गोपाल बटाला

१० वर्षभन्दा लामो जनयुद्धले देशलाई लोकतन्त्र, गणतन्त्र, धर्म निरपेक्ष र संघीयता दियो । आम जनतामा राजनीतिक चेतना उकासियो । अधिकारको आवाज उठ्न थाल्यो । समग्रमा यो एउटा अग्रगमनको यात्रा थियो ।
तर जनयुद्धमा होमिएका र यसको किनाराका साक्षी बनेका कतिपय मान्छेले जीवनभर नबिर्सिने पीडा भोगेका छन् । उहाँहरुका लागि जनयुद्धसँगै वहिष्करण, अपहेलना र उपेक्षा पनि सँगै आइलाग्यो ।
भीमा केसी बन्जरा, कर्णालीकी एक अगुवा नेत्री हुनुहुन्थ्यो । डोल्पामा जन्मिनुभएकी भीमा सानैदेखि राजनीतिमा सक्रिय हुनुहुन्थ्यो । जनयुद्धकालदेखि नै अनेरास्ववियुको विद्यार्थी राजनीतिमा सक्रिय बन्नुभएकी उहाँ छोटो समयमै जिल्ला सदस्य हुँदै केन्द्रीय सदस्य हुनुभयो ।
डोल्पाको हुनेखाने परिवारमा जन्मिनुभएकी भीमाले सानैमा कहिल्यै दुख गर्नु परेन । बाबु प्रहरी अधिकृत हुनुहुन्थ्यो । बाबु र आफन्तकै कारण पनि सदरमुकाममा उहाँको परिवारको बोलवाला थियो ।
तर पनि छिमेकी र अरुको दुख देखेरै भीमा कम्युनिस्ट बन्ने कठिन बाटो समात्नुभयो । आफैँले दुख नव्यहोरे पनि उहाँलाई अरुको दुखले नै यस्तो संघर्ष गर्न सिकाएको थियो ।

प्रहरी अधिकृतसँग विवाह

सुन्दर अनुहार र मिलेको जिउडाल । सानैदेखि उहाँलाई मन पराउनेको पनि कमी थिएन । यस्तैमा सदरमुकाममा प्रहरी निरीक्षकको रुपमा नारायण बन्जरा हुनुहुन्थ्यो । गोरखाका नारायणले भीमालाई देख्नासाथ मन पराउनुभयो । भीमाकी आमाले पनि त्यतिको खाइलाग्दो र पढेलेखेको प्रहरी हाकिमले छोरीलाई मन पराएपछि मन्जुरी दिनुभयो ।
अन्ततः २०५६ मा पारिवारिक सहमतिमै भीमाको विवाह भयो एक प्रहरी अधिकृतको साथमा । खासमा प्रहरी अधिकृतसँग विद्रोही विद्यार्थी नेत्रीको विवाह अनौठो संयोग थियो । दुई विपरीत संगठन र विचारको मिलन आफैँमा अनौठो सन्तुलन थियो ।
दुखका दिन
२०५८ मंसिरसम्म भीमाको जीवन सुख र खुसीमै बितेको थियो । तर अचानक भीमाका लागि दिउँसै सूर्य अस्ताए झैँ भयो, जुन दिन उहाँले खबर सुन्नुभयो, आफ्नै पति नेपालगन्जमा पक्राउ परेको । तत्कालीन शाही सरकारले हातहतियारको सुराकी गर्यो भन्दै गलत आरोपसहित पतिलाई हिरासतमा राखेको जानकारी पाउनुभयो भीमा ।
पतिलाई हिरासतमा लिएर यातना दिइयो । भीमालाई भने उकुसमुकुस हुन थाल्यो । पति पक्राउ परेको ५ दिनमै भीमाले छोरी जन्माउनुभयो ।
छोरी च्यापेर हिरासतको ढोकासम्म पुग्नुभयो उहाँ । तर प्रहरीले गरेको दुव्र्यवहार र अपमानले उहाँको मन झनै गह्रुँगो बनायो ।

पतिको परिवारमा वहिष्कार

अखिलको नेत्री भएकै कारण श्रीमानको परिवारबाट भीमाले कहिल्यै राम्रो व्यवहार पाउनुभएन । परिवारबाटै उहाँलाई हेला गरियो । घोचपेच र नमिठो बचन भोग्नुपर्यो ।
श्रीमानको घरलाई आफ्नै बनाउनुपर्छ भन्ठानेर उहाँ गोरखासम्म पुग्नुभयो । केही समय दुखसुख बिताउनु भयो । ‘केही नमिठो बचन म बाट पनि भयो होला । केही त्रुटी र कमजोरी मेरा पनि थिए होलान् । तर बारम्बार मलाई माओवादीको आरोप लगायो । मैले गर्दा नै श्रीमान जेल परेको आरोप आउन थाल्यो । घोचपेच अपमानले मन नै भाँचिन्थ्यो,’ भीमाले दुख सुनाउनु भयो ।
खासमा पतिका परिवार कांग्रेसी थिए । भीमा भने भिन्न बिचार मान्नुहुन्थ्यो । यद्यपि पतिको घर आएपछि उहाँले राजनीतिक गतिविधि छाडिसक्नु भएको थियो । तर पनि परिवारबाट गाली र आरोप आउने क्रम रोकिएन ।
समाजमा असमानता, विभेद् र अन्याय हटाउने अभियानमा सामेल भएर कम्युनिस्ट बन्नुभएकी भीमा आफैँ भने पितृसत्ताको चपेटामा च्यापिनुभयो । कर्णालीबाट होनहार नेत्री बन्ने सम्भावना बोक्नुभएकी चेली जनयुद्धको भुल्कोले उहाँलाई किनाराति धकेलिदियो । युद्धकै क्रममा उहाँले आफ्नै पतिलाई कारागारमा राखेको देख्नुपर्यो । फेरि पतिकै परिवारबाट वहिष्कार खेप्नुपर्यो ।
२०५९ सालमा ३ महिनाका लागि उहाँ दोस्रो पटक गोरखा जाँदा पनि परिवार र छिमेकीको नराम्रो व्यवहारले बस्न औधी गाह्रो बनायो । अन्तत, १८ महिने छोरी च्यापेरै विना पैसा कपडाको झोला बोकेर नेपालगन्जको लागि हिँड्नु परेको थियो ।
भीमा ती दिन सम्झँदा अहिले पनि आँशु थाम्न सक्नुहुन्न । गोरखादेखि नेपालगन्जसम्मको त्यो कठिन यात्राले अहिले पनि भीमाको निन्द्रा खल्बल्याउँछ । रात्री बस चढेर जाँदा, हिरासतमा पतिलाई भेट्न खोज्दा प्रहरी हाकिमको दुव्र्यवहार । ती सब दृश्य एकपछि अर्को आउँछन् ।

राजनीतिक खिचातानी

जिल्लामा सक्रिय अगुवा नेत्रीको छवी बनाउनुभएकाी भीमा विवाहपछि बिस्तारै राजनीतिबाट टाढिनुपरेको थियो । नेपालगन्ज, डोल्पा, गोरखा र पतिलाई हिरासतमा राखेको ठाउँ पाल्पा गर्दै उहाँले केही महिना हिँड्दाहिँड्दै बिताउनुभयो ।
यस्तैमा २०६२÷०६३ सालको जनआन्दोलनमा जिल्लामै गएर आन्दोलनको अग्रमोर्चामा खटिनुभयो । त्यसपछिको चुनावमा उहाँले टिकट नपाए पनि त्यतिबेला उहाँ सम्बद्ध माओवादी पार्टीको निर्णय स्वीकार्दै उम्मेदवारलाई जिताउने अभियानमा लागि पर्नुभयो । यतिन्जेलसम्म पार्टी नेतृत्वमा पुग्नुपर्ने भीमा आफ्नै पार्टीका केही नेताहरुको पूर्वाग्रहको शिकार बन्नुभयो । उनलाई जिम्मेवारी दिने सवालमा आफैँले मानेका केही नेताले खुट्किलो भाँचिदिएछन् ।
समानुपातिक तर्फको सांसदमा उहाँको नाम सिफारिस त भयो । तर केन्द्रमै रहेका आफ्नै नेताले नाम काटिदिएको गुनासो उहाँको छ । यो लामो र कठिन यात्रामा भीमा कहिल्यै बिचलित भने हुनुभएन ।

अमेरिकाको अवसर छाडेर राजनीति र समाजसेवामै

भीमाका पति हिरासतमा परेको ३ वर्षमै मुद्दा जितेर केही गैरसरकारी संस्थामा जागिर गर्नुभएको थियो । यसबीचमा भीमाको ठूलो साथ र सहयोग थियो । हाल पति अमेरिकामा हुनुहुन्छ । अमेरिका गएको पनि ६ वर्ष भन्दा बढी भइसक्यो ।
त्यसो त, भीमा दुई छोरीलाई लिएर उतै पतिको साथ जान पनि सक्नुहुन्थ्यो । तर उनलाई यतिबेला चटक्कै विदेशिने मन छैन । माओवादी केन्द्रमै संगठित हुनुहुन्थ्यो । जिल्लाकै राजनीतिमा सक्रिय बन्ने सोच बनाइसक्नुभएकी थियो । गाउँ टोलमा उहाँ अहिले पनि कसैलाई दुख पर्यो भने ज्यान फालेर सहयोग गर्नुहुन्छ । अरुको दुख देख्न नसक्ने यस्तै बानीले पनि उहाँलाई अहिले राजनीतिमा टिकाइराखेको छ ।
‘आज अवसर पाउनुभयो त के भयो र, मेरो जीवनभर राजनीति र समाजसेवामै समर्पित छु म । कसैले रोक्न सक्दैन । पतिको साथ छ । मेरो अठोट छ । अवसर नपाए पनि मेरो लगनशीलता र संघर्षले आफैँ सिर्जना हुनेछ,’ भीमा भन्नुहुन्छ ।
यतिबेला उहाँ बनस्थलीस्थित आफ्नै निवासमा दुई छोरीसहित सासू–ससूराको हेरचाह गर्दैआउनुभएको छ । पुराना स्मृतिले उहाँलाई अहिले पनि घचेटिरहन्छन् । त्यसैमाथि छोरा नभएकोमा गनगन पनि सुन्नु परेको छ । भीमा सुनाउँनु हुन्छ । ‘यतिसम्म कि, केही महिला माननीयहरुले नै छोरा नपाउने भनेर सोध्छन् । सम्मान गर्ने मान्छेहरुले नै यस्तो निच कुरा गर्दा नमिठो लाग्ने रहेछ ।’
तै पनि भीमा र उहाँका पतिलाई दुई सन्तान र सानो परिवारमा खुसी मिलेको छ । बाँकी त विभेदमुलक समाजको दृष्टिदोष न हो !

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार