- टिमखबर सम्बाददाता : गोपाल बटाला

रुकुम पश्चिम : रुकुम पश्चिम आठबिसकोट नगरपालिकामा नेकपा प्रचण्ड समूहका कार्यकर्ता र कांग्रेस कार्यकर्ताबीच विवाद मिलाउन प्रहरी कार्यालयमा भइरहेको छलफलमा जनप्रतिनिधिहरुबीच नै कुटाकुट भएको छ ।

रुकुम पश्चिमको आठबीसकोट नगरपालिका ३, ८ र ९ का वडाध्यक्षमाथि कुटपिट भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले २५ राउण्ड हवाइ फायर समेत गरेको थियो ।

आठबीसकोट नगरपालिकामा नेकपा र कांग्रेसका कार्यकर्ताबीच भएको विवाद मिलाउन इलाका प्रहरी कर्यालयमा भइरहेको छलफलका क्रममा वडा नम्बर ९ का वडाध्यक्ष तारकबहादुर शाहीमाथि कुटपिट भएको हो । उनलाई वडा नम्बर ३ का अध्यक्ष केशरमान विक र वडा नम्बर ८ का अध्यक्ष मानबहादुर चनाराले प्रहरीकै अगाडि कुटेको छलफलमा सहभागी नेपाली कांग्रेसका नगर सभापति कमल शाहले बताए ।

शाही नेपाली कांग्रेस, केशरमान र मानबहादुर नेकपा निकट हुन् । वडाध्यक्ष शाहीमाथि आक्रमण भएपछि आक्रोशित नेपाली कांग्रेसका कार्यकर्ताले वडाध्यक्षद्वय केशरमान र मानबहादुरलाई समेत आक्रमण गरेका छन् ।

प्रहरी कार्यालयमै दुई राजनीतिक दलका कार्यकर्ताबीच झडप भएपछि प्रहरीले ९ राउण्ड हवाई फायर गर्नुपरेको जिल्ला प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायब उपरीक्षक ध्रुवकुमार श्रेष्ठले बताए ।

 

जिल्लाबाट प्रहरी निरीक्षक कपिल शाहीको नेतृत्वमा थप प्रहरी पठाएपछि स्थित नियन्त्रणमा आएको उनले बताए । प्रहरीले वडाध्यक्षद्वय केशरमान र मानबहादुरलाई नियन्त्रणमा लिएको छ । आठबीसकोटमा खानेपानी, बस काउण्टर लगायत विषयमा नेकपा र कांग्रेस कार्यकर्ताबीच पटक–पटक विवाद र झडप हुँदै आइरहेको छ ।

घटनापछि काठमाडौँबाट पूर्वमन्त्री समेत रहेका सोही स्थानका नेकपाका प्रभावशाली नेता जनार्दन शर्माले दुख व्यक्त गरेका छन् । उनले स्थानीय कार्यकर्ता साथै नगरपालिकाका मेयर सन्देशलाई फोन गरेर विवाद समाधान गराउन आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार