काठमाडौं – अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टंगालमा कार्यरत २० जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित अधिकांश प्रहरी कर्मचारी हुन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका मेडिकल प्राविधिक धनप्रसाद पौडेलले अख्तियारका कर्मचारीमा संक्रमण पुष्टि भएको बताएका छन् । योसँगै आयोगमा कोरोना संक्रमित हुनेको संख्या ३५ पुगेको छ ।

संक्रमितको कन्ट्याक ट्रेसिङका आधारमा थप अधिकारीहरुको पनि कोरोना परीक्षण गरिएको छ । आयोगका सचिव सुरेशराज अधिकारीसहितको पीसीआर परीक्षणका लागि आइतबार स्वाब संकलन गरिएको थियो ।

अधिकारीको रिपोर्ट नेगेटिभ आएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए । उनका अनुसार आइतबार एक सय ८५ जनाको स्वाब संकलन गरेर पीसीआर जाँच गरिएको थियो ।

कर्मचारीमा कोरोना संक्रमण देखिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग सिल गरिएको छ।

अख्तियार कार्यालय सिल गरिएपछि अत्यावश्यक कामबाहेक अन्य कर्मचारी, प्रमुख आयुक्त, आयुक्तहरु पनि कार्यालय गएका छैनन्।

यसअघि अख्तियारमा थुनुवा र सङ्क्रमितको कन्ट्याक्ट ट्रेसिङ गर्दा नजिक रहेका कर्मचारीको तथा परराष्ट्रमा जापानबाट आएका एक जनामा सङ्क्रमण भेटिएपछि उनी नजिकका कर्मचारीको परीक्षणका लागि स्वाब सङ्कलन गरिएको थियो।

महाशाखाले अग्रपङ्क्तिमा काम हुने कार्यालय बैंक, मालपोत तथा नापी, यातायात कार्यालयमा काम गर्ने पाँच हजार कर्मचारीको पिसिआर परीक्षण गरेको थियो।

यसैगरी महाशाखाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सर्वोच्च अदालत र जिल्ला अदालत काठमाडौँमा कोभिड–१९ परीक्षणका लागि स्बाव सङ्कलन गरिरहेको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार