यात्रा कोरिया सम्मको छ । सात घण्टा लामो जहाजको यात्रा गर्नु छ । आफ्नो जन्मभुमी छोडेर बिदेशिनुको पिडा मनभरी छ । कसैलाई सुनाउ चिनेका कोही छैनन जो देखिन्छन सबै पिडामा देखिन्छन । जहाज बिस्तारै गूड्न सुरु गर्यो र केही मिनेटमै उडेको महशुस हुन्छ । सबैको मुखबाट जय पशुपतीनाथ, जय इस्वरको आवाज सुनिन्छ, झ्यालको सिटमा छु बिस्तारै तल हेर्छु । ति बस्ती, पहाड र खोलाहरुले मलाई हात हल्लाउदै बिदा गरेझै लाग्यो । मन भक्कानिएर आउँछ ।
सम्झन्छु, छुटेर नै त भेटिने हो । छुटिनु भनेको भेटिने निम्ता दिनु पनि त हो ।
फेरी यो पिडा मेरो मात्र पनि त हैन, हजारौ नेपाली दाजुभाइको हो । सबैले आफ्नो जीवन सुन्दर बनाउने सपना देखेर उडेका छन । कतिले पुरा गरेर फर्कन्छन त कती आँफै काठको डोलिमा फर्कन्छन । मैले पनि आफुलाई उनै पशुपतिनाथको जिम्मा लगाइदिएको छु । आशा छ सपना पुरा गरेर फर्किनेछु ।
मेरो आडमा मेरो उमेरसँगै मिल्दो उमेरको युवक छ । अनुहार हेर्दा उ म भन्दा तीन गुना पिडामा देखिएको छ । अनुमान गर्छु भर्खरै बिहे गरेर घरमा श्रीमती छोडेर हिंडेको हुनुपर्छ । मलाई नितान्त एक्लो महशुस भएको छ । उसंग बोल्न खोजेँ तर उसले कुनै वास्ता गरिरहेको छैन । आँफै बोल्न खोजेँ र परिचय दिएँ । उसले पनि आफ्नो परिचय दियो पुरन भण्डारी, घर पोखरा । सम्बाद त्यतिमै रोकियो पुन सन्नटा छायो । गाउँमा भएको भए डाली बसेर न्याउलीले गीत गाएको सुने पनि घण्टा बिताउन गाह्रो हुँदैनथ्यो तर त्यहाँ त्यसो भएन ।
केही समयपस्चात उसले(पुरन) डायरी र कलम निकाल्छ र लेख्न सुरु गर्छ मानौँ उसले उपन्यास लेखिरहेको छ । उ लेखक हो । उसले धेरै पाना लेखिसकेको छ र केही पाना बाँकी छ । उसलाई बुझ्ने,चिन्ने उत्सुकता बढ्यो, केही प्रश्न प्रतिप्रश्न पस्चात उसले आफ्नै कथा लेखेको र अरुलाई यस्तो नहोस् भनेर सन्देस दिनका लागि प्रकाशन गर्न लागेको कुरा सुनाउछ । खुल्दुली भयो उसको कथा पढ्ने उत्सुकता बढ्यो । केही सम्बाद पछी उसले आफ्नो कता पढ्ने अनुमती दियो र डायरी थमाइदियो । कथा पढ्न सुरु गर्छु ।
***
तापक्रम -११° थियो, अघिल्लो दिन साँझदेखि नै लगातार हिउँ परिरहेको थियो । कम्पनी र बासस्थान बिचको दुरि करिव १ किलोमीटर थियो । सधैँ बिहान डिउटिमा जाँदा कम्पनीको गाडी लिन आउँथ्यो तर आज हिउँले बाटो जाम भएकोले गाडी आउन नसक्ने भो रे । आज हिँडेरै भएपनी कम्पनी जसै आउनु भनेर कम्पनी म्यानेजरले एकाबिहानै फोन गर्यो । साथी र म हिँड्दै कम्पनी गयौँ । लाग्थ्यो हाम्रो शरीर नै हिउँको डल्लो हो । शरिरको रगत समेत जमिसकेको छ भनेसम्म चिसो भयो । तर चिसो भयो भनेर काम गर्न नपर्ने थिएन । १२ घण्टाको डिउटी सकाएर रुममा पुग्छु । कोठामा पुगेपछी फेसबुक चलाउने त नित्यकर्म नै बनिसकेको छ । ल्यापटप ओन गर्छु र बाथरुम छिर्छु ।
फेसबुक खोल्नासाथ केही नोटिफिकेसन, केही अनरिड म्यासेज र केही फ्रेन्ड रिक्वेस्टहरु पेन्डिङ छन । फेक आइडिको बिगबिगिले फ्रेन्ड रिक्वेस्टहरु वास्ता गर्न छोडेको थिएँ । म्यासेजमा आँखा लगाएँ । केही ग्रुपच्याटका म्यासेजहरु, कतार हुने दाइको म्यासेज, अनि पूजा कडेँल को नामबाट म्यासेज आएको रहेछ । खोलेर हेरेँ तपाइँको स्ट्याटसहरु पढेँ राम्रो लागेर रिक्वेस्ट गरेकी छु । म्यासेजमा लेखेकी रहेछ । धन्यवाद ! जवाफ फर्काएँ तत्काल एड गर्न हतार गरिन ।
पु:न भोलिपल्ट पनि म्यासेज आयो “खोइ एड गर्नुभएन त, हुन त ठुला मान्छेहरुले हामिजस्तालाई कहाँ साथी बनाउनुहुन्छ र ? कि साथी बनाए बिग्रीन्छु भन्ठान्नुभो?? ” सोचेँ एकपटक प्रोफाइल हेर्छु अनि एड गरौंला । प्रोफाइल हेर्दा राम्रै लाग्यो ह्या!! मेरो बाउको के जान्छ र??भन्ने सोचेँ र एड गरिदिएँ ।
केही मिनेटमै धन्यवाद जवाफ आयो । एक मनले प्रश्न गर्‍यो ति सयौँ रिक्वेस्टमध्ये किन यसको मात्र एसेप्ट गरिस?? कि केटी भएकै कारणले हो?? अरुले पनि त एसेप्ट गर्न दबाब दिएका थिए त । अर्को मनले यसको जवाफ फर्काउन सकेन ति प्रश्नहरु प्रश्नमा नै सिमित रहे ।
म पूजा कँडेल, घर बुटवल, अहिले शंकरदेव क्याम्पसमा म्यानेजमेण्ट पढ्दैछु । उताबाट म्यासेज आयो । म पनि आफ्नो परिचय दिएँ । पुरन भण्डारी, घर पोखरा अहिले कोरिया छु ।
ओह कोरिया?? प्रश्न आयो ।
हो, जवाफ दिएँ ।
कोरियामा त काम गाह्रो हुन्छ भन्छन, बढी चिसो हुन्छ रे, हिउँ पनि पर्छ भन्ने सुनेकी थिएँ, आफ्नो ख्याल गर्नुस् है । म्यासेज आयो ।
मेरो ख्याल मैले नगरे कस्ले गर्दिन्छ र?? आज सम्म कस्ले गरिदिएको छ र?? भन्ने मन थियो तर भनिन । हस धन्यवाद शुभरात्री लेखेर सम्बाद टुंग्याउन खोजेँ
तर उताबाट पुन म्यासेज आयो ।
अनलाइन हुँदा सम्झिनुस् है ।
आफ्नै आफन्तलाई त सम्झने फुर्सद छैन, उ चिन्दै नचिनेकीलाई सम्झनु पर्‍यो रे उसले भनेकी, म पनि औपचारिकताको लागि हस भनिदिएँ ।
भोलिपल्ट बिहान उठेर मोबाइल ओन गर्नासाथ म्यासेज आउछ ।
मैले हजुरको प्रोफाइल हेरेकी थिएँ, केही गजलहरु त कण्ठ नै बनाएकी छु अनी हजुरका केही फोटोहरु राम्रा लागेर मोबाइलमा शेभ गरेर राखेकी छु । हजुरको अनुमती बिना नै यसो गरेँ गाली त गर्नु हुँदैन नि???
मैले म्यासेज हेरें तर कुनै प्रतिकृया दीईन ।
समय बित्दै गयो, कुराकानीको क्रम पनि बढ्दै गयो । केटा मान्छेको मन न हो परिवर्तन हुन समय नलाग्दो रहेछ । निरन्तर आउने उस्को म्यासेजले प्रभाव पार्न थाल्यो, दिनहरु पनि सहज रुपमा बितेको महशुस हुनथाल्यो । उसले गरेका हरेक कुराहरु राम्रो लाग्न थाल्यो, उ प्रती घनिस्टता बढ्दै गयो । केही बेर उसको म्यासेज नआए पनि छटपटी हुनथाल्यो । शायद यही हुनुपर्छ माया भनेको । खै उसले कसरी मलाई यत्ती छिट्टै आफुप्रती आकर्शित गराइ आँफैलाई अचम्म लाग्थ्यो । उसले मनमा लागेको सबै भन्थी र मैले पनि भन्न केही बाँकी राखिन । काले काली, छुचो छुची, प्यारा प्यारी सबै चल्न थाल्यो । अझ भनुँ कुनै रोकतोक नै भएन ।
केही महिनापस्चात ‘भ्यालेन्टाइन डे’ नजिकिँदै थियो, कम्पनिको अर्को साथी नेपाल जादैँ थियो, पूजालाई ‘स्रर्प्राइज’ दिन्छु भनेर सामसुङ एस फाइभ मोबाइल किनेर पठाइदिएँ । र साथीले भ्यालेनटाइन डे को अघिल्लो दिन बुझाईदिएछ । तुरुन्तै म्यासेज आयो । “यती महँगो फोन किन पठाएको?? मलाई थाहा किन नदिएको?? मलाई यसै काम चलिरहेकै त थियो नि, पैसा खर्च गर्नु हुँदैन हाम्रो भबिस्य पनि त हेर्नुपर्‍यो नि । ” बेस्सरी गाली गरी । मलाई भने गाली भन्दा पनि ओहो पूजा त मैले सोँचे भन्दा ज्ञानी रहेछ भन्ने भान भयो । केही सम्बाद पस्चात आफु औधी खुशी भएको कुरा सुनाइ । मेरो मन पनि फुरुंग भयो । केकेनै गरेको जस्तो लाग्यो ।
***
मोबाइल अती प्यारो लाग्थ्यो, जतिबेला पनि कुरा गर्न पाए हुन्थ्यो जस्तो लाग्यो । मेरो काम मेशिनमा थियो । सामान राखिदिने र निकाल्दिनु पर्थ्यो । काम खास गाह्रो थिएन । भोटेको आँखा छलेर पनि च्याटमा ब्यस्त हुन्थ्येँ । च्याटमा नै भुलेँछु अकस्मात ठुलो आवाज आयो । मेशिनमा आगो लागेछ, साथीले धेरै चिच्याएछन मैले सुनिनछु । एकैछिनमा आगोको मुस्लो निस्कियो । बल्ल मेरो आँखा मेशिनमा पर्‍यो, साहुले तत्काल प्रहरिलाई फोन गर्‍यो र प्रहरिले आगो निभाए ।
करोडौको मेशिन जलेर धोस्त भयो । सिसिटिभी र घटनाको बस्तुस्थितिलाई आधार बनाएर प्रहरिले रिपोर्ट बुझायो । रिपोर्टमा मैले मेशिनमा ध्यान नदिएको, मेरो लापर्वाहिले उक्त घटना भएको कुरा आयो । त्यही कारणले मलाई साहुले कठोर सजाय दिने कुरा सुनायो । एक हप्ता सम्म बिहान आठ बजेदेखी बेलुकी १० बजे सम्म अफिसमा साहुको कुर्सी अघी उभिनुपर्ने र दिनमा एक छाक मात्र खाना खान दिने निर्णय भयो । दिनमा एकपटक पनि ठुसुक्क बस्न दिएन । त्यो हप्ता मेरो जिन्दगीको सबैभन्दा खराब हप्ता बन्यो । त्यही दिनदेखी कम्पनिभित्र मोबाइल चलाऊन प्रतिबन्ध लगाइयो । सम्झेँ यदी त्यही मेशिनसंगै म पनि परेको भए मेरो हालत के हुन्थ्यो?? परिवारको हालत के हुन्थ्यो?? अनी पूजाको?? हो मैले गल्ती गरेकै हुँ भन्ने सोचेँ र मन बुझाएँ । एक हप्ताको सजायँले मेरो शरीर प्यारालाइसेस भए बराबर भयो । केही दिन बितेपछी दुखाइ निको हुँदै गयो तर कम्पनिमा मेरो प्रतिस्ठा र मनमा लागेको घाऊ कहिल्यै निको भएन ।
***
कहिलेकाही म बजार हिंड्न लागेको बेला जिस्काउदै भन्थिन । ‘धेरै राम्रो भएर नहिंड्नुस् है फेरी कोरियन मैयाहरु पछी लाग्लान र बिच परौला ।’ मैले ठट्टा गर्दै भन्थ्येँ ‘पिर नगर न तिम्लाई कान्छी बनाउला नि’ उ रिसाएर बोल्दै नबोली बस्थी र फेरी फकाउथेँ ।
पूजासंग निरन्तर सम्बाद चलिरह्यो, मेरो हुनेवाला दुलाहा भनेर मेरै फोटो इडिट गरेर पठाएकी रहेछ । मैले पनि ‘मेरी हुनेवाली दुलहि’को लागि एक चुम्बन ‘फ्लाइङ किस’ भनेर रेकर्ड गरेर पठाइदिएँ । भन्थी ‘अचेल त हजुरको चुम्बन बिना त निदाउनै नसक्ने भईसकेँछु, अस्ती घर जाँदा हजुरसंग फोन नहुँदा कम्ती गाह्रो भएन, त्यसैले घरबाट दुईदिनमै फर्किएर आएकीँ हुँ ।’ कुरा सुन्दैमा रमाइलो लाग्यो ।खित्का मारेर हाँसें । ‘राम्रो गरिछौ’ भने उताबाट खिस्स हाँसेको इमोसन आयो ।
आजभोली भन्दाभन्दै कोरिया आएको पनि ३० महिना बितिसकेछ । घर जान मन हतारिएको थियो । पूजाबाट पनि पटक-पटक घर आउन दबाब आईरहेको थियो । अन्तबाट केटा माग्न अाइरहेका छन छिटो आउनुहोस् बिहे गरेर जानुहोला भन्थिन । घर पनि फोन गर्नासाथ ‘घर कहिले आउछौ??’ प्रश्न आउथ्यो । मैले कुनै न कुनै बहाना बनाउथेँ र तर्किन्थेँ ।
एकदिन कम्पनीमा कुरा गरेँ र घर जाने दिन(नोभेम्बर २० देखी डिसेम्बर ३०) ४० दिनको बिदा तय गरेँ, तत्काल पूजालाई फोन गरेँ र लाग्दै मंसिर आफु घर आउने र छिट्टै बिबाह कुरा सुनाएँ । उसले सुरुमा आस्चर्य मानी, पछी आफु अत्यान्तै खुशी रहेको कुरा सुनाइ । घर फोन गरेँ र आउँदैछु भने । बुवा आमा खुशी हुनुभयो । भाईबहिनी रमाउन थालिहाले । ‘अब त हाम्रो दाई आउने रे जन्ती जान पाइने भो ‘मलाई भने बुवाआमाको अघी भाईबहिनिले बिहेको कुरो गरिदिएकोमा खुब लाज लाग्यो र फोन राखिदिएं ।
छ महिना अघीदेखी नै घरमा पैसा पठाएको थिइन, कमाएको पैसा सबै विवाह खर्चको लागि भनेर जम्मा गरेर राखेको थिएँ । नेपाल पठाउने माध्याम खोजेँ । फोन गरेर मेरो बैकको खाता चेक गर्न लगाएं खाता ब्लक भएको जानकारी आयो । विवाह खर्च भनेर जम्मा गरेको पैसा बुवाको खातामा पठाउन अप्ठ्यारो लाग्यो । अप्ठ्यारो यो अर्थमा कि छोरोले पैसा लुकाउन थालेछ भनेर चित्त दुखाउनुहोला भन्ने लाग्यो । त्यही बेला पूजाको म्यासेज आयो र आफु तनाबमा रहेको कुरा सुनाएँ ।
‘यसो गरौ न त’ म्यासेज आयो ।
कसो ?? प्रश्न गरेँ ।
भो भन्दिन भो हजुरले चित्त दुखाउनु भो भने ?
हैन किन चित्त दुखाउनु र ? भन न के हो ?
म्यासेज आयो ‘मेरो खातामा पठाउनुस् न त उसो भए, हजुर आएपछी खाता खोलौला र हजुरको खातामा सारौला, हुँदैन?? ‘
सोचेँ, मैले जिन्दगी बिताउन चुनेको मान्छे, मेरी मनकी मान्छे, मेरी भावी दुलही, कसरी विश्वाश नगरौँ?? फेरी पहिले पनि पढाई खर्च भनेर पटक पटक पैसा पठाइदिएको थिएँ । हुन्छ उसै गरौँ । भनेर सबै पैसा उसकै खातामा पठाइदिएँ ।
घर जाने दिन नजिकिदै आयो । पूजालाई सोधेको थिएँ के ल्याइदिउँ? भनेर । मेरो लागि केही ल्याउनु पर्दैन, अहिले पैसा खर्च नगरनुहोस् जे जे किन्नु छ यही आएपछी किनौँला । यस्तो जवाफ आएको थियो । उनले केही चाहिदैन भने पनि मनले मानेन । श्रिङ्गारको प्याक, गुलावी भुवादार ज्याकेट, एक सेट पाउजु, र एक जोर चिटिक्कको स्याण्डल किनिदिएँ । बुवाआमालाई घडी, भाईबहिनिलाई एकएक सेट मोबाइल किनें, र बाँकी काठमाडौं नै गएर किन्ने सोच बनाएँ ।
आफन्तजन अनी साथीभाइका पनि केही थान ल्यापटप, केही थान मोबाइल र आइप्याडहरु माग भएका थिए, माग पुरा गर्न सकिन । शायद प्रिय आफन्तजनहरु मलाई देख्नासाथ नाक खुम्च्याउदै मुन्टो बटार्नेछन । मानौ मलाई कोरिया उनिहरुले नै पठाएका हुन र उनिहरुको माग पुरा गर्नु मेरो दायित्व हो । त्यो मैले पुरा गरिन ।
भोली बिहान ९;०० बजेको यात्रा छ । सामान पुरै तयार गरिसकेको छु । काठमाडौं बिमान्स्थलमा नै पूजाले लिन आउछु र भोली संगै बसौला भनेकी छ । मनमा खुल्दुली छ । भोली देखिनै मेरो नयाँ जीवनको सुरुवात हुनेछ । मेरो जीवनले नयाँ मोड लिनेछ । र नयाँ नयाँ अनुभब बटुल्नेछु । मनमा अनेक कुरा खेल्यो निन्द्रा लागेन । यसो साथीहरु हेर्छु मस्त निन्द्रामा छन, शायद उहिहरु घर गैरहेको सपना देख्दै होलान । म त बिपनामै जादै छु । बिहानिपख झमक्क निदाएछु । निदाएको केही छिनमै सपना देखेँ , कतै टाढा पूजालाई देख्दैछु उनले बोलाँउदैछिन म दौडिदै उनी भएतिर जाँदैछु । म नजिकै पुग्नासाथ उनी बसमा चढेर जान्छिन । र “पुजा” भनेर चिच्याउछु । मेरो आवाजले साथीहरु बिउँझीए तर केही बोलेनन । आजको यात्रा छ किन यस्तो सपना देखेँ ?? एकछिन पिर पर्‍यो । ह्या !! सपना त सपना हो कहिल्यै बिपना हुन सक्दैन भन्ने सोचेँ र त्यो सपना पनि मिल्काइदिएँ बिगतका सपनाहरु भएको थुप्रोतिरै ।
घर बुवालाई फोन गरेँ भाईलाई एयरपोर्ट सम्म लिन पठाइदिने कुरा गर्नु भो । मैले पर्दैन बुबा, म आँफै आइहाल्छु नि फेरी मेरो त्यहा कती बेला आउने भन्ने फिक्स पनि छैन, भनेर बहाना बनाएँ , पूजालाई आफु केही समयमै कोरियाबाट छुट्ने कुरा सुनाएँ , उसले आफु भेट हुन हतारिएको र केही घण्टापछी एयरपोर्टमा आएर पर्खिएर बस्ने कुरा सुनाइ । केही छिनमै जहाज उड्यो । केही दिनका लागि लागेँ मेशिनहरुको शहर छोडेर मन्दिरहरुको शहरतिर ।
मन प्रफुल्ल थियो, सबै जना हंसिला देखिन्थ्ये । ति सबै भन्दा म धेरै खुशी थिएँ । मेरो मन मुटुमा बसेकी मेरी प्रियासिलाई केही घण्टामै भेट्दैछु । समय छिट्टै बित्यो । नेपालको १ बजे जहाज काठमाडौं अवतरण गर्‍यो । जहाजबाट झर्दा आफ्नो पाइला जन्मभुमिमा राख्नुअघी जन्मभुमिको माटो हातले उठाएँ र शिरमा लगाए । नेपालमा भन्दा नेपालबाहिर हुँदा जन्मभुमिको माया दोब्बर हुनेरहेछ । प्रतक्ष आँफैले भोगेर फर्केको छु । चेकजाँचपस्चात झोलाको प्रतिक्षा गरेँ । घडीमा २:०० बजिसकेछ ।
केही मानिसहरु आफ्नो लगेज फुटाएर ल्यापटप, क्यामेरा र मोबाइल चोरी भएको भन्दै हल्लाखल्ला गर्दै थिए । त्यसैबेला मेरो झोला आइपुग्यो, झोला हेरेँ सकुसल देखेँ । आफ्नो झोला सकुशल कुनै हल्ला सुन्न तिर लागिन । मलाई निकै हतार भैसकेको थियो । कतिबेला बाहिर निस्कौला र पूजालाई भेटौँला भन्ने भन्ने थियो । चारैतिर आँखा डुलाउदै बाहिर निस्केँ । मानौँ कि एउटा भमराले फुल भेट्नुपुर्ब जती अताल्लिएको, भुन्भुनाएको हुन्छ, त्यो भन्दा कत्ती कम थिएन मेरो हाल । मानिसको चहलपहल बढ्दो थियो । कोही बिदेसिने पिडामा रुदै थिए त कोही फर्किएको खुशीमा रमाउदै थिए । यही ठाउँ हो यो, देशका दैनिक हजारौ युवाहरु बिदेशतिर पलायन भैरहेका छन ।
त्यहा यततत्र छरिएका मानिसका हुलहरु भएको सबै ठाउमा नजर डुलाएँ, तर मेरो आँखामा कैद भएको पूजाको आकृति मिल्दो अनुहार कतै देखिन । आउनै होला भन्ने सोचेँ र करिब एक घण्टा कुरेँ । उनको आगमनको छाँट देखिएन, मनमा खुल्दुली झनै बढेर गयो । एकजना दाइलाई रोकें, फोन मागें र फोन गरेँ । फोन डायल गर्नासाथ आवाज आयो । “तपाइले संपर्क गर्न खोज्नुभएको नम्बर स्विच अफ गरिएको छ । ” झल्यास्स भएँ, छागाबाट खसेजस्तै भयो । हात खुट्टा थररर कापे, बोली रोकियो । मनमा अनेक संका उपसंकाहरु उब्जिए । तर आँखाहरु उनकै बाटो हेरेर थाकेनन । फेस्बुक खोलेँ, छ घण्टाअघी देखी अफलाइन देखाएको छ । राती अबेरसम्म प्रतिक्षा गरें, पूजाको कुनै पत्तो लागेन । केके सपना देख्दै आएको म जोडी छुटिएको ढुकुरजस्तै भएको छु । नजिकैको होटलमा पुगें र घर फोन गरेर आफु काठमाडौं आइपुगेको जानकारी दिएँ ।
तिब्रगतिमा काठमाडौंसम्म आइपुगेको मेरो जिन्दगीको रेल अचानक रोकिएको छ । त्यहाबाट अघी बढ्नको लागि कुनैपनी लिक फेला परेको छैन, कुनै आधार छैन । जुन बाटो आइपुगेको थिए त्यही बाटो फर्किनुपनी सम्भब छैन । त्यसै ठाउँमा छताछुल्ल मन बोकेर बसेको छु । पूजालाई पटक पटक फोन गरेँ, फेसबुकमा म्यासेज पठाएँ तर कुनै पत्तो लागेन । त्यो रात त्यही होटलमा बिताए, त्यो रात मेरो कालरात बन्यो । बिहान उज्यालो भयो । डाँडामा घाम देखिन थाले तर मेरो मेरो मनको अध्यारो हट्ने कुनै छन्द देखिएन । त्यही पिल्सिएको मन र सपनाहरुको अस्तु बोकेर लागेँ जन्मघरतिर ।
लाहुरबाट छोरो घर आएकोमा हर्ष उल्लास छ । तर मेरो मन डढेलोले खाएको जंगल बराबर भएको छ । कुनै मुनाहरुको अंकुर लागेन । मुस्किलले केही दिन घरमा बिताएँ । त्यस अबधिमा बिभिन्न ठाउबाट विवाहको कुरा लिएर मान्छेहरु आए । मैले कुनै वास्ता गरिन । अहिले विवाह गर्नु भनेको आफ्नै तुहिएका सपनाहरुको मलामी जानुजस्तै लाग्यो । घरमा छोरो बदलिएछ भने, बिभिन्न आरोपहरु लाग्यो म माथी । तर मनको पिडा कसैलाई सुनाउनु उचित लागेन र सुनाइन पनि । पूजाको कुनै खबर थिएन, जिउदो वा मृत्‍यु त पत्ता लगाउनु पर्‍यो भन्ने ठानेर काठमाडौं छिरेँ । पूजाको बैँक खातामा भएको जानकारीको आधारमा प्रहरी कार्यालयमा रिपोर्ट गरेँ र प्रहरिले प्रारम्भिक अनुसन्धान सुरु गर्‍यो । केही दिनपछी थाहा भयो । पूजा त म आउने दिनको ठीक १२:०० बजे जापानको लागि प्रस्थान गरिछ ।
कस्ता निर्दयी हुँदारहेछन मान्छेहरु । सुनेको थिए, नारिहरुको मन त नौनी जस्तै कोमल हुन्छ,सत्य लुकाउन सक्दैनन र झुट बोल्न जाँन्दैनन । तर गलत रहेछ, तिनै कोमल मन भएकाहरुले अरुको सोझो मनमा छुरा हानेर छिया-छिया बनाउन सक्दा रहेछन । कसैको जीवनमा ‘प्रेम’ नामक एटमबम पड्काएर ध्वस्त पारीदिदा रहेछन । कायरहरुले यत्ती बहाना पाउँथ्ये भने आत्महत्या गरिसक्थे । तर म त्यती नालायक परिन । उसकै अघी केही गरेर देखाउनु छ, रमाएर देखाउनु छ, त्यसैले फर्कदैछु यततत्र मनहरु बोकेर उही मेशिनहरुको शहरतिर । शायद, जापानको कुनै रेस्टुरेन्टमा बियरको चुस्की लिदै, कुनै केटालाई अंगालेर रमाउदै होली, मेरो बिबाह खर्चको लागि छुट्याएको पैसाले, मेरो पसिनाले मोजमस्ती गर्दै होली, मेरी नबनेकी, मेरो घरमा “नभित्रिएकी दुलही” ।
***
कथा पढेर सकेँ, मेरा आँखाबाट आशु निरन्तर खसिरहे । सान्त्वना दिने कुनै शब्द पनि भेटिन । दुबै जना गन्तब्य आइपुगियो ।अबदेखि निरन्तर सम्पर्कमा रहिरहने बाचाका साथ छुट्टीयौ र लागियो आफ्नो आफ्नो कम्पनितिर । भोलिदेखी जोतिनु छ असारे मेलोमा र बनाउनु छ आफ्नो भविस्य सुन्दर ।
देव सागर
स्याङ्जा हाल कोरिया

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार