काठमाडौं । महाशिवरात्रि पर्वका अवसरमा महानगरीय ट्राफिक प्रहरी महाशाखाले पशुपतिनाथ क्षेत्र वरपरको ट्राफिक व्यवस्थापन मिलाएको छ । महाशाखाले भिडलाई मध्यनजर गर्दै सहज आवतजावतको व्यवस्थापन र भक्तजनका लागि पार्किङको व्यवस्था मिलाएको छ ।

भक्तजनका सवारीसाधनलाई वनकाली खुल्ला चौर, सिफलचौर, गुह्येश्वरी, भण्डारखाल र अमलकोटमा पार्किङको व्यवस्था मिलाएको छ । पशुपति क्षेत्र विकास कोषको कार्यालयमा कोषका सवारीसाधन तथा सेवाप्रदायक संस्थानका साधन पार्किङ गर्ने व्यवस्था मिलाइएको छ भने सुरक्षा निकायका सवारीसाधन गौशाला प्रहरी र वनकालीभित्र राखिनेछ । बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउने सवारीसाधनलाई गुह्येश्वरीपारि पार्किङ स्थान तोकिएको छ ।

महाशाखाले चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्बाध रूपमा सवारीसाधन चलाउने व्यवस्था गरेको छ तर भक्तजनको भिडअत्यधिक भई सवारी सञ्चालनमा समस्या हुन गएमा उक्त रुटमा भक्तजनबाहेकका सवारीलाई वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाइने महाशाखा प्रमुख एसएसपी जनक भट्टराईले जानकारी दिनुभयो ।

भिडका कारण समस्या भएमा गौशाला क्षेत्रमा सवारी आवागमन निषेध गरी वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने बताइएको छ ।मालबाहक सवारीसाधनहरू तिनकुनेबाट सिनामंगल तिलगंगातर्फ, जोरपाटी नारायणटारबाट करिडोर हुँदै गौरीघाटतर्फ आउने, सिनामंगल पुलबाट करिडोर हुँदै होटेल महाराजा निस्किने सडकतर्फ र जोरपाटी बौद्धतर्फबाट आउने मालबाहक सवारीसाधन चुच्चेपाटीबाट चाबहिलतर्फ आउन निषेध गरिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार