काठमाडौं । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले १० जिल्लामा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा जारी गरेको छ । संक्रमण गति तीव्र रूपमा फैलँदै गएपछि सरकारले जिल्ला प्रशासन कार्यालयमार्फत मंगलबार अबेरसम्म गरी १० मा पूर्ण तथा तीन जिल्लामा आंशिक निषेधाज्ञा आदेश जारी गरेको हो ।

गृह मन्त्रालयका उपसचिव खुमकान्त अधिकारीका अनुसार मंगलबार रातिसम्म १० मा पूर्ण तथा तीन जिल्लामा आशिंक निषेधाज्ञा आदेश भएको छ । जसअनुसार काठमाडौं, भक्तपुर, ललितपुर, बाँके, दाङ, कैलाली, रुपन्देही, पर्सा, कास्की र सुर्खेतमा पूर्ण निषेधाज्ञा आदेश जारी गरिएको छ ।

कास्कीबाहेकमा जिल्लाभर पूर्ण रूपमा निजी तथा सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ । तर, कास्कीमा जोरबिजोर लागू गरिएको छ । यसैगरी, बर्दिया, बाग्लुङ र कालिकोटमा संक्रमण अवस्था हेरेर स्थान तोकेरै आंशिक निषेधाज्ञा आदेश जारी गरिएको छ ।

जिल्ला प्रशासन कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका ५ र ६, बाँसगढी नगरपालिका बाँसगढी बजार क्षेत्र, बारबर्दिया नगरपालिका जयनगर र कतर्निया बजार क्षेत्रमा निषेधाज्ञा लगाइएको छ । त्यस्तै, ठाकुरबाबा नगरपालिका बगनाहा, भुरीगाउँ र ठाकुरद्वारा बजार क्षेत्र, राजपुर नगरपालिका राजापुर मानपुर टपरा बजार क्षेत्रमा निषेधाज्ञा छ ।

यसैगरी, बढैयाताल गाउँपालिका भोलागौडी, मैनापोखर र शीतला बजार क्षेत्र र गेरुवा गाउँपालिका शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार