गमानसिंह घर्ती रुकुम पश्चिम।  रुकुम पश्चिमको जिल्ला अस्पताल सल्लेमा उपचाररत एकजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । बिहिबार दिउँसो अस्पतालको आइसोलेशनमा उपचारका लागि भर्ना भएका मुसिकोट नगरपालिकाका ६० वर्षीय एक पुरुषको विहीबार मध्य राती (साढे १२ )बजे मृत्यु भएको अस्पतालले जनाएको छ ।

उनलाई केही दिन अघिदेखि ज्वरो आउने, टाउको दुःख्ने र श्वास प्रश्वासमा समस्या देखिएपछी जिल्ला अस्पतालमा ल्याइएको थियो । जिल्ला अस्पतालमा गरिएको एन्टिजेन परीक्षणमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

दोस्रो चरणको नयाँ भेरिएन्ट सहितको कोरोना संक्रमण सुरु भएसंगै रुकुम जिल्लामा कोरोना संक्रमणबाट दुई जनाको मृत्यु भएको छ । गत वैशाख ६ गते सोही नगरपालिकाकि ४० वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।

दोस्रो चरणको कोरोना सुरुभएयता हालसम्म रुकुम पश्चिममा ९६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रुकुम पश्चिमले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार