काठमाडौँ – व्यापक विरोध भएपछि मोटरसाइकलमा दुई जना यात्रा गर्न नपाउने नियम हटेको छ ।
सोमबारदेखि मोटरसाइकल र स्कुटरमा दुई जना नै यात्रा गर्न पाउने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरिक्षक भिमप्रसाद ढकालले नागरिकलाई समस्या भएको गुनासो बढेसँगै यो नियम हटाएर दुई पाङग्रे गाडीलाई पनि जोर बिजोर अनुसार चलाउने निर्णय गरेको बताए ।
‘नागरिकको हितलाई ध्यानमा राख्दै हामीले मोटरसाइकलमा दुई जना यात्रा गर्न पाउने व्यावस्था गरेका हौँ, सोमबार विहानदेखिनै यो नियम लागू भईसकेको छ’, उनले भने ।
गएको शुक्रबार मात्रै चार पाङग्रे निजी गाडीलाई जोर बिजोर र दुई पाङग्रेमा दुई जना यात्रा गर्न नपाउने नियम बनेको थियो । तर यो नियम अव्यवहारिक भन्दै विरोध बढेपछि दुई दिनमै सरकारले निर्णय सच्याएको छ ।
चार पाङग्रे निजी गाडी जस्तै अब मोटराइसकल पनि जोर दिन जोर नम्बरका र बिजोर दिन बिजोर नम्बरका चल्ने छन् । प्रेस, ढुवानी लगायतका गाडीमा भने यो लागू हुने छैन ।
यस्तै, सरकारले अझै केही दिन सार्वजनिक गाडी भने चलाउन रोक लगाएको छ । कोरोना भाइरसको जोखिम बढिरहेकाले सार्वजनिक गाडी तत्काल चल्ने छैनन् ।