बिगेन तुलाधर, काठमाडौँ – नेपालका ७ औं संघनायक डा. भिक्षु ज्ञानपूर्णिक महास्थविरको आज सरकारी सम्मानसहित अन्त्यष्टी गरिएको छ ।

८१ वर्षको उमेरमा शुक्रबार निधन हुनु भएका डा. भिक्षुको आज शंखमुलमा अन्त्यष्टी गरिएको हो ।

पाल्पाको तानसेनमा जन्मनु भएका हिरालाल शाक्य पछि गएर डा. भिक्षु ज्ञानपूर्णिक महास्थविरको उपमाबाट परिचित हुनु भयो । बर्माबाट पालि शिक्षामा धम्माचरिय गर्नुभएका डा. भिक्षुले वर्माको इतिहासमा धम्माचरिय गर्ने पहिलो विदेशी विद्यार्थीको रुपमा इतिहास रच्नु भयो ।

बर्मीज विश्व शब्दकोषको सम्पादनमा पनि उहाँको ठूलो योगदान रहेको छ । विभिन्न ठाँउमा रहनुहुदा उहाँले ६० भन्दा बढी बौद्ध साहित्य ग्रन्थहरु अनुवाद, सम्पादन तथा लेखन गरी प्रकाशन पनि गर्नुभयो ।

भारतको वाराणसी संस्कृत विश्वविद्यालयबाट संस्कृतमा स्नातक गर्नुभएका डा. भिक्षुले त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तरसम्मको अध्ययन गर्नु भयो ।

उहाँ कुशल धर्म प्रचारक, ग्रन्थकार, प्रकाण्ड विद्वान, कुशल धर्म प्रवचक तथा भाषानुवादकको रुपमा परिचित हुनुहुन्छ । नेपाल भाषा, नेपाली, हिन्दी, अंग्रेजी, पालि, संस्कृत र बर्मी गरी सात भाषामा उहाँको दख्खल थियो ।

थाइल्याण्डको महामुकुट बुद्धिष्ट विश्वविद्यालयबाट उहाँलाई मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरियो र महाचूलालोङ्गर्कन राजविद्यालयबाट पनि पालिमा मानार्थ विद्यावारिधिको उपाधि प्रदान गरिएको थियो ।

आइतबार भएको उहाँको शव यात्रामा हजारौँ मानिस सहभागी भएका थिए भने सरकारको तर्फबाट उच्च सम्मानसहित नेपालको राष्ट्रिय झण्डा ओडाएर अन्त्यष्टी गरिएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार