काठमाडौं – काठमाडौं जस्तो पानीको समस्यासँग जुधिरहेको सहरको लागि वर्षायाम एक वरदान भन्दा कम छैन । आकासेपानी पानीको एक प्राकृतिक स्रोत हो र यसको सही उपयोग गरेमा यसले पानीको समस्या धेरै हदसम्म समाधान गर्न सक्छ तसर्थ आकासेपानी संकलन र पुनर्भरणलाई प्रोत्साहित गर्ने उद्देश्यले गुथि र ह्याण्डमेड वाटरले संयुक्तरुपमा आकासेपानी संकलन र पुनर्भरण सम्बन्धी जिज्ञासा र जवाफ शत्र शनिवारको दिन अनलाईन मार्फत सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै पुर्व वातावरण तथा विज्ञान मन्त्री गणेश शाहले भने ‘‘अहिलेको समयमा पानीको सुविधा उपलब्धता गराउनु प्रत्येक स्थानीय तहको कर्तव्य हो । तर काठमाडौं जस्तो शहरी क्षेत्रमा जमिनको पानीको मात्रा घटदै गइरहेको र पानीका स्रोतहरु पनि सुक्दै गइरहेको पाइन्छ भने भारी वर्षातको समयमा यहाँ प्रत्येक वर्ष सडकमा बाढीले समस्या निम्त्याईरहेको हुन्छ जसको दिर्घकालिन समाधान भनेको आकासेपानी संकलन र जमिन पुनर्भरण गर्नु हो । यसको लागि काठमाडौं महानरपालिकाले ल्याएको रिचार्ज काठमाडौंको निति सबैमा आशा बनेको भए पनि धेरैलाई यसको बारेमा जानकारी नभएको देखिन्छ । त्यसैले अव प्रत्येक वडाले आफ्ना वडावासीहरुलाई यस नितिको बारेमा जनचतेना जगाउने र सार्वजनिक विद्यालयहरुमा आकासेपानी संकलन र रिचार्ज प्रविधि जडान गरि अभिभावकहरुमा यस प्रविधिको बारे जानकारी गराउनु आवश्यक रहेको छ । महानगरपालिका र नगरपालिकाले भवनको नक्सा पास गर्दा आकासेपानी संकलन प्रविधिलाई अनिवार्य गराउनुका साथै प्रत्येक वर्ष अनुगमन गर्नु पनि जरुरी छ ।’’

काठमाडौं महानगरपालिकाले आकासेपानी संकलन र पुनर्भरणका लागि रिचार्ज काठमाडौं कार्यक्रम नितिमा आइसकेको र यसको कार्यविधि तयार गरि विभिन्न चरणमा छलफल भइरहेको बारे काठमाडौ महानगरपालिका सहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले कार्यक्रम मार्फत जानकारी दिए । ‘‘आकासेपानी संकलन र पुनर्भरणका लागि सम्भावित क्षेत्रको पहिचान, खुला क्षेत्र र परम्परागत इनार, ढुङ्गधारा र पोखरीहरुको अभिलेखिकरण र नक्सामा समाबेस गर्न प्रयासरत रहको छौ ।’’ उनले भने । नमुना कार्यक्रमकारुपमा गोंगबु क्षेत्रमा ३ वटा इनार बनाएर कति रिचार्ज गर्न सकिन्छ भन्ने अध्ययन गर्दा सोचेको भन्दा बढी पानी पुनर्भरण भएको र पछिल्लो वर्षमा जस्तो सहरी बाढी र ढलको समस्या नआएको स्थानीयबाट प्रतिक्रिया पाएको पनि कार्यक्रममा उनले जानकारी दिए । महानगरपालिकाले हरेक पार्कमा आकासेपानी रिचार्ज पिट बनाउने निर्णय गरेको बताए । साथै सर्वसाधारणले घर बनाउँदा रिचार्ज पिट बनाएमा केही सहुलिएत दिने बारे जानकारी दिदै यसका लागि ३ वर्षिय कार्ययोजना तयार भएको र उक्त कार्य यस पुस्ताका लागि भन्दा पनि पछिको पुस्ताको लागि निकै महत्वपूर्ण रहेको जानकारी उनले गराए ।

‘‘काठमाडौंका धेरै जनतालाई आकासेपानी संकलन गर्ने विधि यसको गुणस्तरता र प्रविधिका बारे जानकारी नभएको, यो प्रविधि खर्चिलो तथा पुरानो घरमा जडान गर्न झनझटीलो हुने मनोभावना रहेको र यसको निराकरणका लागि महानगरपालिकाले आकासेपानी संकलन तथा पुनर्भरण सम्बन्धि जनचेतनामुलक कार्यक्रम ल्याउनु पर्छ ।’’ आकाशेपानीमा अनुसन्धान गरिरहनु भएका सहभागि अनुसा थापाले भने ।

काठमाडौं महानगरपालिकाका वातावरण अधिकृत सानु मैयाँ महर्जनले आफ्नो अनुभव साट्दै भनिन् ‘‘मैले २०५५ सालबाट आकासेपानी संकलन सुरु गरेको थिँए । त्यस समयमा पानी संकलन गर्ने ट्याँकी भएता पनि पुरानो घर भएकोले विभिन्न भाँडामा संकलन गर्थे । २०७६ सालबाट मैले ३० हजार लिटरको अन्डर ग्राउन्ड टयाँकी सहितको घर निर्माण गरेको छु । मेरो घर सानो भएता पनि टयाँकी ठुलो बनाउने सोच थियो । यो वर्ष मैले ८७ हजार लिटर पानी संकलन गरी ४० हजार लिटर जोगाउन सफल भएको छु ।’’

छलफलका क्रममा ‘‘विद्यालयको भवनको छतबाट आकासेपानी संकलन गरी उक्त संकलित पानीलाई सेरामिक फिल्टरको प्रयोगबाट प्रशोधन गरि आफ्नो सम्पूर्ण विद्यार्थीलाइ खुवाइरहेको र अहिले सम्म कुनै समस्या आएको छैन । त्यसै गरि स्कुलबाट निस्केको फोहोर पानीको प्रसोधन गरेर बगैचामा प्रयोग गर्दै आईरहेको छु ।’’ पुर्णकलश मोन्टेश्वरीका प्रधानाध्यापक सुनिता महर्जनले बताइन् ।

निभा रेनका निर्देशक नरेन्द्रमान डंगोलले आकासेपानी संकलन प्रविधिको जडान निकै सुलभ र सस्तो रहेको बताए । आकासेपानी संकलन प्रविधि, यसको प्रशोधन गर्ने वायो स्याण्ड फिल्टर र फोहोर पानी प्रशोधन गर्ने प्रविधि आफ्नै घरमा जडान गर्दा सुरुमा २ लाख जति लगानी भएता पनि ३ वर्षमा नै लगानी उपर भएको दाबी गरे ।

‘‘मेरो घरमा धाराको पानी नआएको दशकौ भैसकेको छ तर मैले आकासेपानी संकलन गरेर वर्ष भरिको लागि पानीको जोहो गर्छु । वायो स्याण्ड फिल्टरबाट प्रशोधन गरेको आकासेपानी टयाँकरको पानी भन्दा सफा र गुणस्तरीय हुन्छ ।’’ गुथिका प्राविधिक सल्लाहकार तथा आकासेपानी संकलनका विज्ञ प्रकाश अमात्यले बताए । काठमाडौं महानगरपालिका लगायत उपत्यकाको विभिन्न नगरपालिकाहरुले आकासेपानी रिचार्ज अभियान ल्याएता पनि नागरिक समक्ष पुग्न सकेका छैनन । अवका दिनमा नितिगत भन्दा पनि महानगरपालिकाले रिचार्ज काठमाडौ अभियानलाई व्यवहारीक र कार्यान्वयन तहमा लिएर जान वडा स्तरिय समुदायमा आधारित भएर घर दैलो आकासेपानी रिचार्ज कार्यक्रम लागु गर्नुपर्ने कुरामा अमात्यले जोड दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार