भैरहवा, ११ चैत । रूपन्देहीको मायादेवी गाउँपालिका– २ का परशुराम अहिर जन्मजात बौद्धिक अपाङ्ग छन्। अहिरका हजुरबुवा मंगरुका चार भाइ छोराहरू अल्गु, तिरथ, काशी र भोला यादव हुन्। तिरथका छोरा परशुराम हुन्।

उनी सानै छँदा बुवाआमाको मृत्यु भयो। तीन भाइले पुख्र्यौली सम्पत्ति अंशबन्डा गरे। तर, परशुरामलाई दिएनन्। २०४९ मा परशुरामले काकाहरूसँग अंश दाबी गरे। त्यसबेला कान्छा काका भोला यादवले परशुराम अंशियार नभएको अडान लिएका थिए। त्यसपछि दिदी र अन्य काकाहरूको सहयोगमा परशुरामले जिल्ला अदालत रूपन्देहीमा अंश मुद्दा दायर गरे।
अदालतले २०५५ मा उनको पक्षमा फैसला गरेपछि बराबरी अंश पाए। जन्मजात बौद्धिक अपांग भएकाले उनी सानैदेखि दिदी बोधी यादवकोमा बसेका थिए। गत माघ १ गते काका भोलाका जेठो छोरा राजेन्द्रले बुवा बिरामी भएको बहानामा परशुरामलाई आफ्नो घर लिएर गए।

सोही बहानामा जालझेल गरी किर्ते कागजात बनाएर उनको नाममा सियारी गाउँपालिका–२ र ३ मा रहेको १७ कठ्ठा १० धुर जग्गा अन्यको नाममा पास गराइएको परशुरामका आफन्त राजकुमार यादव बताउँछन्। १७ कठ्ठा १० धुरमध्ये १३ कठ्ठा ७ धुर भोलाका कान्छा छोरा जोगिन्द्रको नाममा पास भएको राजकुमारको दाबी छ। त्यसैगरी ४ कठ्ठा ३ धुर स्थानीय जग्गा व्यापारी ढालबहादुर चौधरीका छोरा चूडामणि चौधरीको नाममा माघ २२ गते पास भएको बताइएको छ। यो खबर आजको अन्नपूर्ण पोस्ट दैनिकमा छापिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार