काठमाडौं – एकै दिन हजाराैं हेक्टरकाे बाली सखाप पार्न सक्ने सलह कीरा भारत हुँदै नेपाल प्रवेश गरेको छ । शनिबार बाराको सीमरा, डुबरबाना र निजगढ क्षेत्रमा सलह कीरा देखिएको कृषि ज्ञान केन्द्रका जितेन्द्र यादवले पुष्टि गरे ।

उनका अनुसार कीरा ठूलो झुण्डमा भने देखिएको छैन भने यसबारे थप विवरण लिने काम भइरहेकाे छ । सलह नेपालमा प्रवेश गरेसँगै किसान त्रसित बनेका छन् ।

यसअघि कृषि मन्त्रालयको एउटा निकायले अब कीरा नेपाल प्रवेश नगर्ने निष्कर्षसहितको प्रतिवेदन तयार गरेको थियो । तर, यो निष्कर्ष निकालिएको एक महिना पनि नपुग्दै नेपालमा भारतबाट सहल प्रवेश गरेको हो ।

फट्याङ्ग्रा प्रजातिको एक कीरा सलहले अण्डाबाट निस्केपछि खान थाल्छ । खन्चुवा प्रवृत्तिको यो कीराले वरिपरिका हरिया घाँसपासलाई पहिलो आहरा बनाउँछ । खाँदै अगाडि बढ्दै गर्दा विभिन्न क्षेत्र विचरण गर्छ । पाँच चरणमा आफ्नो काँचुली फेर्दै यो बयस्क बन्छ । जतिपटक काँचुली फेर्छ, त्यति ठूलो आकार लिन्छ ।

हाल देखिएको सहल विगत ७० वर्षअघि देखिएको भन्दा २० गुणा ठूलो आकारको रहेको बताइएको छ ।

यसले बिरुवाका पात, फल मात्र हैन, यसको हाँगा र बिरुवा नै सखाप पार्ने गर्दछ । सलहको हुलले एक दिनमा १५० किलोमिटरको दूरी पार गर्ने क्षमता राख्ने विज्ञहरु बताउँछन् ।

सलह किराको आकस्मिक सुरूआत १२ नोभेम्बर, २००७ मा सुडानको उत्तरी भागमा पहिलो पटक देखिएको थियो र आज फेरि १३ वर्षपछि कोरोनाले आर्थिक गतिविधि अस्तव्यस्त पारिरहेको समयमा सलह नामक फट्याङ्ग्राले बालीनाली नै नाश गरी खाध्य संकटतर्फ मोडिने खतरा बढेको देखिन्छ।

पहिले सुडानबाट आफ्नो आतंक सुरु गरेको यो किराले अहिले अफ्रिकी मुलुकहरुमा तहल्का मच्चाइरहेको अवस्था छ । अफ्रिकाबाट करोडौको बथान बनाएर उड्न थालेका यी किराले पाकिस्तान हुँदै अप्रिल १३ मा राजस्थान, पन्जाब र उत्तर प्रदेशमा पुगी आफ्नो प्रभुत्व जमाउन सुरु गरिसकेको छ।

सलह किरा २०१८ सालमा साउदी अरब नजिकैको अरेबियन प्रायद्विप पेनिनसुला मा दुई ठूला आँधी साइक्लोनले भारी वर्षा गराएपछि प्रजनन् गराएको पाइन्छ, जहाँ ९ महिनामा ३ पुस्ताको प्रजनन् गरेर यिनीहरूले आफ्नो सङ्ख्या ८०० गुणाले बढाएका थिए ।

नजिकैको यमन र ओमानले त्यतिबेला खाद्य सङ्कटमा जुधिरहेकाले उनीहरूले यस किरालाई प्रोटिनको रुपमा प्रयोग गरे र यो किरा लाल सागर र गल्फ अफ इडेनलाई पार गरि अफ्रिका पुगेको मानिन्छ। २०१९ मा अफ्रिकाको सोमालियामा साइक्लोनका कारण भारी वर्षा भएको थियो जसका कारण त्यहाँको माटो ओसिलो र वातावरण हरियाली भयो। यसले गर्दा यो किराको प्रजनन् क्षमता र दर बढायो र यो केन्यासम्म सन् २०२० को पहिलो महिनामा पुग्यो ।

त्यहाँको वर्षा र चिसो माटोले यसको जनसङ्ख्या बढाउन अझै मद्दत गरेको पाइन्छ । यो निकै नै पुरानो प्रवासी (माइग्रेटरी) शत्रुजीव हो। अन्टार्कटिका बाहेक सबैजसो महादेशमा यो विपत्ति फैलिएको पाइएको छ। सलह किराहरु धेरै प्रजातीहरुका छन्। ती मध्ये अस्ट्रेलियामा फैलिएको सलहलाई अष्ट्रेलियन प्लेग लोकस्ट भनेर चिनिन्छ भने अमेरिकामा फैलिएको किरालाई अमेरिकन लोकस्ट भनिन्छ ।

तर यो सलहले झुण्ड प्रकारको व्यवहार भने देखाउँदैन। सबैभन्दा हानिकारक सलह भनेर मरुभूमिको सलह (किस्टोसेर्का ग्रेगारिया) लाई चिनिन्छ। जुन अहिले पनि धेरै ठाउँहरूमा फैलिएर विनाश फैलाईरहेको छ ।

यो एक ठाउँबाट अर्को ठाउँ उड्ने भएकाले यसको अबको जोखिमयुक्त क्षेत्र नेपाल पनि हो भन्दा फरक नपर्ला। सलह बथानमा उड्ने फट्यांग्रा किरा हो । एक वर्ग किलोमिटर क्षेत्रफलमा १५० लाखसम्म किराहरू हुन सक्ने समेत प्रमाण पुष्टि भएको छ भने यी किराहरू दैनिक ९० माइल (१००-१५० किमी) सम्मको वायु यात्रा दुरी पार गर्न सक्छन् ।

औसतमा एउटा बथानले २५ हजारभन्दा बढी मानिसलाई खान पुग्ने खाना एक दिनमा खान सक्दछन् र जुनको महिनामा यो बढेर १ करोड ७५ लाख सम्म पुग्ने अनुमान छ। सलह किराको सङ्ख्या सुरुमा कम हुने गर्दछ। तर लगातार वर्षाको कारण उक्त ठाउँ चिस्सिएर (अण्डाबाट निस्किन उपक्युत वातावरण) सलह किराको प्रजनन् दर बढेको पाइन्छ।

यसले आफ्नो ९० दिनको जीवन चक्रको अन्तरालमा तीन पटकमा ६०-८० वटासम्म अन्डा पार्छ। यसको बारेमा संघीय, प्रदेश र स्थानीयलाई सचेत गराउनको साथै किटनाशक औषधि जुटाउने र टिभि रेडियो अनि विभिन्न प्रचार माध्यमबाट जनचेतना दिनु जरुरी छ ।

विश्व खाद्य तथा कृषि संगठन र संयुक्त राष्ट्रसंघले सलहको बिगबिगी बढ्दै गए खाद्य आपूर्ति जोखिममा पर्ने र ठूलो संकट आइपर्न सक्ने चेतावनी दिएको छ। गत वर्ष अरेबियन प्रायद्वीपमा आएको चक्रवातका कारण सलहको संख्या बढेको विज्ञहरूले बताएका छन् । चक्रवातपछि साउदी अरब र यमनका सुनसान भूभागमा सलह ठूलो मात्रामा जन्मिएका थिए। उक्त भूभागमा उत्पन्न भएका सलह ‘हर्न अफ अफ्रिका’ मा पुगेका थिए ।

हर्न अफ अफ्रिकाबाट उडेका सलह केन्यासहितका विभिन्न देशमा प्रवेश गरेर ठूलो मात्रामा बालीनाली नष्ट पारे। केन्या, सोमालिया, इथियोपिया हुँदै युगान्डा, तान्जानिया, सुडान लगायतका देशलाई यी फट्यांग्रे किराले अनिकालको नजिक पुर्याइसकेका छन्। गत फेब्रुअरीमै संयुक्त राष्ट्र संघको मुख्यालयमा गरिएको एक ब्रिफिङमा संयुक्त राष्ट्र संघका आपतकालीन राहत संयोजक मार्क लोककले यो हुललाई रोक्न संसारले नै सामूहिक प्रयत्न गर्नुपर्ने बताएका थिए ।

‘यो एक मौसमी प्रकोप हो। असाधारणरूपमा भारी वर्षा र हिन्द महासागरमा चक्रवातको सिलसिला बढेको कारण सलहहरूका लागि उपयुक्त वातावरण सिर्जना भएको छ,’ उनले भनेका थिए, ‘जहाँ पहिले नै यति धेरै कष्ट, जोखिम छ, त्यहाँ अर्को ठूलो आघात भएको सहन सक्दैनौँ। त्यसकारण हामीले द्रुत गतिमा काम गर्नु पर्नेछ।’

सलहको प्रकोप नेपालका लागि नौलो होइन। विभिन्न समयमा सलह आएर यहाँका किसानलाई दुःख दिएको इतिहास छ । २०५३ सालमा तत्कालीन कृषिमन्त्री पद्मसुन्दर लावतीले संसदमा ‘नेपालको केही भागमा सलहको ठूलो भीडले ८० प्रतिशत बालीमा क्षति पुर्याएको’ बताएका थिए ।

त्यतिबेला सलहले चितवनमा मात्रै ८० प्रतिशतभन्दा बढी बाली नोक्सान गरेको थियो। लावतीले मकवानपुर, महोत्तरी र बारा जिल्लामा सलहले थोरै मात्रामा बालीनाली नष्ट गरेको बताएका थिए ।

लावतीले संसदमा ‘पहिलोपल्ट’ भने पनि नेपालमा सलहको प्रकोप परेको त्यो पहिलो पटक थिएन। सरदार भीमबहादुर पाँडेको २०३८ सालमा प्रकाशित ‘त्यसबखतको नेपाल’ मा सन् १९८५-८६ सालतिर विश्वमन्दी भएको बेलामा अफ्रिकाको मरूभूमिबाट सलहको बथान आकाशै ढाकेर आउने गरेको उल्लेख छ।

पाँडेले ‘त्यस बखतको नेपाल, भाग–१’ मा लेखेका छन्, ‘मुरीका मुरी सलह छोपेर जनताले खाए- अन्नपात सलहले खाए पनि। सलहले अन्न खाएजत्ति नै गाउँलेले सलह खाएजस्तो देखिन्थ्यो। सलह आएको धेरै महिनासम्म पनि असनमा सुकाएका मुरीका मुरी सलहको खरिद–बिक्री चल्दै थियो। सिधाभन्दा सलहलाई जनता रूचाउँथे र सलहको सुकुटी धेरै महिनासम्म खप्दथ्यो पनि ।’

सलह किराको प्रकोपलाई कम गर्नका लागि विभिन्न पहलहरू भइरहेका छन् ।

तिमध्ये केही उपायहरु यसप्रकार छन् । 

  • विभिन्न उपकरणहरुको माध्यमबाट थोरै मात्रामा (युएलभी फर्म)
  • अर्गानोफोस्फेट रसायनहरुको प्रयोग गर्न सकिन्छ ।
  • कम दुरी उड्न सक्ने उपकरणबाट वायुमण्डलिय डिस्टर्ब सिर्जना गर्न सकिन्छ ।
  • किराले प्रजनन् गर्ने सक्ने ठाउँलाई कुनै रसायन या घरेलु विधिबाट नष्ट गर्न सकिन्छ ।
  • टायर बाल्ने, जालको प्रयोगबाट छोप्ने, खाडल बनाएर हाल्ने जस्ता क्रियाकलापबाट पनि केही हदसम्म यस किराको प्रकोपलाई कम गर्न सकिन्छ ।
  • अलि बढी फैलिएको ठाउँमा भने जैविक किट्नाशक औषधि (बायोपेस्टिसाइड्स; फङ्गाइ बेस्ड ग्रीन मसल) प्रयोग गर्न सकिन्छ ।
  • पाकिस्तानमा डाइजिनन र फिप्रोनिल साथै अफ्रिकामा ग्रीन मसल भन्ने विषादीको प्रयोग सबभन्दा सफल देखिन्छ ।
  • उपग्रह चित्रको विश्लेषण, स्टकपाइल कीटनाशक र बेन्डीकार्ब, डेल्टामेर्थिन, फिप्रोनिल, मेटार्जिजियुम एनिसोप्लाइ क्लोर्पाइरिफोस जस्ता कीटनाशकको प्रयोग तथा एरियल स्प्रे गर्नु नै यसको मुख्य व्यवस्थापन भित्र पर्छ ।

नेपालमा सलह कसरी व्यवस्थापन गर्ने भनेर (२०७७, १३ जेठ) कृषि मन्त्रालयमा नेपाल कृषि अनुसन्धान परिषद् (नार्क), प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रले यसको नियन्त्रणको लागि आवश्यक अध्ययन गर्न पाँच जनाको प्राविधिक टोली बनाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार