काठमाडौं, ११ चैत । बजारमा विद्युतीय सामग्रीहरूको मूल्य बढेको छ । घर वायरिङमा प्रयोग गरिने तार, पंखा, केबुल, चार्जर र ब्याट्रीलगायत सामग्रीको मूल्य बढेको छ । अन्तरराष्ट्रिय बजारमा यी सामग्रीमा प्रयोग गरिने कच्चा पदार्थको मूल्य बढेका कारण कम्पनीबाट नै मूल्य बढेर आएको व्यापारीहरूको भनाइ छ ।

विद्युतीय सामग्रीहरूमा प्रयोग हुने कपर, आल्मुनियम, आइरन र पीभीसीलगायत कच्चा पदार्थहरूको मूल्य बढेका कारण अहिले यस्ता सामग्रीको मूल्य बढेको विद्युतीय व्यापार संघका अध्यक्ष सुदर्शन न्यौपानेले आर्थिक अभियान दैनिकलाई बताए । उनका अनुसार हाल यस्ता कच्चा पदार्थको मूल्य करीब दुई गुनासम्मले बढ्दा ती सामग्रीको मूल्य पनि सोही दरमा बढेको छ ।

बन्दाबन्दीको समयभन्दा अघि प्रतिटन ४ हजार ८ सय अमेरीकी डलर पर्ने तामाको मूल्य यति बेला बढेर ९ हजार डलरसम्म पुगेको छ । त्यसैगरी प्रतिकिलो १ सय ८ रुपैयाँ पर्ने पिभिसिको मूल्य १ सय ६० रुपैयाँ पुगेको छ । विभिन्न किसिमका तार, केबुल, पंखा, स्वीचलगायतका अधिकांश सामग्रीमा आल्मुनियम, कपर र पीभीसीको प्रयोग गरिएको हुन्छ । यो खबर आजको आर्थिक अभियान दैनिकमा छापिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार