सप्तरी । छोरीको हत्या आरोपमा बलान बिहुल गाउँपालिका–४ बेल्हीका ४५ वर्षीय तुरन्तलाल बडहीलाई सप्तरी जिल्ला अदालतले आज जन्मकैद सजायको फैसला गरेको छ ।जिल्ला न्यायाधीश रीताकुमारी बख्रेलको इजलासले बडहीलाई जन्मकैद सजायको फैसला गरेको अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले बताउनुभयो ।

सूचना अधिकारी बुढाथोकीका अनुसार घटनालगत्तै फरार रहेकी मृतककी आमा ४३ वर्षीया पवनदेवी बडहीको हकमा भने मुद्दा मुल्तबीमा राखिएको छ ।

बलान बिहुल गाउँपालिका–४ बेल्हीकी १६ वर्षीया सरिताकुमारी बडहीको २०७५ साल माघ १४ गते हत्या भएको आरोपमा प्रहरीले तुरन्तलाललाई ०७५ साल माघ १५ गते पक्राउ गरेको थियो ।

मृतकको अर्धनग्न शव चोटपटक लागेको अवस्थामा घरमा भेटिएपछि इलाका प्रहरी कार्यालय कडरबोनाले तुरुन्तलाललाई पक्राउ गरेको थियो ।

आमाबुबा नै आरोपित रहेको देखिएपछि घटनास्थलको अनुसन्धानपश्चात् प्रहरी प्रतिवेदनका आधारमा ०७५ साल माघ १६ गते इलाका प्रहरी कार्यालय कडरबोनाले उजूरी दर्ता गरेको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार