काठमाडौँ : सोमबार बिहान बोलाइएको नेकपा प्रचण्ड -नेपाल समूहको स्थायी कमिटी बैठक दिउँसो ३ बजे बस्ने भएको छ। छलफलमा व्यस्त भएपछि प्रचण्ड -नेपाल समूहले सोमबार बिहान ११ बजे बोलाइएको स्थायी कमिटी बैठक दिउँसो ३ बजेका लागि सारेको हो। कानुनी र राजनीतिक छलफलमै व्यस्त भएपछि बैठक सारिएको हो।

सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता ऋषिराम कट्टेलले दर्ता गरेको दलले पाउने निर्णय गरिदिएपछि ओली-प्रचण्ड नेतृत्वको नेकपालाई शंकट उत्पन्न भएको छ। यससँगै अब नेकपाको मान्यता प्रधानमन्त्री ओली र दाहालले नपाउने भएका हुन्।

प्रचण्ड-नेपाल समूहका नेताले आइतबार अदालतको फैसलाबारे कानुन व्यवसायीसँग छलफल गरेका थिए। छलफलमा कानुन व्यवासायीले पुनरावलोकनका लागि जानुपर्ने सुझाव दिएका छन्।

नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकीकरण भई प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नयाँ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नाम राखेर आयोगमा दर्ता भएपछि उक्त विवाद सर्वोच्चमा पुगेको थियो।

आयोगले आफ्नो नाममा रहेको दलको नाम ओली र दाहाल नेतृत्वको पार्टीलाई दिएको भन्दै नेता कट्टेलले रिट दायर गरेका थिए। आफ्नो पार्टीको नामसँग मेल खाने गरी ओली र दाहालले आयोगमा अर्को दल दर्ता गरेको तर त्यसअघि नै आफूले नेपाल कम्युनिस्ट पार्टी दर्ता गरिसकेकाले हकदाबी आफ्नो रहने जिकिर कट्टेलको थियो।

कट्टेलको रिटमा निर्णय सुनाउँदै न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले ओली र दाहालको नेतृत्वमा दर्ता भएको नेकपालाई आधिकारिकता दिने आयोगको निर्णय आइतबारदेखि बदर गरिदिएको हो। अन्नपुर्ण पोष्ट मा छापिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार