काठमाडाैं । महानगरीय ट्राफिक प्रहरी महाशाखाले ट्राफिक नियम उल्लंघन गरेबापत तिर्नुपर्ने जरिवानालाई अझ प्रभावकारी र सहज तरिकाले अनलाइन मार्फत भुक्तानी गर्ने प्रणालीको विस्तार गरेको हो ।
महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक जनक भट्टराईले यस अघि नै अनलाईन सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी शुरु भैसकेको र त्यसैलाई निरन्तरता दिंदै अझ बढी सहज, सरल र सुबिधायुक्त बनाउन आज २०७७ चैत २७ गतेदेखि आफ्नै बैंक खाताबाट सीधै जरिवाना तिर्न सकिने गरि सेवा विस्तार गरेको जानकारी दिनुभयो ।
यसले आम सवारी चालकहरुलाई जरिवाना तिर्न बैंकमा लाइन बस्नुपर्ने, लामो समय व्यर्थ खर्चिनु पर्ने बाध्यताको अन्त्य हुनेछ भने ट्राफिक कार्यालयमा हुने भिडभाडमा समेत कमी आउने बताउनुभयो ।
ट्राफिक महाशाखाले ट्राफिक जरिवाना रकम ट्राफिक भ्वाइलेसन रेकर्ड सिस्टम (टीभीआरएस), नेपाल सरकारको राजश्व व्यवस्थापन सुचना प्रणाली (आरआईएमएस) र सेवा प्रदायक संस्थाहरु वीचमा आबद्ध भइ रियल टाइममा सम्बन्धित बैकंको खाता मार्फत भुक्तान हुने गरि सिस्टम संचालन गरेको महाशाखाले जनाएको छ ।
आजदेखी थप ४५ वटा बैंक तथा बित्तिय संस्था र ७ वटा अनलाईन भुक्तानी सेवा प्रदायक संस्थाहरुबाट सिधै ट्राफिक जरिवाना भुक्तानी गर्न सकिने छ भने आगामी दिनमा अन्य सेवा प्रदायक संस्थाहरुसँग समेत जोडिदै जाने महाशाखाको योजना रहेको छ ।