- सरास्वती खड्का

व्यक्तिले पार्टी चालाउने हो भन्ने यथार्थ पछिल्लो समय पार्टीकै शिर्ष नेताहरुले भुल्दै गइरहेको जस्तो वातावरणको अनुभुती युवा वर्गलाई हुदै गइरहेको छ । मदन भण्डारीलाई लाखौँ मानिसले त्यसै मनपराएका होइनन् , उहाँ असल परिवर्तनशिल नेता भएकै कारण उहाँको सिद्धान्त र वैचारिक अभिव्यक्ति सबैले रुचाए । उहाँ कै नेतृत्वमा पार्टि अगाडी बढ्यो । लाखौं कार्यक्रता होमिए र उहाँका योजना तथा सिद्धान्तलाई मुर्तरुप दिन सबै लागि परे ।

त्यसै गरि मनमोहन अधिकारीले पनि जनताको मनमा बस्न सक्ने कार्य गर्नुभयो । उहाँको नेतृत्वको सरकारको नौ महिने छोटो कार्यकाल आज पनि नेपालको इतिहासमा स्मरणीय भएर बसेको छ । उहाँ कै सफल सरकारको नेतृत्वले पार्टीको एउटा आकृती बन्यो ।

उहाँको नाम भजाएर केहि समय त्यसको सावाँ ब्याज मात्र होइन ब्याजको स्याज पनि केही नेताहरुले उठाए । क.झलनाथ ,क.माधब र क.पुष्पकमल दाहाल प्रधानमन्त्री हुँदा जनताले प्रत्यक्ष देख्ने मौकासमेत पाइसके, उनीहरुको कार्यकालको अस्तित्व । २०७२ सालमा केपी ओली प्रधानमन्त्री हुँदा जनताले दोस्रो मनमोहनको अनुभुती गरे । त्यसैको मुनाफा हो नेकपाको बहुमतको सरकार । ओली आजलाई होइन भोलिलाई हो, यो कुरा लाखौँ युवाले बुझेका छन् ।

सरकार ढाल्न भारतको इसारामा कोठे मिटिङ, अनेक रेष्टुरामा बसेको बैठक देखेर युवाहरुलाई दया लाग्न थालेको छ । बुढ्यौली उमेरका नेताहरु सुगर प्रेसर नबढाइ यसै सरकारलाई जनताले दिएको मतको कदर गर्न सक्ने सदबुद्धी आओस भन्ने कामना गर्दैछन् युवा ।

कोभीड १९ महामारीका कारण विश्व नै एकजुट भएर लडिरहेको बेला बाढी पहिरोको पिडा पनि नेपालमा थपिएको छ । सयौँ घरबार बिहिन भएका छन् भने धेरै मृतकको संख्या पनि बढ्दो छ । यस्तो अवस्थामा देश र जनताको लागि चिन्ता लिनु पर्ने ठाउँमा कुर्सीको भोकमा रुमल्लिएर जनताले दिएको मतको अपमान गर्ने मौका पर्खिएर बसेका नेतारुपी अस्थिरतावादीहरुको झुण्ड देखेर युवाहरु छि… भन्दै छन् ।

कम्तीमा अबको चुनावमा जनता सामु शिर ठाडै पारेर उभिन सक्ने अवस्था त बनाउनुहोस भन्ने चाह व्यक्त गर्दै छन् युवाहरु । अबको चुनावमा जनताले तपाईहरुकै अनुहार हेरेर भोट खसाल्ने वातावरणको सृजना गर्नुहोस, त्यस समयमा प्रधानमन्त्रीको कुर्सीको सोझो दावेदार पनि तपाईहरु नै हुनुहुन्छ ।

(सरास्वती खड्का अखिल नेपाल महिला सघंकी केन्द्रिय सदस्य, युवा संघ सचिवालयकी पुर्व सदस्य तथा नेकपा ललितपुरकी जिल्ला कमिटी सदस्य हुन् ।)

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार