । नेपालको सन्दर्भमा जमिन्दारी प्रथालाई सामान्तवादी विचारधाराको महत्वपुर्ण उदाहरणको रुपमा लिन सकिन्छ । जमिन्दारहरु आफ्नो स्वामित्वमा धेरै जमिन राख्थे र कृषि कामदारदारहरुलाई विना पारिश्रमिक काममा लगाउँथे । कामदारहरु स्वतन्त्र थिएनन । उनीहरुलाई खानका लागि केही अन्न जमिन्दारद्धारा उपलब्ध हुन्थ्यो र जीवनभर जमिन्दारका लागि काम गर्नु पर्दथ्यो । जनसंख्याको ठूलो हिस्सा मुठीभर जमिन्दारहरुको कब्जाभित्र निसास्एिको थियो । करिव करिव विश्व ढाँचा यहि प्रकृतिको थियो । यस्तो प्रथा विरुद्ध कृर्षि मजदुरहरुको विद्रोह र स्वतन्त्र वजारको विकासले सामन्तवादी सोचमा कमि आउन थाल्यो र त्यसपछि कृषि मजदुरहरु पारिश्रमिकको रुपमा मौद्रिक ज्याला प्राप्त गर्न थाले । जमिन्दारहरु अधिक अनाज बजारमा बिक्री गर्न थाले । स्वतन्त्र बजार व्यवस्थाको विकाससँगै केही हदसम्म भए पनि सामन्तवादी चिन्तनमा कमी आउन थाल्यो भन्ने तथ्यलाई स्वीकार्न कर लाग्छ । आधुनिक तरिकाले खेती गर्न थालियो । उत्पादन बढ्न थाल्यो । यसलाई कृषि पूँजीवादको रुपमा बुझ्न सकिन्छ । कृषिमा मध्यम स्तरको प्रविधि प्रयोग गरिनाले कृषि मजदुर कम खपथ हुने स्थिति पैदा भयो । ग्रामीण इलाकामा वेरोजगारको स्थिति देखा पर्यो । यसै बिच १८ औं शताब्दीको मध्यतिर औद्योगिक क्रान्तिको स्वरुप देखा पर्यो । औद्योगिक क्रान्तिले वृहत स्तरका उत्पादन गर्ने मेशिन तथा संयन्त्रहरुको विकास गर्यो । शहरहरुमा ठूला कारखाना स्थापना भए । ग्रामीण इलाकाबाट मानिसहरु कारखाना मजदुरहरुको रुपमा शहर पस्ने क्रम तिब्र भयो । कारखाना मालिकहरु नाफा बृद्धि र पूँजी निर्माणमा लाग्दा कामदारहरु प्राथमिकतामा परेनन् । तिब्र औद्योगिकीकरणबाट समाज दुई खेमामा विभाजित हुने क्रम बढदै गयो । उत्पादन साधनका मालिकहरु पूँजीपति वर्गको रुपमा देखिए भने कामदारहरु मजदुर वर्गको रुपमा देखिए । कारखानाबाट प्राप्त ज्यालाबाट मजदुरहरुको जीवनयापन सहज बन्न सकेन । आवास, स्वास्थ्य र शिक्षा जस्ता आधारभुत कुराहरु मजदुरहरुको पहुँच भन्दा टाढा पुगे । मजदुरहरुमा असन्तोष देखा पर्यो । यस किसिमको परिस्थितिबाट प्रभावित भएर गोर्की, टाँल्सटाय तुर्गनेव, कार्ल माक्स जस्ता चिन्तकहरुले समाजवादी विचारधारा अगाडि ल्याएको पाइन्छ । यी चिन्तकहरु समाजवाद सम्म सिमीत रहेको भए समाजवादलाई परिभाषित गर्न सायद त्यति कठिनाई हुने थिएन । उनीहरु विचारक थिए प्रयोगकर्ता थिएनन, तर पनि साम्यवादी विचार अगाडि बढाएर समाजवादप्रति भ्रम सृजना भएको देखिन्छ । साम्यवाद अनुसार समाजवाद साम्यवादको पहिलो खुट्किलो हो । साम्यवादले सरकार बिहिन र सीमा बिहिन विश्वको परिकल्पना गर्दछ । साम्यवाद अन्तरर्गत मानिसहरु यति विवेकशिल हुन्छन कि एक मानिसले अर्को मानिसलाई आदेश वा समन्वय गर्न आवश्यक पर्दैन । वर्गहिन समाजको भुस्वर्गमा मानिसहरुको पदार्पण हुन्छ । यस्ता कल्पनाहरुलाई अधिकांश मानिसहरु स्वीकार्दैनन् र सहमत हुदैनन । हाल विश्वमा पूँजीवादको विकल्प समाजवाद हो भन्ने कुरामा सबै सहमत छन् तर साम्यवाद प्रयोगयोग्य दर्शन होइन भन्ने कुरामा पनि त्यति नै दृढ छन् । त्यसैले समाजवादलाई साम्यवादसँग जोडनु हुदैन र अलग्याउनु पर्छ भन्दा आफुलाई साम्यवादी भन्नेहरु झस्किन सक्छन, झस्किन जरुरी छैन । तत्कालिन नेकपा एमालेका बुझक्कड नेता प्रदिप नेपालले पार्टीको नामबाट कम्युनिष्ट शब्द हटाएर समाजवादी राखौं त्यसै भनेका होइनन् ।

चीनमा सन्यात्सेनले आफ्नो कोमिन्ताङ पार्टीेको दर्शन राष्ट्रियता, प्रजातन्त्र र समाजवाद राखे भने नेपालमा वीपी कोइरालाले नेपाली काङग्रेसको दर्शन त्यहि नै राखेको पाइन्छ । साम्यवादीहरुले पनि समाजवादको वकालत गरेकोले यी दुवै नेताले समाजवादसँग प्रजातन्त्र जोडेको हुनुपर्छ तर वर्तमान विश्व परिस्थितिमा समाजवाद भन्ने बित्तिकै प्रजातन्त्र जोड्नु पर्छ जस्तो लाग्दैन । समाजवादले समानताको कुरा गर्छ र यसले आर्थिक समानताको कुरा मात्र गर्दैन सामाजिक, राजनीतिक अधिकारका सन्दर्भमा पनि समानताको कुरालाई समेटछ । प्रजातन्त्र विभिन्न स्वरुपको हुन सक्छ तर समाजवाद भन्ने वित्तिकै त्यससँग प्रजातन्त्र जोडिन्छ । प्रजातन्त्र शब्द जोडिने वित्तिकै मानव अधिकार, कानुनी राज्य, आवधिक निर्वाचन, स्वतन्त्र न्यायपालिका जस्ता आधारभुत मान्यता समावेश नहुने कुरा भएन । समाजवादले सामाजिक न्याय र योग्यतावादी समाजको वकालत गर्दछ । उत्पादनका साधनहरु पुर्ण रुपमा होइन औंचित्य र आवश्यकताका आधारमा राज्यको नियन्त्रणमा हुनुपर्छ भन्ने तथ्यलाई सवैले स्वीकार गर्दछन । त्यसैले राजा, सैनिक वा कम्युनिष्ट जुनसुकै नामको निरङ्कुशतामा समाजवादको वकालत गर्नु मुर्खता हुन्छ । समाजवादलाई कार्यान्वयन गर्न मिश्रित अर्थतन्त्र उपयुक्त उपायको रुपमा सवैले स्वीकार गरेको पाइन्छ । अहिलेको कोरोना कहरमा नीजि स्वास्थ्य प्रतिष्ठानहरुको व्यवहारले पनि समाजवादको महत्वलाई दर्शाइ दिएको छ । नेपालमा विगतमा समाजवादी नीति तथा कार्यक्रम माथि ध्यान नपुग्दा वर्तमानमा स्वास्थ्यकर्मीहरुको अभाव खट्किरहेको तथ्य हाम्रो सामु छ । समाजवाद भनेको खोक्रो नारामात्र होइन, मुलुक र नागरिक हितका लागि रणनीतिक योजना, कार्यसञ्चालन योजना र उपयुक्त बजेटका आधारमा मुलुकको हावापानी र माटो सुहाउँदो विकास मोडल तयार गरी कार्यान्वयन गर्नु हो । वीपी कोइरालाले “हलो जोतिरहेको कृषककोे तस्विर हेरेर योजना बनाउनु पर्छ” भनेको नागरिकलाई प्राथमिकतामा राखेर योजना निर्माण गरि कार्यान्वयन गनुपर्छ भन्ने हो । परम्परागत ढाँचाको र निबन्ध शैलीको बजेट निर्माणले समाजवाद आउँदैन । निश्चित समयसीमा सहितको उद्देश्यममुलक कार्यक्रम भएको र कार्यान्वयनयोग्य योजना र बजेटले मात्र गन्तब्यमा पुर्याउँछ । दुई/चार भोट बढाउने कार्यक्रम र पढ्दा ताली खाने लहडमा ल्याइएका हावादारी योजना र कार्यक्रमले ठूलो कालखण्ड बितिसकेको छ । अन्य देशहरुको नक्कल गरेर ल्याइएका नीति तथा कार्यक्रमले मुलुक बन्ने भए नेपाल अहिले मानव विकासको चरम उत्कर्षमा हुन्थ्यो । समाजवादी विचारधाराले अपेक्षा गर्ने दृढ इच्छाशक्ति सहितको प्रतिवद्धतामा आधारित मौलिक विकास मोडलका लागि प्रतिक्षा गर्ने समय सकिएको छ । नेपालमा आफुलाई समाजवादी भन्नेहरु चीनको वि.आर.आई र अमेरिकाको एम.सि.सि मा अल्झिरहेका छन् । कसले आर्थिक अनुदान देला र हात चाट्न पाइएला भन्ने प्रवृतिको नियतिबाट मुक्ति कहिले पाउने हो, अब निश्चित गर्नुपर्छ । देशमा उपलब्ध साधनश्रोतको उच्चतम् उपयोग गरी रोजगारी सृजना मार्फत रेमिटान्स आश्रित अर्थतन्त्रलाई बदलेर दिगो मौलिक उत्पादनमुखी अर्थतन्त्र निर्माण तर्फ लाग्नुको सट्टा अन्य राष्ट्रहरुले आफ्नो हितका लागि ल्याएका रणनीतिहरुमा रुमल्लिनु दूर्भाग्यपुर्ण छ ।

नेकपा र कांग्रेस दुबै घातक

नेपालको वर्तमान नेतृत्व समाजवादप्रति मौखिक रुपमा मात्र प्रतिवद्ध छ, नेतृत्वको कार्यशैली र व्यवहार समाजवाद विरोधी छ । नेपालमा वीपी कोईराला बाहेक कुनै पनि सरकारले अहिलेसम्म समाजवादी कार्यक्रम सहितको बजेट पेश गरेको पाइएको छैन । नेपालका राष्ट्रिय दलहरु समाजवादी कार्यक्रम तर्फ उन्मुख भएको देखिदैन । अमुक पार्टी सत्तामा आयो भने दिगो विकास सहितको जनकल्याणकारी कार्यक्रम ल्याई कार्यान्वयन गर्छ भनेर अपेक्षा गर्ने ठाउँ पनि देखिदैन । नेपाली कांग्रेस र बर्तमान नेकपा आलोपालो सत्तामा रहेका छन्, यी दुवै पार्टीहरुको राजनीतिक दर्शन समाजवादी रहेको छ । नेपाली कांग्रेस सत्तामा आएपछि स्वास्थ्य, यातयात र सञ्चारको क्षेत्रमा केहि योगदान गरे पनि, समाजवादी पाटीको रुपमा चिनिने कांग्रेस निजीकरणमा वेपर्वाह हाम फालेर गर्व महशुस गरिरहेको छ । सार्वजनिक संस्थानलाई प्रभावकारी व्यवस्थापन मार्फत उत्पादकत्व बृद्धि गर्नुका सट्टा पञ्चायतले मण्डले पाल्ने भाँडो बनाएको झोकमा संस्थानहरुको निजीकरण गर्यो तर निजीकरण पछिको सञ्चालन सुनिश्चितता खोजेन् । कम्युनिष्टहरु कांग्रेसको निजीकरण अभियानको विरोध र जेष्ठ नागरिकलाई भत्ताको व्यवस्था गरेर संसारमै बहादुरी काम गरेझै त्यसकै आधारमा भोट बटुली धेरै पटक सत्तामा गएर पनि देशलाई औंद्योगिकीकरण गर्ने काममा सिन्को भाँचेका छैनन । संविधानमा लेखेर समाजवाद आउँदैन । मुठीभर दलाल र अवैध पूँजीपतिहरुको चङ्गुलमा फँसेको बर्तमान नेकपा सरकार भ्रष्टाचारीको सहयोगीको रुपमा देखिएको छ, जनविश्वास गुमाउँदै छ र सत्ता सञ्चालनमा असफल भएको छ । साथै सरकारलाई ठीक बाटोमा हिँडाउन र जिम्मेवार भूमिका निर्वाह गर्न नसक्ने निरीह प्रतिपक्ष कांग्रेसमाथि नागरिकले प्रश्न उठाइरहेका छन । यी दुबै पार्टीका कार्यशैली र व्यवहार समाजवादी पथका लागि घातक छन् ।

(बास्तोला आदिकवि भानुभक्त क्याम्पस, तनहुँका सहायक क्याम्पस प्रमुख हुन् ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार