काठमाडौं – विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण पछिल्लो समय नेपालमा पनि बढ्दो छ ।

कोरोना भाइरसको सं‌क्रमण रोकथाम र नियन्त्रण गर्न झण्डै चार महिना गरिएको लकडाउन अन्त्य भएसँगै मानिसको चहलपहल बढेपछि संक्रमणको जोखिम पनि बढेको छ ।

सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न राजनीतिक व्यक्तित्व, अर्थ, स्वास्थ्य तथा सुरक्षा क्षेत्रका विज्ञहरुलाई समेत बालुवाटार बोलाएर छलफल गरे । कोभिड–१९ को संक्रमण अवस्था, प्रभाव र रोकथाम तथा सुरक्षाका लागि भन्दै बोलाइएको छलफलमा प्रधानमन्त्री ओलीलाई विज्ञहरुले कम्तीमा २ साता लकडाउन गर्न सुझाव दिए ।

सरकारले पनि लकडाउन हटाएपछि संक्रमण फैलिएका क्षेत्रमा सील गर्ने तथा जिल्ला,स्थानीय तहमा निषेधाज्ञा जारी गर्ने रणनीति लिएको छ ।
कोरोना संक्रमणको बढ्दो गतिलाई फैलन नदिन अहिलेसम्म १२ वटा जिल्लामा निषेधाज्ञा जारी भएको छ ।

यसै बीच १२० दिन लामो लकडाउनका कारण व्यापार व्यवसायमा नराम्रो धक्का व्यहोरेका उद्योग, व्यवसायीहरु भने फेरि लकडाउन हुने हो कि भनेर झस्किन पुगेका छन् । व्यवसायीहरुमा कतै फेरि त्यस्तै कठिनपूर्ण समयको सामना गर्नुपर्ने होइन भन्ने चिन्ता देखिएको छ ।

सरकारले मंगलबार साँझसम्म सप्तरी, बाँके, बारा र पर्सामा जिल्लाभर निषेधाज्ञा जारी गरिएको छ भने धनुषा, मोरङ, महोत्तरी, झापा, सुनसरी, बझाङ, नुवाकोट र दार्चुलामा केही स्थानीय तह र स्थानीय तहभित्रका केही वडामा मात्रै निषेधाज्ञा लागू गरिएको छ ।

जिल्लामा संक्रमणको अवस्था हेरेर थप जिल्लाले समेत निषेधाज्ञा जारी गर्नुपर्ने वा नपर्ने निर्णय गर्ने अधिकार जिल्लास्थित प्रमुख जिल्ला अधिकारीलाई दिइएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले बताए ।

अहिलेसम्म नेपालमा संक्रमितको संख्या २१ हजार ९ पुगेको छ । उनीहरूमध्ये ५८ जनाको मृत्यु भएको छ भने १५ हजार २० जना उपचारपछि निको भएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार