काठमाडौं – गृह मन्त्रालयले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा परेका चार जिल्लालाई लकडाउन कडा बनाउन निर्देशन दिएको छ । सर्लाही, रौतहट, कपिलवस्तु र दैलेखलाई कोरोना ‘हटस्पट’का रुपमा राख्दै जोखिम कम नभएसम्म लकडाउनलाई कडाइका साथ लागू गरिने भएको हो ।

गृह मन्त्रालयले यी चार जिल्लामा अत्यावश्यक सेवाबाहेक सार्वजनिक, निजी तथा गैरसरकारी संघसंस्थाबाट हुने काम कारबाही अर्को निर्णय नभएसम्मका लागि सुचारु नगर्न पनि निर्देशन दिएको छ । यी जिल्लामा कोरोना संक्रमणको जोखिम र खतरा मूल्यांकन गरेर लकडाउनलाई थप कडाइका साथ पालना गर्न प्रमुख जिल्ला अधिकारीहरुलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।

उच्च जोखिममा रहेका चार जिल्ला बाहेक उपत्यकासहित ७३ जिल्लामा भने लकडाउन खुकुलो बनाउँदै सोमबारबाट सार्वजनिक, निजी र गैरसरकारी संघसंस्थाबाट सेवा सुरु भइसकेका छन् । कम जोखिम रहेका जिल्लामा निजी सवारी सञ्‍चालन गर्न जोरविजोर प्रणाली लागू गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार