गमानसिंह घर्ति, रुकुम पश्चिम . रुकुम पश्चिममा आज (आइतबार)देखि बैशाख ३१ गतेसम्म निषेधाज्ञा लागु भएको छ । जिल्लामा कोरोना संक्रमणदर बढ्दै गएपछि जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र ( डिसिसिएमसी)को शुक्रबार बसेको बैठकले निषेधाज्ञा जारी गर्ने सहमति गरेको हो ।

निषेधाज्ञामा के गर्न पाइने र के गर्न नपाइने भन्ने खाका सहित निर्णय भएको रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी बद्रीनाथ गैह्रेले बताउनुभयो ।

संक्रमण बढ्न थालेपछि ‘निषेधाज्ञा जारी गर्ने भन्ने निर्णय भयो र के– के खोल्न दिने के– के नदिने र कसरी व्यवस्थापन गर्ने भन्ने खाका सार्वजनिक गरेका छौँ , प्रमुख जिल्ला अधिकारी गैह्रेले पालिका न्युजलाई जानकारी दिनुभयो ।

पछिल्लो अवस्थामा जिल्लामा कोरोना संक्रमण बढेसंगै अस्पतालमा आवश्यक स्रोतसाधनको अभावपनि बढेको छ । कोरोना परिक्षणको दायरा बढाउन कीटको अभाव, अस्पतालमा आइसोलेसन बेड र अक्सिजनको अभाव रहेको प्रजिअ गैह्रेले बताउनुभयो । उहाँले भन्नुभयो, संक्रमणको बढ्दो ग्राफ अनुसार जिल्लामा स्रोतसाधनको कमि रहेको छ । प्रत्येक पालिकालाई आइसोलेसन तयार पार्न निर्देशन गरेका छौँ ,, किट र अक्सिजनको लागि प्रदेश तथा संघीय सरकारसंग सम्वनय गरेर तत्कालै कीट खरिद गर्ने प्रक्रियामा छौँ ।

आइतबार बिहान ६ बजेदेखि सुरु हुने निषेधाज्ञामा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ र संक्रामक रोग नियन्त्रण ऐन २०२० को दफा २ अनुसार अति आवश्यक स्वास्थ सेवा , बिधुत , संचार , खानेपानी , खाद्यान्न , दूध , पानी , ग्यास , एम्बुलेन्स लगायतका बाहेक अन्य सवारीसाधनलाई आवतजावतमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गैह्रेले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार