काठमाडौं, २१ फागुन । नेकपाको आधिकारिकताको विवादको निर्णय गर्न हतार नगर्न केपी शर्मा ओली नेतृत्वको नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले निर्वाचन आयोगसमक्ष आग्रह गर्नुभएको छ ।राजनीतिकरुपमा विभाजित तर कानुनीरुपमा एक रहेको नेकपाको आधिकारिकताको विवाद चाँडोभन्दा चाँडो टुंग्याउन विभिन्न पक्षबाट आग्रह गरिरहेका बेला नेता बस्नेत बिहीबार आयोगमा पुगेर सो आग्रह गर्नुभएको हो ।

आयोगमा उहाँले प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियासहित आयुक्तहरुसँग केहीबेर छलफल गर्नुभएको थियो । आयोगले नेकपाको आधिकारिकताको विवादको सम्बन्धमा निर्णय गर्न ढिलाइ गरेकाले आयोगको भूमिकामाथि प्रश्न उठिरहेका बेला ओली पक्षका अत्यन्त निकट मानिने नेताले गरेको भेटघाटलाई अर्थपूर्णरुपमा लिइएको छ ।प्रतिनिधिसभाका सांसदसमेत रहेका बस्नेतले भने आयोगबाट बाहिरिने क्रममा सञ्चारकर्मीसँग नेकपाका बहुमत सदस्य पार्टी एकताको पक्षमा रहेकाले विभाजनको निर्णय दिन हतारो नगर्न आयोगलाई आग्रह गरेको बताउनुभयो ।

‘हामीहरु एकताको अभियानमा लागेका छौं, विभाजनको निर्णय गर्न हतारो नगरिदिनुस्।’ –बस्नेतले सञ्चारकर्मीसँग भन्नुभयो । बस्नेतले पूर्वप्रमुख निर्वाचन आयुक्तहरूले वक्तव्य निकालेर बाहिरबाट दबाब बढाइएको विषयसमेत आयोगमा चर्चा गरेको बताउनुभयो ।बस्नेतसँग कुनै औपचारिक छलफल भने नभएको एक आयुक्तले भने । बस्नेतले बाहिर सञ्चारकर्मीसँग कुराकानी गरे जस्तो कुनै सल्लाह पनि नगरेको र आफूहरुसँग केही पनि नभनेको दाबी गरे । ‘हामीसँग केही कुरा गर्नुभएन तर तल पत्रकारसँग त्यसो भन्नुभएछ । नेता बस्नेतसँग सामान्य भेटघाट र चिया खाने काम मात्र भएको थियो । उहाँ कतैबाट घुम्दै आउनुभएको होला, आयोगमा उहाँलाई देखेको हो’, ती आयुक्तले भने– ‘हामीले पनि नमस्कार ग¥यौं, उहाँसँग कुनै बैठक पनि थिएन । मेरो सानो काम थियो भन्नुभयो, अनि निस्कनुभयो ।’ यो खबर आजको नेपाल समाचापत्रमा छापिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार