समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनताबीच हासालै पार्टी एकिकरण भएको छ । एकिकरण पश्चात जनता समाजवादी पार्टीको नाममा निर्वाचन आयोगमा पनि दल दर्ता भइसकेको छ । एकिकरण पश्चात पाटीको भुमिका, चुनौती र समसामयिक घटनाक्रमलाई लिएर जसपाका शिर्ष नेता राजेन्द्र प्रसाद श्रेष्ठसँग गरिएको कुराकानी :

कुनै समयको नेकपा एमालेको प्रभावशाली नेता । हाल नेकपा एमाले पनि पार्टी एकिकरण पश्चात देश कै ठूलो पार्टी बनेको छ, बहुमतको सरकार संचालन गरिरहेको छ । तपाई पनि हाल नेकपा मै भएको भए मन्त्री नत्र ठूलो पार्टीको कुनै जिम्मेवारी सम्हालिरहनु भएको हुन्थ्यो । एमाले किन छोड्नु भएको ?

पद प्रतिष्ठा मै केन्द्रित हुने भएको भए मैले नेकपा एमाले छोड्नु पर्दैन थियो । यसै कुरामा केन्द्रित रहेका साथीहरु हामीसँग बिचार मिल्दामिल्दै पनि त्यसै पार्टीमा हुनुहुन्छ । उदाहरणका लागि पृथ्वी सुब्बा गुरुङ्ग, रामचन्द्र झा लगायतका थुप्रै नेताहरु हामी पार्टी भित्रका आन्तरिक संघर्षमा एक साथ मै थियौँ । पार्टी परित्यागको केही समय अघिसम्म मात्र पनि हामी सहकार्य मै थियौँ । जसले निर्वाचनको परिणामको बारेमा मात्रै सोचे, पद प्रतिष्ठाका सम्बन्धमा मात्रै सोचे, उहाँहरुले पार्टी परित्याग गर्नु भएन । एउटा यस्तो राजनीतिक शक्तिको नेपालमा आवश्यक भयो, विचारमा नयाँ ढङ्ग र युग सुहाउदो होस र परिवर्तनलाई आत्मसाथ गर्ने । जनताको बहुदलिय जनवाद डेट एक्सपाएर भइसकेको थियो । संघियता, समावेशिता र समानुपातिक्तालाई अगाडी सार्नुको लागि एउटा नयाँ सैदान्तिक अवधारणको जरुरत परेको थियो । ७२ को संविधानबाट प्रशासनिक ढाँचाको प्रदेश व्यवस्था भयो, हामीले पहिचानमा आधारित संघियताको मान्यता बोकेको हुँदा, यो संघिय प्रणलीलाई समुन्नत शासन प्रणालीमा बदल्नु पर्छ, त्यो भनेकै पहिचानसहितको संघियता हो भन्ने जरुरत ठान्यौँ । नेपाली विशेषताको समाजवादको पनि आवश्यक्ता ठान्यौँ जसले जस्तो समाज उस्तै पार्टी र जस्तो समाज उस्तै राज्य बनाउन सकोस । समुन्नत शासन प्रणाली भएको, नेपाली विशेषताको समाजवाद अपनायौँ ।

रातारात पार्टी एकिकरण गर्नुभयो । के त्यस्तो तत्व आइपर्यो जसले पार्टी एकिकरण गर्न उत्प्रेरित गर्यो ?

वास्तम्म भन्ने हो भने रातारात भएको त होइन । हामीले जसरी नयाँ शक्तिसँग पार्टी एकिकरण गर्दा दुई वर्ष अनवरतरुपमा वार्ता गर्यौ, राजपासँगको एकता पनि लगभग एक वर्ष यसैगरी अगाडी बढ्यो । उहाँहरुको तर्फबाट राजेन्द्र महतोले संयोजन गरिराख्नु भएको थियो र हाम्रो तर्फबाट मैले नै संयोजन गरिरहेको थिए । १५/१६ पटक भन्दा बढी हामीले वार्ता अगाडी बढायौँ । मिल्छ जस्तो हुन्छ मिल्दैन, यो क्रम चलिनै रहयो । पार्टी एकताको कार्यलाई अन्तिम रुप दिने भनेर तयारी गर्दागर्दै कोरोना भाइरस महामारी आयो । यसले राजनीतिक गतिबिधिका साथै एकिकरणमा पनि प्रभाव पर्न गयो ।

तर यसै बीच केपी ओलीले नयाँ अध्यादेश ल्याएर पार्टी फुटाउने, बास्केटमा पैसा बोकेर हिँड्ने देखि लिएर अनेक प्रलोभन देखाउने राजनीतिको फोहरी खेल खेल्ने कार्य गरे । पञ्चायतकालमा पनि सायद यति फोहरी खेल भयो कि भएन । हाम्रो सांसद पनि अपहरण गरेर ल्याइसकेको अवस्था थियो ।

प्रधानमन्त्रीले जारी गरेको अध्यादेश नै भयो त पार्टी एकिकरणको क्याटालिस्ट ?

त्यो मात्र त होइन । केपी ओलीको सांसद किनबेचसम्मको फोहरी योजना र राजनीतिमा भएको वेश्यावृत्ति भन्छु म । त्यो प्रवृत्तिको नाइके केपी ओली बन्न गए । बालुवाटार राजनीतिक वेश्यावृत्तिको केन्द्र बन्यो । अब त्यसलाई रोक्न र केही मात्र मतभेद भएका कुराहरुमा सहमती गरेर पार्टी एकिकरण गर्ने निर्णय गर्यौँ ।

सांसद अपहरणकै कुरामा पनि, जसले अपहरण गरे भनेर आरोप लगाउनु भयो, उनीहरुले सहमती मै काठमाडौँ आइयो, आइपुगेर अपहरण गर्यो भने भन्ने आरोप लगाए भन्ने कुरा आयो नि ?

भन्नेले त आफ्नो आफ्नो बचाउ गर्छन् । उहाँसँग परिचित नै नभएका व्यक्तिहरु उहाँको घरसम्म उहाँलाई लिन जानुपर्ने कारण के थियो ? गाडी परिवर्तन गर्नुपर्ने कारण के थियो ? त्यो मात्रै होइन अरु सांसदहरुलाई पनि लिन जाने घटना घटेकै थिए । त्यसमा उहाँहरु सफल हुनु भएन । त्यो कुरा पार्टीमा जानकारी आइसकेकाले हाम्रा साथीहरु सचेत हुनुहुन्थ्यो । यस्तो गतिबिधि गरेका केपी ओलीलाई इतिहासले कहिलै पनि क्षमा गर्दैन ।

हातधोएरै अपहरणकारीको आरोप लगाउनु भएकाहरुलाई तेस्रो ठूलो दल भएर पनि कार्वाही गर्न त सक्नु भएन नि ?

राजनीतिमा अपराधिकरण र अपराधमा राजनीति, नेपालमा एकदमै जोडियो । सत्ताको बलमा आफ्नै पार्टी भित्र पनि कति अपराध गरिरहेको हेर्नुहोस् त तपाईहरुले नै । आफ्नो पार्टीको द्वन्द मिलाउन नसकेर संसदलाई अचानो बनाइयो । विधेयकहरु आइरहेको, महत्वपुर्ण कामहरु बाँकी रहेको संसद अचानो बनाइयो । प्रतिनिधि सभाको अध्यक्षसँग पनि छलफल छैन, आफ्नै पार्टीका नेता तथा विपक्षी दलका नेताहरुसँग पनि कुनै छलफल छैन । पार्टी भित्र द्वन्द चलेर प्रधानमन्त्रीको कुर्ची बचाउन ससंद अधिवेशनको अन्त्य गरे ।

पार्टी एकिकरणको माध्यमबाट सशक्त वैकल्पिक राजनीतिक शक्ति बन्ने लक्ष्य लिनु भएको छ । पूर्व प्रधानमन्त्री, पूर्व मन्त्रीहरु, जो बाट जनता आजित भएर राजनीतिक वितृष्णा पलाएको छ, उनीहरु नै रहेको पार्टी शसक्त वैकल्पिक पार्टी बन्न सम्भव छ ?

नेकपा र नेपाली काँग्रेसले देश हाँकीसकेको अवस्था छ । धेरै व्यक्ति तिनै पार्टीका प्रधानमन्त्री बनेका छन् । हाम्रो कुरा गर्ने हो भने एक जना वावुराम भट्टराई मात्र हो । डा. भट्टराईले पार्टी परित्यागको समयमा नै पुरानो विचार धारा त्यागेर नयाँ विचारधाराको जरुरत रहेको भन्नुभएको छ । पहिलेको संघर्षले गणतन्त्रको स्थापनासम्म राम्रै काम गर्यो र आगामी दिनका लागि नयाँ शक्तिको आवश्यक्ता छ भनेर नयाँ शक्ति गठन गर्नु भयो । नयाँ राजनीतिक शक्ति भनेको अनुहारले होइन सिद्धान्तले हो ।

समानुपातिक सांसदको पद पार्टीले दिएको पद हो । पार्टीले दिएको पदमा बसेर पार्टी कै ह्विप उल्लंघन गर्ने सांसद देख्दा, गलत मानिस चुनिएछ भन्ने लाग्दैन ?

निवार्चन भन्दा केही समय अगाडी, उहाँले नेतृत्व गरेको सद्भावना पार्टी हामीसँग एकिकरण भयो । एकिकरण भएको समयमा उहाँको अकांक्षाहरुलाई पनि सम्बोधन गर्नु पर्ने स्थिती आयो । त्यसै क्रममा समानुपातिकमा खस आर्य तर्फ उहाँलाई पहिलो नम्बरमा राखियो । त्यो उहाँको लागि ठूलो सम्मान थियो तर उहाँको राजनीतिक व्यवहार सन्तोषजनक हुन सकेन । नेपालको संविधानले राष्ट्रिय स्वाधिनता, अखण्डता र सार्वभौमसत्ता जस्ता विषयको विपक्षमा संसदमा बहस हुन सक्दैन भनेको छ । पार्टीले बारम्बार गरेको निर्देशन उहाँले उल्लंघन गरेकाले हामीले उहाँलाई पार्टी र सांसदबाट निस्काशित गरेका छौँ ।

निवार्चन आयोगमा दल दर्ता गर्ने क्रममा वावुराम भट्टराईको नाम टिपेक्स लगाएर हटाइयो । समाजिक संजालमा पनि टिपेक्स काण्डले निकै चर्चा पायो । के कारणले वावुराम भट्टराईको नमामा टिपेक्स लगाउनु पर्यो ?

सुरुमा त सबै ५१ जना पदाधिकारी कै नाम उल्लेख गरेर निर्वाचन आयोगमा पठाउने भन्ने थियो । वार्ता गर्दागर्दै सबै कुराहरु टुंगाउन सकिएन । संघिय परिषद अध्यक्ष, सह अध्यक्ष लगायत अन्य पदहरु पछि निर्धारण गर्ने भन्ने भएपछि दुई अध्यक्ष मात्र राख्ने अन्यको नाम पछि निर्कोल गर्ने भन्ने सहमती अनुसार भएको हो । उहाँले नै सबैको एकैसाथ गरौँ, नगर्दा खेरी अध्यक्षको नाम मात्र राखेर जाऔँ भन्नु भएको भएर आफैले टिपेक्स लगाउन लाउनु भएको हो ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार