रुकुम पश्चिम : रुकुम पश्चिममा बैशाख १९ गते आइतबारदेखि ३१ गतेसम्म निषेधाज्ञा लागू हुने भएको छ । जिल्लामा कोरोना संक्रमणदर बढ्दै गएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)को शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञामा के गर्न पाइने र के गर्न नपाइने भन्ने खाकासहित निर्णय भएको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताए ।

‘संक्रमण बढ्न थालेपछि निषेधाज्ञा जारी गर्ने भन्ने निर्णय भयो र के–के खोल्न दिने के–के नदिने र कसरी व्यवस्थापन गर्ने भन्ने खाका सार्वजनिक गरेका छौँ,’ प्रमुख जिल्ला अधिकारी गैह्रेले भने ।

पछिल्लो अवस्थामा जिल्लामा कोरोना संक्रमण बढेसँगै अस्पतालमा आवश्यक स्रोतसाधनको अभाव पनि बढेको छ । कोरोना परीक्षणको दायरा बढाउन कीटको अभाव, अस्पतालमा आइसोलेसन बेड र अक्सिजनको अभाव रहेको प्रजिअ गैह्रेले जानकारी दिए । उनले भने, ‘संक्रमणको बढ्दो ग्राफ अनुसार जिल्लामा स्रोतसाधनको कमि रहेको छ । प्रत्येक पालिकालाई आइसोलेसन तयार पार्न निर्देशन दिएका छौँ, कीट र अक्सिजनको लागि प्रदेश तथा संघीय सरकारसँग समन्वय गरेर तत्कालै कीट खरिद गर्ने प्रक्रियामा छौँ ।’

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार