खोटाङ, ६ चैत (रासस) : कुटपिटबाट गम्भीर घाइते भएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका खडक भनिने ३४ वर्षीय अजित राईको मृत्यु भएपछि प्रहरीले स्थानीयवासी पाँच जनालाई नियन्त्रणमा लिएको छ । यही चैत २ गते राति स्थानीय बासिन्दाको कुटपिटबाट गम्भीर घाइते भएका राईको उपचारका लागि लैजाने क्रममा यही चैत ३ गते मृत्यु भएपछि प्रहरीले चार महिला र एक पुरुष नियन्त्रणमा लिएको हो ।
राति घरमा सुतिरहेकी ३४ वर्षीया एक महिलाको कोठामा प्रवेश गरेर अभद्र व्यवहार गर्न खोजेको भन्दै राईमाथि कुटपिट भएको प्रारम्भिक जानकारी आएको जिल्ला प्रहरी कार्यालय खोटाङ का प्रवक्ता प्रहरी निरीक्षक गोविन्द साहले बताउनुभयो । पक्राउ परेका व्यक्तिलाई हिरासतमा राखेर अनुसन्धान शुरु गरिएको र उनीहरुको बयानपछि मात्र घटनाका बारेमा वास्तविकता बाहिर आउने प्रहरीले जनाएको छ ।
बाकाचोलको वडा कार्यालयमा तेस्रोपटक तालाबन्दी
ऐँसेलुखर्क गाउँपालिका–२ बाकाचोलको वडा कार्यालयमा स्थानीय बासिन्दाले ताला लगाएका छन् । वडाध्यक्ष सन्तवीर तामाङले आफूहरुसँग समन्वय नगरी बिस्खाम खोलाको पानी अन्यत्र लैजान अनुमति दिएको र कोठे बैठक राखेर बादेल–बिस्खाम सडक उपभोक्ता समिति गठन गरेको जनाउँदै असन्तुष्ट बनेका स्थानीय बासिन्दाले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
बाकाचोल बिस्खाम खोलाको पानी अन्यत्र लैजान बन्द गर्नुपर्ने र संसद् विकास कोषबाट रु १० लाख विनियोजन भएको बादेल–बिस्खाम सडक निर्माण उपभोक्ता समिति पुनःगठन गर्नुपर्ने माग राख्दा वडाध्यक्षले बेवास्ता गरेपछि ताला लगाइएको स्थानीय नन्दकुमार तामाङले बताउनुभयो । बाकाचोल वडा कार्यालयमा स्थानीय बासिन्दाले तालाबन्दी गरेको यो तेस्रोपटक हो ।
वडाध्यक्षसँगको असमझदारीका कारण यसअघि २०७७ जेठ २८ गते र २०७६ पुस ७ गते वडा कार्यालयमा ताला लगाइएको थियो । आफ्ना माग सम्बोधन नभए वडा कार्यालयको ताला नखोल्ने सम्पूर्ण बाकाचोलवासीको नाममा जारी प्रेस विज्ञप्तिमा चेतावनी दिइएको छ । वडाध्यक्षले मनपरी गरेको भन्दै असन्तुष्ट पक्षले ४०५ जनाको हस्ताक्षरसहितको विरोधपत्र ऐँसेलुखर्क गाउँपालिकालाई समेत बुझाएका छन् । छलफल नै नगरी बिस्खाम खोलाको पानी ऐँसेलुखर्कबजारलगायतका ठाउँमा लैजाने तयारी गरिएपछि स्थानीयवासीको असन्तुष्टि देखिएको हो ।
बिस्खाम खोलाको पानी अन्यत्र लैजाँदा पर्ने प्रभाव र असरलाई ध्यान नै नदिई माथिल्लो खानेपानी आयोजना नाम दिएर खानेपानी आयोजना सञ्चालन गर्न लागिएको असन्तुष्ट स्थानीयवासीले बताउनुभयो । वडा कार्यालयको भवन निर्माणका क्रममा वडाध्यक्षले आफूखुशी गरेको जनाउँदै चार वडा सदस्य एवं स्थानीयवासीले गत जेठ २८ गते वडा कार्यालयमा ताला लगाएका थिए ।
वडाध्यक्ष तामाङले भने हालसम्म बिस्खाम खोलाको पानी अन्यत्र लैजानका लागि कसैलाई अनुमति नदिइएको बताउनुभयो । वडाध्यक्ष तामाङले सम्बन्धित ठाउँकै स्थानीयवासीलाई राखेर बादेल–बिस्खाम सडक उपभोक्ता समिति बनाइएको जानकारी दिनुभयो ।