काठमाडौँ – प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको राजीनामाको मागले सत्तारुढ नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला राष्ट्रपति भण्डारीलाई महाअभियोग लगाएर हटाउने प्रसंगले नयाँ राजनीतिक मोड लिएको छ ।

नेकपाका एक स्थायी समिति सदस्यले ओलीलाई मात्र नभई राष्ट्रपति विद्यादेवी भण्डारीलाई समेत हटाउने आफूहरुको तयारी रहेको सुनाएपछि ओली निकै आक्रामक रुपमा प्रस्तुत भएको बताइएको छ ।

‘अध्यक्ष ओलीलाई दुवै पदबाट मात्र नभइ राष्ट्रपतिलाई समेत हटाउने तयारी सुनाएपछि उनी बढी आक्रोशित भएको नेकपाका एक नेताले बताए ।

यसैबीच, पार्टीभित्र संकट गहिरिँदै जाँदा ओलीले राष्ट्रपति भण्डारीसँगको भेटघाट पनि बढाएका छन्।

दोस्रा अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले ओलीलाई प्रधानमन्त्री र पार्टी अध्यक्ष दुवै पदबाट राजीनामा दिन स्थायी समितिमा चर्को दबाब दिएपछि नेकपाभित्रको विवाद पार्टी फुटसम्म पुग्ने अवस्था सिर्जना भएको छ।

सामान्य आलोचनासमेत सुन्न नचाहने ओली जारी स्थायी समिति बैठकमा आलोचनाको तारो बनेका छन्। दाहाल नेपाल पक्ष ओलीलाई दुवै पदबाट हटाउन जति आक्रामक छन् ओली नहट्न त्योभन्दा बढी बलजफ्ती गरिरहेका छन्।

ओलीले शुक्रबारको भेटमा दाहाललाई पार्टी फुटका लागि तयार रहन भन्दै आफू वा नेपाल मध्ये एउटा कित्तामा उभिन चेतावनी दिए।

आफू इतरका नेताहरु हात धोएर लागेपछि ओलीले बिहीबार अर्का अध्यक्ष दाहाललाई झुक्याउँदै संसदको जारी अधिवेशन अन्त्यका लागि राष्ट्रपति समक्ष सिफारिस गरेका थिए। सिफारिस पुगेको केहीबेरमै राष्ट्रपति भण्डारीले सरकारको सिफारिसलाई अनुमोदन गरेकी थिइन्।

संसद अधिवेशन अन्त्य भएसँगै ओली दल विभाजन गर्न सजिलो हुने गरी अध्यादेश जारी गर्न लागि परेको आरोप लागेको छ। बिहीबारको स्थायी समिति बैठकमा दाहालले अध्यादेश आउन सक्ने ब्रिफिङ गरेका थिए।

पार्टीको पहिलो अध्यक्ष वा संस्थापन भएर पनि ओली अरु भन्दा आक्रामक र उत्तेजित हुनुमा उनी इतरका एक प्रभावशाली नेताको अभिव्यक्ति मुख्य कारक रहेको स्रोतको दाबी छ।

महत्वपूर्ण बैठकअघि उनी राष्ट्रपति भण्डारीसँग छलफल गर्न शितल निवास पुग्ने गरेका छन्। शनिबार साँझ पनि मन्त्रीहरुलाई बालुवाटार बोलाएर उनी शितल निवास पुगेका छन्। त्यस्तै उनीनिकट नेता एवं सांसदहरुको शितल निवासमा उपस्थिति बाक्लिएको छ।

ओलीले आफ्नो पक्षमा सडक आन्दोलन चर्काउन समेत युवा विद्यार्थीलाई मध्यरातमा बालुवाटार बोलाएर निर्देशन दिएका छन्।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार